१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पञ्चायतका अन्तिम जिल्ला सभापति लागुऔषध मुद्दामा पक्राउ

काठमाडौं–पञ्चायती ब्यवस्थाका अन्तिम जिल्ला सभापति रहेका एकजना ७१ वर्षिय बृद्ध लागुऔषध मुद्दामा पक्राउ परेका छन्। जिल्ला पञ्चायत लमजुङका सभापति भै सकेका जिल्ला नेता गजबहादुर गुरुङ आईतबार लमजुङबाट पक्राउ परेका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले लागुऔषध मुद्दामा पाँचलाख रुपैयाँ जरिवाना र १५ वर्ष कैद ठेकिएका गुरुङलाई लमजुङबाट पक्राउ गरेको हो । २०४३ सालमा जिल्ला सभापति भएका गुरुङ त्यस क्षेत्रका समाजसेवीका रुपमा क्रियाशिल रहेका थिए।

ब्युरोका अनुसार लागुऔषध मुद्दामा पुनरावेदन अदालत पाटनले २०५८ साल फागुन २१ गते जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउदै गुरुङलाई सजायको फैसला सुनाएको हो । २०५० सालमा लागुऔषध खैरो हेरोईन ओसारपसार तथा विक्री वितरणको आरोपमा पक्राउ परेका गुरुङ काठमाडौं जिल्ला अदालतबाट सफाई पाएपछि लमजुङको ढोडरीमा समाजसेवामा सक्रिय रहेका थिए। प्रजातन्त्रको स्थापनापछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध रहेका गुरुङले ब्युरोमा आफुलाई पछिल्लो फैसलाका बिषयमा जानकारी नभएको बताएका छन्।

ब्युरोले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको छ।

 

 

 

प्रकाशित: २५ पुस २०७३ १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App