१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

वन व्यवस्थापनमा बेवास्ता

अनन्तराम भण्डारी

वन नवीकरणीय प्राकृतिक स्रोत हो, जसको उचित व्यवस्थापनबाट उपज तथा सेवा निरन्तर प्राप्त गर्न सकिन्छ। वन बाली लगाउने, हुर्काउने तथा उपयोग गर्ने कार्य वन व्यवस्थापन हो। सामाजिक, आर्थिक तथा वातावरणीय दृष्टिले उपयुक्त र वनले प्रदान गर्ने उपज तथा सेवाको निरन्तरता वा वृद्धि हुने गरी गरिने वन व्यवस्थापन दिगो वन व्यवस्थापन हो। वन संवद्र्घन प्रणाली र यससँग सम्बन्धित विज्ञान दिगो वन व्यवस्थापनको मुख्य आधार–स्तम्भ हो, जसले वनले प्रदान गर्न सक्ने उपज तथा सेवा नियमन गर्छ। साथै वातावरणीय सन्तुलन, सामाजिक सुरक्षा र आर्थिक अवसरसमेत दिगो वन व्यवस्थापनका महत्वपूर्ण पक्ष हुन्।

वि.सं. १९९० भन्दा पहिला नेपालमा वन व्यवस्थापनलाई खासै महŒव दिइएकोे पाइँदैन। १९९० को दसकमा तराई तथा भित्री मधेसका वनका अब्बल दर्जाका सालका रूख कटान गरी रेलवे सिलिपरका लागि भारतमा काठ निर्यात गरेको पाइन्छ। वि.सं. २००७भन्दा पहिला वनजंगललाई विभिन्न जातजातिका स्थानीय समुदायले किपट, गुठीजस्ता सामूहिक सम्पत्तिका रूपमा उपयोग गर्ने तथा तत्कालीन नियामकले इच्छाएका व्यक्ति वा परिवाराई बिर्ता वा जागिरका रूपमा वनजंगलको स्वामित्व हस्तान्तरण गर्ने प्रचलन रहेको पाइन्छ। वन स्रोतलाई राज्यको सम्पत्ति ठानेर २०१३ सालमा सबै प्रकारका वन राष्ट्रियकरण गरी वन संरक्षणलाई बढावा दिएको देखिन्छ। वनको राष्ट्रियकरणपश्चात् स्थानीय समुदायमा वनप्रति अपनत्व घट्दै गएपछि वन संरक्षणमा स्थानीय समुदायको भूमिका बढाउन वि.सं. २०३० मा पञ्चायती वन र पञ्चायत संरक्षण वन लागू गरिएसँगै सामुदायिक वनको अवधारणा विकास भएको पाइन्छ।

नेपालका वन क्षेत्रका नीति तथा रणनीतिले दिगो वन व्यवस्थापनलाई प्राथमिकतामा राखेका भए तापनि कार्यान्वयनमा त्यति महत्व दिइएको पाइँदैन।

वन व्यवस्थापनको नीतिगत पक्ष नियाल्दा वि.सं. २०३३ मा जारी गरिएको राष्ट्रिय वन योजनालाई नेपालको वन व्यवस्थापनको सुरुवाती चरण मान्न सकिन्छ, जसले दिगो वन व्यवस्थापनको परिकल्पना गरेको छ। तत्पश्चात् तयार गरिएका योजना, नीति तथा रणनीतिले दिगो वन व्यवस्थापनलाई महŒव दिएका छन्। वि.सं. २०४५ मा लागू गरिएको वन विकास गुरुयोजनाले दिगो वन व्यवस्थापनको आवश्यकता उजागर गरेको छ।

वन नीति २०५७ ले तराई तथा भित्री मधेसका चकला वनको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। बाह्रौं योजना २०६७/६८–२०६०/७० ले वन सम्पदाको वैज्ञानिक, समावेशी र सहभागितामूलक व्यवस्थापनद्वारा पारिस्थितिकीय सेवाको प्रवद्र्धन गर्दै वनको उत्पादकत्वमा वृद्धि गर्न सबै प्रकारका वनलाई दिगो वन व्यवस्थापन पद्धतिअनुरूप व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।  वनतथा भू–संरक्षण मन्त्रालयको दूरदृष्टि–२०३० ‘समृद्धिका लागि वन’ मा दिगो वन व्यवस्थापनलाई आधार–स्तम्भका रूपमा लिइएको छ।  वन क्षेत्रको रणनीति २०७२ ले वि.सं. २०८१ सम्म तराई तथा भित्री मधेसको ५० प्रतिशत र मध्य पहाडी क्षेत्रको २५ प्रतिशत वन क्षेत्रको दिगो वन व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। वननीति २०७५ ले दिगो वन व्यवस्थापनद्वारा वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ। पन्ध्रांै योजना २०७६/७७–२०८)/८१ ले वन क्षेत्रको दिगो व्यवस्थापन र उद्यमशीलताबाट समृद्धिमा योगदान पु¥याउने दीर्घकालीन सोच लिई वन क्षेत्रको पूर्ण क्षमताको उपयोग हुने गरी दिगो व्यवस्थापन गर्ने रणनीति लिएको छ।


यसरी नेपालका वन क्षेत्रका नीति तथा रणनीतिले दिगो वन व्यवस्थापनलाई प्राथमिकतामा राखेका भए तापनि कार्यान्वयनमा त्यति महŒव दिइएको पाइँदैन। तराई र भित्री मधेसका विभिन्न वनको कार्ययोजना निर्माण र नमुना स्वरूप कार्यान्वयनका लागि वि.सं. २०५० कै दसकमा प्रयास गरिएको भए तापनि दिगो वन व्यवस्थापनका लागि २०६७÷६८ देखि मात्रै कपिलवस्तु र रूपन्देहीका साझेदारी वन र सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन गरिएको पाइन्छ। दिगो वन व्यवस्थापनका लागि हाल वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ लागू भई कार्यान्वयनमा छ। वन तथा भू–संरक्षण विभागका अनुसार हालसम्म ५२ जिल्लाका ६०७ सामुदायिक, ३१ साझेदारी र ७ वटा सरकारद्वारा व्यवस्थित चकला वन गरी जम्मा १,२१, ८५२ हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन भइरहेको छ। वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन गर्दा वन संवद्र्घनका अतिरिक्त सामाजिक, आर्थिक एवं वातावरणीय पक्षमा समेत ध्यान पु-याउन जरुरी छ, जसबाट दिगो वन व्यवस्थापनको सुनिश्चितता प्राप्त गर्न सकिन्छ।

हाल नेपालमा वनले ६६,६१,००० हेक्टर क्षेत्रफलसहित कूल भू–भागको ४४.७४ प्रतिशत ओगटेको छ। प्राकृतिक अवस्थामा रहेका ११८ किसिमका पारिस्थितिकीय प्रणालीमध्ये ११२ वटा (९५ प्रतिशत) पारिस्थितिकीय प्रणाली वनमा आधारित छन्। साथै नेपालमा रहेका १३,०६७ प्रजातिका वनस्पति र १७,०९७ प्रजातिका जीवजन्तु गरी ३०,१६७ भन्दा बढी प्रजातिका जीवित जगत्लाई वन क्षेत्रले प्रत्यक्ष वा परोक्ष आश्रय प्रदान गरेको छ। त्यसैले जैविक विविधतामा सम्पन्न नेपालमा पारिस्थितिकीय महत्वका लागि पनि वन संरक्षण अपरिहार्य छ।
(डब्ल्युडब्ल्युएफ, नेपाल वन कार्यक्रम प्रमुख)

प्रकाशित: ९ चैत्र २०७६ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App