१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स नौ सय अंकले घट्यो

न्युयोर्क – अमेरिकी शेयर बजार वाल स्ट्रिट सातामा जसरी सुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोना भाइरस (कोभिड–१९)को असर पूरै देखियो। शेयर बजारमा द्रुत गतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा भारी कमी भयो।

कोरोनाको महामारी फैलिन नदिने उपायस्वरूप अमेरिकी संघीय र राज्य सरकारहरूले देशको अर्थतन्त्रभन्दा मानिसको स्वास्थ्यलाई प्राथमिकता दिएपछि शेयर बजारमा मन्दी छाउनु स्वाभाविक थियो। एसियाली शेयर बजारमा केही सुधार देखिए पनि अमेरिकाकै प्रतिष्ठित शेयर सूचक डाउजोन्स औद्योगिक समूह एकै दिन नौ सय अंकले घट्यो। सातामा डाउजोन्स १७.३ प्रतिशत घटेको छ। पछिल्ला पाँच हप्तामध्ये चार हप्तामा शेयर सूचकांकमा लगातार गिरावट आएको छ। ट्रम्प प्रशासनले गरेको आर्थिक सहयोगसम्बन्धी घोषणाबाट एक दिन थामिएको शेयर बजारमा अरु दिन भुइँचालो नै गएको थियो। सन् २००८ को वित्तीय संकटका कारण शेयर बजारमा देखिएको मन्दीपछि यो नै सर्वाधिक खराब हप्ता रह्यो।

लगानीकर्ताहरू कोरोना भाइरसले अमेरिका र अन्य प्रमुख अर्थतन्त्रहरूलाई गहिरो मन्दीमा धकेल्ने त होइन भनेर चिन्तित भएका छन्। प्रकोप फैलिन नदिन सरकारहरूले अबलम्बन गरेका नीतिहरूले अर्थव्यवस्थामा कठिनाई आउनुका साथै कर्मचारी कटौतीको सम्भावना बढाएका छन्। केन्द्रीय बैंकहरू र सरकारहरूले आर्थिक क्षतिलाई कम गर्न आपतकालीन कार्यक्रमहरू घोषणा गरिरहेका छन्। तर, यो अपर्याप्त कदम रहेको भन्दै आलोचना हुन थालेको छ। मानिसहरू विश्व अर्थतन्त्रको पहिलो नम्बरमा रहेको अमेरिकामा नोक्सान सहनु परेका घरपरिवार र उद्योगहरूलाई ट्रम्प प्रशासनले अर्बौं डलरको राहत उपलब्ध गराउने अपेक्षा गरिरहेका छन्। ‘कोरोना भाइरसले अर्थव्यवस्थालाई शिथिल बनाउँदैछ,’ एल्ली इन्भेस्टकी प्रमुख लगानी रणनीतिकार लिन्ड्से बेलले भनिन्।

यहीबीच, तेलको माग घटे पनि उत्पादन बढाइएका कारण तेलको मूल्यमा कमी आएको छ। ‘यो अर्थतन्त्रको लागि दोहोरो धक्का हो,’ न्युयोर्कका गभर्नर एन्ड्र्यु कुमोले अधिकांश कामदारहरूलाई घरमै बस्न आदेश दिएपछि शुक्रबार शेयरको बिक्री एकाएक बढेको थियो। क्यालिफोर्नियाले यस्तै उपाय घोषणा गरेको एक दिनपछि न्युयोर्कले यो घोषणा गरेको थियो। न्युयोर्क र क्यालिफोर्नियामा अब रेस्टुरेन्टहरू, खुद्रा बिक्रेताहरू र अन्य व्यवसायहरु बन्द गरिएका छन्। यी उपायहरूले पनि खनिज तेलको माग घटाउने छ। अमेरिकी कच्चा तेलको मूल्यमा करिब २१ प्रतिशत गिरावट आएको छ र यो सन् २००२ को फेबु्रअरीपछि पहिलो पटक प्रतिब्यारेल २० डलरभन्दा तल पुगेको छ। लगानीकर्ताहरू बजारको वर्तमान अस्थिरतालाई रोक्न कोरोना भाइरसको नयाँ संक्रमण रोकिनुको विकल्प नरहेको बताउँछन्।

वेल्स फार्गो इन्भेस्टमेन्ट इन्स्टिच्युटका ग्लोबल मार्केट रणनीतिकार, पल क्रिस्टोफरले भने, ‘हामीलाई थाहा छैन, अर्को दुई हप्तामा के हुने हो। अन्य देशहरूमा जस्तै संक्रमणको चक्रमा अमेरिका फस्यो भने त्यसबेला आँधी आउनेछ।’ विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ११ हजार चार सयभन्दा बढी पुगिसकेको छ। विश्वव्यापीरूपमा दुई लाख ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। यीमध्ये करिब ९२ हजार मानिस निको भएका छन्। अधिकांश व्यक्तिहरूमा कोरोना भाइरसको हल्का वा मध्यम लक्षणहरू निम्त्याएको पाइन्छ, जस्तै ज्वरो र खोकी लाग्नु। तर, हल्का बिरामी भएकाहरू करिब दुई हप्तामा निको भएको पाइएको छ। विशेषगरी वृद्धहरू र पहिल्यैदेखि स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा निमोनिया लगायतका गम्भीर अवस्था देखिन सक्छ र यस्तो परिस्थितिमा स्वास्थ्यलाभका लागि कम्तीमा ६ हप्ता लाग्नेछ।

प्रकाशित: ९ चैत्र २०७६ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App