१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नाकाभन्दा बाहिरबाटै नेपाल–भारत आवागमन

रौतहट - नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसमेतले सीमाल नाका बन्द गर्ने घोषणा गरेसँगै रौतहटबाट भारततिर बाहिरिने सम्पूर्ण औपचारिक नाकाहरु सिल गरिएका छन्। भारत तथा बिहार सरकारको निर्देशन बमोजिम भारततिरबाट रौतहट आउने सम्पूर्ण नाकाहरु सिल गरिएका हुन्। तोकिएका सवारी साधनबाहेक सम्पूर्ण आवागमन ठप्प रहेको अवस्थामा केही सर्वसाधारण भने नाकाभन्दा बाहिरबाटै आवागमन गरिरहेको पाइएको हो।

मुख्य नाका भएर सर्वसाधारणको आवागमनमा रोक लगाएपछि सर्वसाधारणहरु नाकाको बाटोभन्दा वैकल्पिक बाटो अपनाएर ओहोरदोहोर गरिरहेका छन्। सीमासित जोडिएका गाउँहरु भएकाले कतिपय सर्वसाधारण एउटा गाउँबाट अर्को गाउँमा निर्वाध पुगिरहेका छन्। यसै गरी गोरेटो, सानातिना बाटाहरु तथा खेतको आली भएर पनि सर्वसाधारण दुई देशबीच ओहोरदोहोर गरिरहेको पाइएको छ।

मुख्य बाटो भएर यताउतिबाट दुई देशबीच सर्वसाधारणको ओहोरदोहोरले समस्या निम्त्याउन सक्ने भए पनि कुरो नबुझेर स्थानीयहरु सीमा वारपार गरिरहेको गौरका विजयकिशोर झा बताउँछन्। व्यक्तिगत, पारिवारिक तथा अन्य समस्याले गर्दा र केहीले कुरो नबुझेरै ओहोरदोहोर गरिरहेको झाको भनाइ छ।

सीमानाकाभन्दा बाहिर भएर ओहोरदोहोर गर्दा त्यस्ता मानिसको कोरोना स्क्रिनिङ नहुने तथा समाजमा घुलमिल हुन सक्ने भएकोले सामाजिक डर पनि रहेको देखिएको छ। नेपालको रौतहटसित भारतको सीतामढी तथा पूर्वी चम्पारणको सिमाना जोडिएको छ। दुवै देशको सिमानाकामा दर्जनौँ गाउँहरु रहेका छन्। सर्वसाधारण चाहिँ सिमानाका बाहिरबाट ओहोरदोहोर गर्दा कोरोना फैलिने खतरा रहेको सम्बन्धित व्यक्तिहरु बताउँछन्।

यसैबीच गौर नगरपालिकाका मेयर अजय गुप्ताले सदरमुकाम गौरमा रहेको आफ्नो सियापैलेस होटलको ४० बेडलाई कोरोना शंकास्पदलाई राख्न क्वारेन्टाइनको लागि दिने घोषणा गरेका छन्।

यसअघि गौर नर्सिङ क्याम्पसलाई पनि शंकास्पद कोरोनापीडितलाई राख्ने गरी तयार पारिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले राहदानी सिफारिश तथा नेपाली नागरिकताको प्रमाणपत्र वितरणलगायतको काम रोकिसकेको छ। अधिकांश स्थानीय तहका कार्यालयहरुमा एक हप्ताको लागि विदा दिइएको छ।

प्रकाशित: १० चैत्र २०७६ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App