मानिस लरखराउँदा भाइरस बौरिन्छ

आइतबार, ०९ चैत २०७६, ०७ : १० नागरिक

युभल नोह हरारी
कोरोना भाइरस महामारीका लागि धेरै मानिसले विश्वव्यापीकरणलाई दोष दिएका छन्। उनीहरू यसको समाधानका लागि विश्वव्यापीकरणलाई रोक्नुपर्ने तर्क गर्छन्। जसका लागि ठूला पर्खाल निर्माण, आवागमनमा रोक र व्यापार नियन्त्रण आवश्यक हुन्छ। महामारी रोक्न अल्पकालीन क्वारेन्टाइन आवश्यक त छ तर दीर्घकालीन आपसी छोइछिटोले समग्र अर्थतन्त्र ध्वस्त हुन सक्छ, त्यतिबेला यो सरुवा रोग नियन्त्रण झनै असम्भव हुनेछ। यो महामारीको उपचार (एन्टिडोेट) भनेको एकआपसमा अलग रहनु होइन, बरु आपसमा सहयोग गर्नु हो।

विश्वव्यापीकरणअघि पनि विश्वमा महामारीले करोडौं मानिसको ज्यान लिएको थियो। चौधौं शताब्दीमा अहिलेका जस्ता जहाज थिएनन्, त्यतिबेला पनि पूर्वी एसिया तथा पश्चिमी युरोपमा ‘ब्ल्याक डेथ’ ले एक दशकभन्दा बढी समय मानव समुदायलाई आक्रान्त पारेको थियो। यो रोगका कारण झन्डै २० करोड मानिसले ज्यान गुमाएका थिए। यसले युरोएसियाका एक चौथाई जनसंख्या सखाप पारेको थियो भने इंग्ल्यान्डका हरेक १० जनामध्ये चारजनाले मृत्युवरण गरेका थिए। फ्लोरेन्स सहरमा एक लाख जनसंख्या रहेकोमा ५० हजारको मृत्यु भएको थियो।

भाइरसविरुद्ध लडाइँमा मानिसले आफ्ना सिमानालाई सजग भएर नियन्त्रण गर्न आवश्यक छ तर यो राष्ट्र–राष्ट्रबीचको नभई भाइरस र मानवबीचको सीमारेखाका लागि हुनुपर्छ।

सन् १५२० मार्चमा बिफरबाट संक्रमित एक व्यक्ति मेक्सिकोको फ्रान्सिस डी युगियामा पुग्छन्। त्यही वर्षको डिसेम्बरसम्म मध्य अमेरिकाको कुल जनसंख्याको एकतिहाइ जनसंख्या बिफरको महामारीले सखाप भयो।
सन् १९१८ मा फैलिएको स्पेनिस–फ्लुबाट विश्वको ५० करोड जनसंख्या अर्थात् कुल जनसंख्याको एक चौथाइ संक्रमित भए। स्पेनिस फ्लुले एक वर्षमै १० करोडको ज्यान लिएको अनुमान गरिएको छ। यो मानवीय क्षति चार वर्षसम्म चलेको प्रथम विश्वयुद्धको क्षतिभन्दा बढी हो। यसैगरी भारतमा कुल जनसंख्याको पाँच प्रतिशतले स्पेनिस फ्लुका कारण ज्यान गुमाएका थिए।

सन् १९१८ यता आएर यातायात र जनसंख्या वृद्धिका कारण मानव जाति महामारीको झन् बढी जोखिममा छ। महामारीका कीटाणु फैलावटका लागि टोकियो र मेक्सिको जस्ता सहर मध्यकालीन फ्लोरेन्स सहरको तुलनामा झन् सजिला बनेका छन्। सन् १९१८ को तुलनामा विश्वमा यातायात सञ्जाल व्यापक विस्तार भएको छ। एउटा भाइरस पेरिसबाट टोकियो र मेक्सिको सिटीमा २४ घन्टाभित्रै पुग्न सक्छ। यस्तो अवस्थामा महामारीको नर्कमा हामी बसिरहेका छौं भन्ने हेक्का गर्नुपथ्र्यो। हुन त, पछिल्ला दशकमा महामारीको संख्या र प्रभाव नाटकीय रूपमा निकै घटेको हो। २१औं शताब्दीमा एड्स र इबोलाको प्रकोप रहे पनि यसले सानो जनसंख्यालाई प्रभाव पा-यो।

यो अवधिमा भाइरसविरुद्धको मानवीय लडाइँको प्रमुख अस्त्र ‘आइसोलेसन’ थिएन, सूचना प्रवाह थियो। भाइरस अन्धाधुन्ध उत्परिवर्तनमा भर पर्छ भने वैज्ञानिक तथा डाक्टरहरू सूचनाको वैज्ञानिक विश्लेषणमा भर पर्छन्। १४औं शताब्दीमा ‘ब्ल्याक डेथ’ ले कयौंको ज्यान लिँदा धेरैले यो कसरी भइरहेको छ भनेर जानकारी नै पाएनन्। आधुनिक युगमा प्रवेश नगरुन्जेल धेरै मानिस भगवान् रिसाएका कारण, राक्षस र खराब हावाका कारण यसो भएको भनी विश्वास गर्थे। उनीहरू ब्याक्टेरिया र भाइरसको अस्तित्वबारे जानकार थिएनन्। स्वर्गका दूत र परीहरूमा विश्वास गर्ने मानिसलाई एक थोपा पानीमा आक्रामक लडाकु दस्तावेज हुन्छन् भन्ने हेक्का समेत थिएन। त्यसैले बिफर र ‘ब्ल्याक डेथ’ को महामारीका बेला मानिस प्रार्थना सभा गर्थे। यसले महामारीको समाधान त गरेन, उल्टै ठूलो संख्यामा मानिस भेला हुँदा झन् जोखिम बढेको थियो।

विगत शताब्दीमा वैज्ञानिक अनुसन्धानले महामारीका कारण र यसविरुद्ध लड्ने उपाय खोजी गरेको छ। विकास क्रमको सिद्धान्तले कसरी नयाँ रोग उत्पन्न हुन्छन् र पुराना रोग कसरी फैलन्छन् भनेर प्रस्ट पारेको छ। आनुवांशिक विज्ञान भाइरसबारे जासुसी गर्न सफल छ। मध्यकालीन युगमा ‘ब्ल्याक डेथ’ किन भयो भन्ने हालसम्म यकिन गर्न सकिएको छैन, तर नोवेल कोरोना भाइरसबारे दुई सातामै धेरै जानकारी प्राप्त भइसकेको थियो।

जब वैज्ञानिकलाई महामारीको कारण थाहा हुन्छ, तब त्यसविरुद्धको लडाइँ सहज बन्छ। खोपको विकास, एन्टिबायोटिक, सफा–सुग्घर आनीबानी र सुदृढ स्वास्थ्य संयन्त्रको विकासले मानव जातिलाई अदृश्य भाइरसविरुद्धको लडाइँमा सजिलो बनाइदिएको छ। सन् १९६७ मा बिफरले एक करोड ५० लाख मानिस संक्रमित भए र २० लाखको ज्यान गयो। तर त्यसपछिको दशकमा बिफरविरुद्ध खोपको विकास अत्यधिक सफल रह्यो। विश्व स्वास्थ्य संगठनले सन् १९७९ मा बिफरविरुद्ध लडाइँमा मानवताले विजय हासिल गरेको घोषणा ग¥यो। सन् २०१९ मा बिफरबाट विश्वमा एकजना पनि संक्रमित भएनन्।

इतिहासले कोरोना भाइरसबारे हामीलाई दुई पाठ सिकाएको छ। पहिलो, सीमा बन्द गरेर कोही पनि सदाका लागि सुरक्षित हुन सक्दैन। सम्झनुपर्ने कुरा के हो भने विश्वव्यापीकरण सुरु हुनुअघिको मध्यकालीन युगमा पनि महामारीको विस्तार भएको थियो। त्यसैले आइसोलेसनका लागि ढुंगेयुगमा जानु समस्याको समाधान होइन।

दोस्रो, इतिहासले सूचनाको साझेदारी र विश्वव्यापी ऐक्यबद्धताले मानिसको सुरक्षा भएको देखाएको छ। एउटा देशमा महामारी फैलिएमा, त्यो देशले त्यस्तो महामारीको सूचना इमानदारीसाथ अरु देशलाई उपलब्ध गराउनुपर्छ। यतिबेला चीनले विश्वलाई आफ्नो सिकाइ र अनुभव बाँड्नुपर्छ र यसका लागि ठूलो स्तरमा अन्तर्राष्ट्रिय सहयोग र विश्वासको खाँचो छ।

यसैगरी, प्रभावकारी ‘क्वारेन्टाइन’ का लागि पनि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य छ। क्वारेन्टाइन र ‘लक–डाउन’ ले महामारी फैलन दिँदैन। तर, विभिन्न मुलुकबीच आपसमा अविश्वास रहँदा यो सम्भव हँुदैन। आफ्नो देशमा कोरोनाबाट सय जना संक्रमित भएका छन् भने तपाईंले सबै सहर र क्षेत्र ‘लक–डाउन’ गर्नुहुन्छ ? यसका लागि अन्य देशले गर्ने सहयोग महत्वपूर्ण हुन्छ। सहर ‘लक–डाउन’ गर्दा आर्थिक स्थिति ध्वस्त हुन सक्छ। तपाईंलाई अरु राष्ट्रले सहयोग गर्छन् भन्ने विश्वास छ भने ‘लक–डाउन’ जस्ता कडा कदम चाल्न सक्नुहुन्छ। तर, अन्य राष्ट्रले तपाईंलाई साथ दिँदैनन् भने तपाईं यस्तो कदम उठाउन आनाकानी गर्नुहुनेछ र त्यतिबेला धेरै ढिला भइसकेको हुनेछ।

मननीय यो छ कि कुनै पनि देशमा फैलने महामारीले सम्पूर्ण मानव जातिलाई संकटमा पार्छ। कोराना भाइरस पशुपक्षीबाट सरेको हो। जब यो भाइरस पशुपक्षीबाट मानिसमा प्रवेश गर्छ, सुरुमा उसलाई त्यति सजिलो हँुदैन तर उत्परिवर्तनमार्फत उसले आफूलाई सशक्त पार्दै लैजान्छ। एउटा मानिसले खर्बौं भाइरसलाई आश्रय दिन सक्छ र एकजना संक्रमित मानिसले ती भाइरसलाई अझ बढी अनुकूल वातावरण सिर्जना गरिदिन्छ। भाइरस बोकेको एउटा व्यक्ति गेम्बलिङ मेसिनजस्तै हो, जसले भाइरसलाई अर्बौंको संख्यामा ‘लोटरी टिकट’ दिन सक्छ, तर भाइरसलाई एउटा मात्र विजयी टिकट चाहिन्छ, जहाँ ऊ बाँच्न सक्छ।

यो कुनै कोरा कल्पना होइन। रिचार्ड पेस्टोनले आफ्नो पुस्तक ‘क्राइसिस इन द रेड जोन’मा सन् २०१४ मा इबोला भाइरसको पैmलावट कसरी भएको थियो भन्ने चर्चा गरेका छन्। चमेरोबाट इबोला भाइरस मानिसमा सरेको थियो, यसले मानिसलाई धेरै बिरामी बनायो, तर ती भाइरस मानिसको शरीरमा भन्दा चमेरोको शरीरमा बढी अनुकूलित थिए। एउटा सरदरको असामान्य रोगबाट इबोला डरलाग्दो महामारीमा रूपान्तरित भयो, जब उसमा रहेको एक वंशाणुमा एक उत्परिवर्तन भयो र पश्चिमी अफ्रिकाको माकोना क्षेत्रमा बस्ने एउटा मानिसमा यसको संक्रमण भयो। यो उत्परिवर्तनले माकोना स्ट्रेनको विकास भयो, मानव रक्तकोषमा रहने कोलेस्टेरोललाई सीधा असर पार्न सक्ने भयो। संक्रमणपछि मानव रक्तकोषमा कोलेस्टेरोलको साटो इबोला भाइरस प्रवाहित हुन थाले। यो उत्परिवर्तित माकोना स्ट्रेन मानिसका लागि चार गुणा बढी घातक थियो।

इबोलाको जस्तै समान प्रकारको उत्परिर्वतनले कोरोना भाइरसको एउटा वंशाणुलाई प्रभावित गरेर तेहरान, मिलान अथवा वुहानको कुनै मानिसलाई संक्रमण गरेको हुन सक्छ। यो साँच्चिकै अर्थमा भइरहेको छ भने यो कुनै इरानी, इटालियन र चिनियाँ नागरिकलाई मात्र भएको खतरा होइन, यो त हामी सबैको जीवनमा आएको संकट हो। संसारका सबै मानिसका लागि जीवन र मरणको विषय हो, हामीले कोरोना भाइरसलाई यसरी विस्तारित हुने मौका दिनु हुँदैन। यसको अर्थ हामीले हरेक राष्ट्रका हरेक नागरिकको सुरक्षा गर्न आवश्यक छ।

सन् १९७० मा मानिसले बिफरलाई परास्त गर्न किन सक्यो भने संसारका सबै मानिसलाई बिफरविरुद्ध भ्याक्सिन दिइएको थियो। एउटा मात्र देशले आफ्नो जनसंख्यालाई भ्याक्सिन दिन नसकेको भए त्यसले समग्र मानव जातिलाई प्रभावित पाथ्र्यो, किनकि यो भाइरसको संक्रमण एक ठाउँबाट अर्काे ठाउँमा तुरुन्त फैलिन सक्ने सम्भावना रहिरहन्थ्यो।
भाइरसविरुद्ध लडाइँमा मानिसले आफ्ना सिमानालाई सजग भएर नियन्त्रण गर्न आवश्यक छ, तर यो राष्ट्र–राष्ट्रबीचको नभई भाइरस र मानवबीचको सीमारेखाका लागि हुनुपर्छ। पृथ्वीमा यस्ता कयौं भाइरस छन्, वंशाणुमा हुने उत्परिर्वनका कारण यी भाइरस नयाँ–नयाँ रूपमा अवतरण भइरहेका छन्। भाइरसको संसार र मानव संसार बीचको सीमारेखा हरेक मानव जातिको शरीरमा छ। कुनै खतरनाक भाइरसले यो सीमारेखाभित्र प्रवेश गर्न पायो भने समग्र मानव जाति संकट उन्मुख हुन्छ।

विगतका शताब्दीमा मानव जातिले यो सीमालाई मजबुत बनाएकै हो। आधुनिक स्वास्थ्यसेवा प्रणालीले यो सिमानाका लागि मजबुत पर्खालको रूपमा काम गरेको छ भने नर्स, डाक्टर र वैज्ञानिकले यो सिमानालाई निगरानी गरेर आक्रमणकारीलाई निस्तेज पारिरहेका छन्। तर यो सीमाको लामो खण्ड हाल आएर नराम्ररी एक्सपोज भएको छ। संसारका लाखौं मानिस अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्। यसले हामी सबैलाई संकटमा धकेलेको छ। हामीले मानव स्वास्थ्यलाई राष्ट्रिय स्वार्थमा मात्र सीमित राख्नु हुन्न। एक इरानी अथवा चिनियाँले पाउने राम्रो स्वास्थ्य सेवाले अर्काे इजरायली अथवा अमेरिकीलाई प्रभावित गर्न सक्ने सम्भावित महामारीबाट सुरक्षा दिइरहेको हुन्छ। यो सामान्य सत्य हो, तर यो विषयलाई संसारका महत्वपूर्ण हैसियत राख्ने मानिसले राम्रोसँग हेक्का गरेको देखिँदैन।

नेतृत्वविहीन विश्व
अहिले मानव जातिले कोरोनाको संकट होइन, मानव–मानवबीच अविश्वासको संकट झेलिरहेको छ। यो महामारीलाई परास्त गर्न हामीले वैज्ञानिकको विशेषज्ञता, सरकारको कामलाई विश्वास गर्नुपर्छ। एक राष्ट्रले अर्काे राष्ट्रलाई पनि विश्वास गर्नुपर्छ। पछिल्ला वर्षमा अनुत्तरदायी राजनीतिक नेतृत्वले विज्ञान, सार्वजनिक निकाय र अन्तर्राष्ट्रिय सहयोगलाई अविश्वास गरेको देखिन्छ। अन्तर्राष्ट्रिय रूपमा एकीकृत प्रयासको अभाव भएका कारण यो संकट आएको हो।

सन् २०१४ को इबोला महामारीमा अमेरिकाले नेतृत्व लिएको थियो। सन् २००८ को आर्थिक मन्दीमा पनि अमेरिकाको भूमिका महत्वपूर्ण थियो। तर, पछिल्ला वर्षमा यस्ता खाले नेतृत्वबाट अमेरिका पछाडि हटेको छ। अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिने सहयोगलाई कटौती गरेको छ। यसले विश्वमा अमेरिकाको आफ्नो स्वार्थबाहेक सही मित्र नभएको देखिएको छ।

कोरोना संकट आएपछि अमेरिका सधैं किनारामा बस्यो र नेतृत्व लिन तयार भएन। अन्तमा आएर अमेरिकाले नेतृत्व लिन त खोज्यो, तर संसारमा ऊप्रति धेरैको अविश्वास बढिसकेको थियो। ‘सबैभन्दा पहिला म’ भन्ने नेतालाई तपाईं पछ्याउन सक्नुहुन्न।

अमेरिकाले नलिएको नेतृत्व अरु कसैले लिएको छैन। अहिले अन्तर्राष्ट्रिय प्रणालीमा अविश्वास, आइसोलेसन र नश्लवाद हाबी रहेको छ। आपसी अविश्वास र अन्तर्राष्ट्रिय ऐक्यबद्धताबिना कोरोना महामारीलाई सम्बोधन गर्न सकिन्न र भविष्यमा यस्ता महामारी दोहोरिने सम्भावना पनि छ। हरेक संकट एउटा अवसर पनि हुन सक्छ। आशा गरौं, यो महामारीले विश्वलाई अनेकताबाट एकतातर्फ डोयाउनेछ।

एउटा उदाहरण हेरौं, यो संकटको मिलेर सामना गर्न युरोपियन युनियनलाई सुनौला अवसर हुन सक्छ। युनियनको एउटा राष्ट्रलाई परेको संकटको सामना गर्न युनियनकै अर्को राष्ट्रले पैसा, सरसामान र स्वास्थ्यकर्मी पठाउन सक्छ, जुन राजनीतिक नेताको भाषणभन्दा बढी अर्थपूर्ण हुन्छ। आपसी सहयोगको अभाव रह्यो भने यो सबैका लागि मृत्युको घन्टासरह हुनेछ।

अहिलेको संकट मानवताभित्रको हो। आपसी अविश्वास र अनेकतामा मानवता जेलिने हो भने यो युद्धमा भाइरसको विजय हुनेछ। जब मानिस लरखराउँछ, भाइरस बौरिन्छ। आपसी अन्तर्राष्ट्रिय सहयोगले कोरोनाविरुद्ध मात्र होइन, भविष्यमा आउने कुनै पनि संकटको सामना गर्न मानव जाति सफल हुनेछ।

(हरारीको यो लेख टाइम पत्रिकाबाट भावानुवाद गरिएको हो। इतिहासकार, दार्शनिक हरारीको सेपिन्स, होमो डिउस, ट्वान्टी वान लेसन्स फर ट्वान्टी फस्र्ट सेन्चुरीजस्ता पुस्तक प्रकाशित छन्।)





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad