१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

परीक्षण नगरी भित्रिनेबाट त्रास

विराटनगर - भारतबाट स्वास्थ्य परीक्षणबिना नेपाल प्रवेश गर्नेहरूका कारण सीमावर्ती गाउँहरूमा त्रास बढेको छ। मोरङ, झापा, इलाम, सुनसरीजस्ता सीमावर्ती जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका युवा यतिबेला धमाधम घर फर्किरहेका छन्। मुख्य नाकाबाट आउँदा ‘झन्झट बेहोर्नुपर्ने’ हल्ला सुनेका धेरै युवा अन्यत्र ससाना नाकाबाट धमाधम गाउँ आउने गरेको झापा बाहुनडाँगीका अर्जुन कार्कीले जानकारी दिए। ‘गाउँबाट केरला, गुजरात, बैंगलोरलगायत सहरमा रोजगारीका लागि गएका धेरै युवा अहिले गाउँ फर्केका छन्,’ सामाजिक अभियन्ता कार्कीले नागरिकसँग भने, ‘उनीहरूमध्ये धेरैजसो स्वास्थ्य परीक्षण नगरीकनै आइरहेका छन्।’

यसैगरी मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रका ससाना नाकाहरूबाट पनि परीक्षण नगरी भित्रिने क्रम बढेको स्थानीयवासी बताउँछन्। स्वास्थ्यकर्मीहरू यो सबैभन्दा जोखिमपूर्ण हुने बताउँछन्। सरकारले मुख्य नाकाहरूमा स्वास्थ्यकर्मीसहितको टिम परिचालन गरेको छ। तर साना नाकाहरूमा न स्वास्थ्यकर्मी न सुरक्षाकर्मी रहेको स्थिति छ। त्यसैले बिनापरीक्षण भित्रनेहरूका कारण गाउँगाउँमा त्रास फैलिएको हो।

इलामको रोङ गाउँपालिकाका सलकपुर, पाटापुर, झापा मेचीनगरका तिरिङ, बाहुनडाँगी, नकलबन्दा, सतीघट्टा तथा दक्षिणका अन्य नाकाबाट दिनहुँ स्वास्थ्य जाँच नगरीकनै धेरै मान्छे नेपाल आइरहेका छन्। कोरोना भाइरसको जोखिम कम गर्न मुख्य नाकामा भने निगरानी भइरहेको छ। विराटनगर नाकाबाट किनमेलका लागि भारतीय बजार जोगवनी जानेहरू र भारतबाट नेपालतर्फ आउनेहरूलाई दोहो-याएर नआउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ। सीमा नाका एकैपटक बन्द गर्न नसकिने भएकाले आवागमन क्रमशः रोक्दै जाने उद्देश्यले दोहो-याएर नआउन दुवै देशका सर्वसाधारणलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ ध्रुव खड्काले जानकारी दिए।

खड्काका अनुसार शक्ति प्रयोग गरेर नाका बन्द गर्ने अवस्था नरहेकाले सीमामा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले नाकामा ओहोरदोहोर गर्नेहरूलाई दोहो-याएर नआउन आग्रह गरिरहेका छन्। ‘आज दोहो-याएर नआउन आग्रह गरिएको छ,’ खड्काले भने, ‘भोलि पनि दोहो-याएर आए के गर्ने भन्ने भोलि नै निर्णय गरिन्छ।’ यस्तै भारततर्फबाट आउनेहरूलाई अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्रै नेपालतर्फ आउने व्यवस्था गरिएको पनि जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। मोबाइलमा ‘भ्वाइस म्यासेज’ पठाएर ‘कोरोनाको औषधि हेलिकोप्टरबाट छरिँदै छ, घरबाहिर ननिस्कनू’ भन्नेजस्ता भ्रम फैलाउनेलाई कारबाहीको दायरामा ल्याउने जिल्ला प्रशासन कार्यालय मोरङले स्पष्ट पारेको छ।

शनिबार मोबाइलबाट भ्वाइस म्यासेज पठाएर सर्वसाधारणलाई हेलिकोप्टरबाट औषधि छरिरहेको भ्रामक प्रचार गर्न केही समूह लागिपरेका छन्। सहायक प्रजिअ खड्काले भ्रम छर्नेहरूलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याइने बताए। काँकडभिट्टा नाकामा चेकजाँच थप प्रभावकारी बनाइने भएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीका विभिन्न निर्णय गरिएका छन्।

कोरोनाबाट जिल्लावासीलाई बचाउन आकस्मिक कोष स्थापनादेखि सेल्फ क्वारेन्टाइन, स्वास्थ्य प्रयोगशाला निर्माण, सीमामा कडाइ, हाटबजार बन्द, भीडभाड नियन्त्रणसहित विभिन्न सचेतनामूलक कार्यक्रम गरिने भएको छ। जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले नाकामा जाँचलाई थप व्यवस्थित गरिने बताए।

उनले कोरोना भाइरसको जोखिम न्यूनीकरण, रोकथाम तथा उपचारका लागि ५० लाख रूपैयाँबराबरको आकस्मिक कोषको व्यवस्था गर्ने र सो कोषमा जिल्ला भित्रका नगरपालिकाहरूबाट तीन लाखका दरले र गाउँपालिकाहरूबाट दुई लाखको दरले रकम जम्मा गर्न अनुरोध गर्ने निर्णय भएको बताए।  समितिले सुरक्षा निकायसहित जिल्लाका राजनीतिक दलहरूसँग रोकथामबारे छलफल गरेको थियो। काँकडभिट्टा नाकाबाट बिहान ८ देखि साँझ ६ बजेसम्म मात्र मानव आवतजावत गर्ने व्यवस्था मिलाउने निर्णय भएको उनले बताए।
(विनोद सुवेदी/विराटनगर, भीम चापागाईं/इलाम, युवराज विवश/दमक )

प्रकाशित: ९ चैत्र २०७६ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App