१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रतिबन्ध तोड्दै ६४ नेपाली भित्रिए

काठमाडाैँ - कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले युरोप, पश्चिम एसिया, इरान, मलेसिया, दक्षिण कोरिया, जापान लगायत देशबाट आउने सबैलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएका बेला शनिबार ६४ जना नेपाली स्वदेश भित्रिएका छन्। सरकारी प्रतिबन्ध उल्लंघन गर्दै शनिबार दुई विदेशी विमानमार्फत चार महिला र ६० पुरुष नेपाल भित्रिएका हुन्।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार बैंककबाट आएको थाई एयरवेजले ४८ र एयर इन्डियाले १६ जना नेपाली ल्याएको हो। एयर इन्डिया विहान ९ः३० मा र थाई एयरवेज १२ः५० मा उक्त संख्यामा नेपाली बोकेर त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। शनिबार दिनभरको रेकर्ड अनुसार १५ वटा स्वदेशी तथा विदेशी विमान कम्पनीले उक्त विमानस्थलमा उडान भरेका छन्। जसमा नेपाल वायुसेवा निगम, थाई एयरवेज, एयर इन्डिया, कतार एयरवेज, टर्किस एयरलाइन्स, इन्डिगो, इतिहाद, मलिन्दो लगायत कम्पनी रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। थाई र एयर इन्डिया बाहेकका जहाजमा भने यात्रु नरहेको र उनीहरू एकतर्फी यात्रु बोक्ने गरी नेपाल आएको कार्यालयले जनाएको छ।

नाम नछाप्ने सर्तमा विमानस्थका एकजना अधिकृतले भने, ‘थाई एयरले मलेसियामा अलपत्र परेका नेपालीलाई बैंकक ट्रान्जिट गराएर नेपाल अवतरण गराएको हो।’ स्रोतका अनुसार एयर इन्डियाले भने जापान तथा युरोप लगायत देशबाट दिल्ली पुगेका नेपालीलाई काठमाडौं ल्याएको हो। हाल मलेसियाबाट काठमाडौं सिधा उडान नभएका कारण उनीहरूलाई बैंकक ट्रान्जिट बनाउँदै नेपाल प्रवेश गराएको स्रोतको दाबी छ। मलेसियाबाट बैंकक पुगेका नेपाली त्यहाँको विमानस्थलमा अलपत्र परेपछि नेपालबाट यात्रु लैजान आएको खालि विमानमा उनीहरूलाई पठाएको हुन सक्ने समेत स्रोतको अनुमान छ। अध्यागमन विभागले भने प्रतिबन्धलाई ध्यान नदिई नेपाल आएका विमान कम्पनीको बारेमा नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थल व्यवस्थापन पक्षसँग स्पष्टीकरण सोध्ने तयारी भइरहेको जनाउँदै त्यसपछि मात्रै के कति कारणबाट नेपाली स्वदेश प्रवेश गरे भन्ने खुल्ने जानकारी गराएको छ।

अध्यागमनका प्रवक्ता रामचन्द्र तिवारीले दुई विदेशी विमान कम्पनीबाट नेपालीहरू स्वदेश प्रवेश गरेको जानकारी दिँदै उनीहरूको प्रारम्भिक स्वास्थ परीक्षण पश्चात १४ दिने क्वारेन्टाइनको लागि भक्तपुरस्थित खरिपाटी पठाइसकेको बताए। पुनः त्यसरी नेपाल प्रवेश गर्न खोज्ने विमानलाई आएकै गन्तव्यमा पठाउने तयारी भइसकेको समेत उनको भनाइ छ। हालसम्म बिनाअनुमति नेपाल प्रवेश गर्न खोज्ने ५५ जना विदेशीलाई त्रिभुवन विमानस्थलबाट डिपोर्ट गरिसकेको उनको भनाइ छ। सरकारले चैत ९ गते (आज) राति १२ बजेदेखि लागू हुने गरी चैत १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरणमा प्रतिबन्ध लगाइसकेको छ। सरकारको उक्त निर्णयअनुसार नेपाल उडान भर्दै आएका सबै वायुसेवाका उडानहरू बन्द हुनेछन्।

प्रकाशित: ९ चैत्र २०७६ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App