१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रयोगशालाविहीन प्रदेश, न क्वारेन्टाइन न आइसोलेसन

लहान- नोबेल कोरोना भाइरस (कोबिड–१९) बाट खुल्ला सीमाका कारण मधेस क्षेत्र बढी जोखिममा रहेको छ। भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाले सीमा जोडिएका मधेसमा जोखिम बढाएको छ। मधेसका हरेक गाउँसहरका मानिसको सिमावर्ती बिहारलगायतका प्रान्तहरुका मानिससँग कुटुम्बको सम्बन्ध, रोजगारी, औषधोपचारलगायतको सम्बन्ध रहेकाले पनि वारिपारि आउजाउ सघन छ। सघन सम्बन्धका कारण संक्रमणको जोखिम पनि उतिकै बढी छ। जोखिम धेरै भएपनि यहाँ जोखिमसँग जोध्ने तयारी उदेकलाग्दो छ।

प्रदेश २ जनसंख्याको हिसावले पनि सघन जनघनत्व भएको प्रदेश हो। ९ हजार ६ सय ६१ वर्ग किलोमिटर क्षेत्रफल भएको यो प्रदेशको जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ रहेको छ। बाक्लो बस्ती भएका कारणले पनि संक्रमणको बृद्धिदर डरलाग्दो गरि फैलिन सक्ने चिकित्सकहरुको आंकलन छ। संक्रमण फैलिए अवस्था नियन्त्रण गर्न मुस्किल पर्छ प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा. नागेन्द्र यादव भन्छन्,‘संक्रमण छिर्नै नदिनेगरि बाटो छेक्नुको बिकल्प छैन।’ ‘अहिले जुन रफ्तारमा जनचेतनामूलक कार्यक्रममा जोड दिइएको छ त्यसको अनुपातमा तयारी सन्तोषजनक देखिदैन’ डा. यादव भन्छन्,‘उपकरण बिनाको जनशतिmले के प्रतिफल दिन सक्छ।’ यस अस्पतालको मात्र नभई प्रदेशभरीका अस्पतालको अवस्था यस्तै रहेको उनले बताए।

समाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा यस प्रदेशका आठ वटै जिल्लाका स्वास्थ्य प्रमुख, अस्पताल प्रमुखहरुको बैठकमा पनि उपकरणको अभाव औल्याइयो। डा. यादवले भने,‘प्रादेशिक अस्पतालमा एउटा इन्फ्रारेड थर्मोमिटर(थर्मल गन) छ। खुल्ला सिमानाका कारण कोरोना प्रभावित देश भारतको विभिन्न प्रदेशबाट मानिसहरुको बाक्लो आउजाउ छ।' सीमामा कुनै शंकित व्यतिm भेटाए कहाँ राख्ने? शंकित व्यतिmलाई अस्पतालमा भन्दा पनि क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुपर्ने डा. यादव बताउँछन्। परीक्षणबाट कोभिड–१९ पोजिटिभ प्रमाणित भए आइसोलेसनमा राखेर उपचार गर्नुपछ । आइसोलेसनमा पनि कतिपय विरामीलाई भेन्टिलेटर, आइसियुसहितको उपचार आवश्यक पर्न सक्छ।

डा. यादवका अनुसार पहिलो चरण स्क्रीनिङ(जाँच)दोस्रो चरण क्वारेन्टाइन तेस्रो चरण परीक्षण र चौथो चरण आइसोलेसन गरी चार चरणको तयारी अवश्यक छ। यी सबै चरणमा स्वास्थ्यकर्मीलाई जाँच उपकरण र बचाउ उपकरण चाहिन्छ। बिना उपकरण कोरोनाविरुद्धको युद्ध लड्न सम्भव छैन। ‘सबैभन्दा आवश्यक क्वारेन्टाइन हो’ डा. यादव भन्छन्,‘क्वारेन्टाइनपछि आइसोलेसन चाहिने हो।’

प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी विजय झाका अनुसार प्रदेशभरीका लागि पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट(पिपिए) अर्थात गाउन जम्मा २६ वटा छ। जबकी एउटा आइसोलेसन वार्डमा कम्तीमा ६ जना स्वास्थ्यकर्मीको टिम खटिन्छ। अहिलेको स्टक चार वटा वार्डलाई मात्र पुग्ने हुन्छ। प्रादेशिक अस्पताल जनकपुरमा ५ वटा गाउन छ। जसमध्ये दुई वटा गाउन ल्यावमा(जहाँ कोरोनाको नमुना संकलन गरिन्छ) दिइएको छ।

झाका अनुसार जनकपुरस्थित जनकी मेडिकल कलेज, बिरगञ्जस्थित नेशनल मेडिकल कलेज, सप्तरीको युनिक अस्पताल र लहानको सप्तऋषी अस्पतालमा आइसोलेसन कक्ष बनाउने तयारी गरिएको छ। जानकी मेडिकल कलेजमा आइसियुसहितको ५० वटा आइसोलेसन कक्ष, नेशनल मेडिकलमा आइसियुसहितको १ सय वटा आइसोलेसन कक्ष, युनिकमा आइसियुसहितको १० वटा आइसोलेसन कक्ष र सप्तऋषीमा आइसियुसहितको चार वटा आइसोलेसन कक्ष बनाउने तयारी रहेको झाले बताए। अहिलेसम्म प्रदेशमा क्वारेन्टाइन तयार नभएको झाले बताए। राजमार्ग क्षेत्रको आठ वटै जिल्लामा राख्ने छलफल भएको छ तर, स्थान तय नभैसकेको उनले बताए।

प्रदेशमै चाहिन्छ परीक्षण प्रयोगशाला
जनसंख्याको हिसावले ठूलो प्रदेश भएपनि यहाँ कोरोना परीक्षणको व्यवस्था छैन। जनकपुरमै जनशक्तिसहितको प्रादेशिक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला छ। तर, काठमाडौंबाट झिकाएको किटमा शंकितको नमूना राखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाउँदै आएको छ। निर्देशनालयका अधिकारी झाका अनुसार उपकरण र प्राविधक सहयोग उपलब्ध भइदिए जनकपुरमै कोरोना भए नभएको पुष्टि गर्न सकिन्छ। जसले केन्द्रको चाप कम हुन्छ। संक्रमण पुष्टि नभए विरामीलाई औषधि दिएर छिटो घर पठाउन सकिन्छ। जसले क्वारेन्टाइनमा भिड पनि कम हुन्छ। जनचेतना जतीकै महत्वपूर्ण परीक्षण हो। ‘हामीले सामाजिक विकास मन्त्री ज्यूमार्फत सरकारसँग प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षणको बन्दोबस्त मिलाउन आग्रह गरेका छौं,’ झाले नागरिकसँग भने।

अहिले नेपालमा कोरोना परीक्षण गर्ने एउटा मात्र ल्याब छ। कोरोनाको संक्रमण फैलिएमा एकै पटक धेरै बिरामीलाई परीक्षण गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्था आएमा अवस्था विकराल बन्ने झा बताउँछन्। उनी भन्छन्, ‘यदि कोरोनाको संक्रमणले एक जना बिरामी पनि केहि भयो भने त्यो समयसम्म धेरै जनामा संक्रमण फैलिसकेको हुनेछ। तर, एउटा मात्र ल्याबको व्यवस्था भएकाले यसले पक्कै पनि गम्भीर असर गर्नेछ।’

प्रकाशित: ८ चैत्र २०७६ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App