१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जबर्जस्ती काम र यौन धन्दामा लगाउन नेपालबाट मानव तस्करी

काठमाडौं— अमेरिकाले मानव तस्करका लागि नेपाल स्रोत, ट्रान्जिट र गन्तव्य राष्ट्र भएको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको मानव बेचविखनसम्बन्धी वार्षिक प्रतिवेदन ‘ट्राफिकिङ इन पर्सन्स रिपोर्ट २०१६’ मा नेपाली पुरुष, महिला र बालिबालिकालाई जबर्जस्ती काम र यौनधन्दामा लगाइने गरेको उल्लेख छ।

प्रतिवेदनमा २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि मानवतस्करले नेपालीलाई तेस्रो मुलुक पु¥याई जबर्जस्ती काम र यौनधन्दामा लगाउने क्रम बढेको जनाइएको छ। ‘पुरुष, महिला र बालबालिकालाई जबर्जस्ती काम र यौनधन्दामा लगाउनका लागि नेपाल स्रोत, ट्रान्जिट र गन्तव्य राष्ट्र हो,’ प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले प्रतिवेदनमा नेपाललाई ‘टायर २’ समूहमा राखेको छ।
‘नेपाली महिला तथा केटीहरू नेपाल, भारत, मध्यपूर्वी राष्ट्र, एसिया र अफ्रिकामा यौनधन्दाको निम्ति तस्करी हुने गरेका छन्,’ प्रतिवेदनमा उल्लेख छ।

यस्तै नेपाली पुरुष, महिला र बालबालिकालाई नेपाल, भारत, मध्यपूर्वी राष्ट्र, एसिया र अमेरिकामा निर्माण, फ्याक्ट्री, माइन, घरेलु र वयस्कको मनोरञ्जनलगायतमा जबर्जस्ती काममा लगाउने गरिएको जनाइएको छ।

जबर्जस्ती काम र यौनधन्दामा नेपालीलाई लगाउन तस्करहरूले भारतको बाटो हुँदै तेस्रो मुलुक पुर्‍याउने गरेको प्रतिवेदनमा औंल्याइएको छ । भारतको बाटो हुँदै तस्करको प्रलोभनमा तेस्रो राष्ट्र पुग्ने नेपालीको संख्या निकै धेरै छ । अवैध तरिकाले जबर्जस्ती काम र यौनधन्दामा लगाइएका नेपालीको स्थिति दयनीय हुने गरेको छ।

बंगलादेशलगायत अन्य केही देशका नागरिकलाई तस्करहरूले नेपालको बाटो हुँदै मध्यपूर्वी राष्ट्र पु¥याउने गरेको समेत प्रतिवेदनमा खुलाइएको छ । तस्करहरूले यस्ता व्यक्तिलाई नेपालको नक्कली कागजातमा यात्रा गराउने गरेको समेत भेटिएको छ । बालबालिकालाई विशेषगरी भारत र नेपालका इँटाभट्टा, घरेलु काम, टेक्सटाइल र जरी उद्योगमा जबर्जस्ती काममा लगाउने गरिएको प्रतिवेदनमा उल्लेख छ।

जबर्जस्ती काम र यौनधन्दामा नेपालीलाई लगाउन तस्करहरूले भारतको बाटो हुँदै तेस्रो मुलुक पुर्‍याउने गरेको प्रतिवेदनमा औंल्याइएको छ । भारतको बाटो हुँदै तस्करको प्रलोभनमा तेस्रो राष्ट्र पुग्ने नेपालीको संख्या निकै धेरै छ । अवैध तरिकाले जबर्जस्ती काम र यौनधन्दामा लगाइएका नेपालीको स्थिति दयनीय हुने गरेको छ।

‘तस्करले नेपालीलाई प्रलोभनमा पार्न सोसियल मिडिया (सामाजिक सञ्जाल) र मोबाइल प्रविधिको व्यापक प्रयोग गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ । केही सरकारी पदाधिकारीले घुस लिएर नेपाली सक्कली राहदानीमा गलत सूचना राख्ने गरेको भेटिएको पनि प्रतिवेदनमा जनाइएको छ । खासगरी यसरी बनाइएको राहदानीमा गलत उमेर राखेको पाइएको छ । ‘नेपाल सरकारले मानवतस्करी न्यूनीकरण गर्न न्यूनतम मापदण्ड पनि पूरा गर्न सकेको छैन तर प्रयास भने गरिरहेको छ,’ प्रतिवेदनमा लेखिएको छ।

प्रतिवदेनमा अमेरिकाले नेपाललाई मानव तस्करसम्बन्धी ऐन–कानुन पूर्ण र प्रभावकारी रूपमा कार्यन्वयनमा ल्याउन सुझाव दिएको छ । दोषीलाई सजायबाट मुक्त गर्न नहुने जनाउँदै कडाभन्दा कडा कारबाही गर्नसमेत आग्रह गरेको छ । सरकारले गत वर्ष मानव बेचविखन आरोपमा ३ सय ४१ जनाविरुद्ध मुद्दा चलाएको भए पनि यीमध्ये २ सय २७ वटा मुद्दा ‘पेन्डिङ’ मा रहेको जनाइएको छ। अदालतमा दायर गरिएका मुद्दा यौन वा श्रम तस्करी केका हुन् भन्ने स्पष्ट नछुट्याइएको प्रतिवेदनमा उल्लेख छ।

जिल्ला अदालतले गत आर्थिक वर्ष मानव बेचविखन आरोप लागेका २ सय ६० जनालाई सजाय सुनाएको प्रतिवेदनमा जनाइएको छ । अघिल्लो वर्ष यो संख्या २ सय ३ थियो । प्रतिवेदनअनुसार सन् २०१५ को जनवरीदेखि जुनसम्म नेपाल प्रहरीले १ सय ९६ जना पीडितको उद्धार गरेको थियो।

प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री जोन केरीले विश्वभर मानव बेचविखनविरुद्ध संघर्ष गर्नका लागि एकतित्र प्रयत्न आवश्यक रहेको बताए । ‘यो प्रतिवेदन हामीले भोगिरहेको चुनौतीको विस्तृत विश्लेषण हो,’ केरीले भने, ‘यस्ता कहालीलाग्दा घटना निराकरणका लागि हामीले सक्दो गर्नुपर्छ।’

प्रतिवदेनमा विश्वभरका सरकारले आधुनिक दासत्वविरुद्धको संघर्षमा गरेका प्रयासको मूल्यांकन गरिएको छ । यस वर्षको प्रतिवेदनमा विश्वका १ सय ९० देशलाई समेटिएको छ । नेपालले भने दोस्रो तह (टायर २) मा निरन्तरता पाएको छ।

प्रकाशित: २० असार २०७३ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App