१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाजुराका नेकपा नेता विक मृत अवस्थामा भेटिए

बाजुरा- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुरा कार्यालय सदस्य नयाँराम विक (कुवेर) मृत भेटिएका छन्। करिब ४० वर्षका विकको शव जगन्नाथ गाउँपालिका-५ वाउनीमा मृत अवस्थामा भेटिएको प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिएका छन्।

घरबाट करिब २ किलोमिटर टाढा पर्ने स्थानीय मिना विकको घरको आगँनमा विकको शुक्रबार बिहान शब भेटिएको जगन्नाथ गाउँपालिकाका प्रवक्ता डबल विकले बताएका छन्।

बिहीबार साँझ विकसहित गोपी कामी र चनबहादुर कामी (युद्धवीर) सँगै रहेको बुझीएको छ। तीनै जना सामान्य खानपीनका लागि बुढाको घरमा गएको र गोपी र चनबहादुर राति नै घर फर्किएका भए पनि नयाँराम भने मृत भेटिएका हुन्।

मिना एकल महिला हुन्। श्रोतका अनुसार उनले स्थानीय घरेलु मदिरा उत्पादन गर्ने गरेकोले सेवनका लागि गएको हुनसक्ने अनुमान गरिएको छ। घरमा बुढासँगै १३ वर्षका छोरा समेत रहेको बुझीएको छ। मृत्युको कारण बारे अनुसन्धान हुने प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन्।

आफन्तले जिल्लाबाटै प्रहरी नायव उपरीक्षक नआएसम्म शव नै नउठाउने दाबी गरेका छन्। हत्याको आरोप लगाएका आफन्तले अनुसन्धान गरि दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनु पर्ने मागसहित शव उठाउन नमानेको बुझीएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी टोली शव भेटिएको स्थानमा पुगिसकेको छ।

मार्तडीबाट प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टाराईको टोलीसमेत घटनास्थलमा  गइसकेको छ। साँझ घरमा खानपीन गरिनु, सँगैगएकाहरु घर फर्किनु र बिहान मृत अवस्थामा शव भेटिनु शंकास्पद विषय भएको आफन्तको आरोप छ।

प्रहरीले साँझसँगै गएका र मिना बुढासहितसँग अनुसन्धान थालेको बुझीएको छ। नयाँराम विक माओवादी जनयुद्धमा जनमुक्ती सेनाका बटालियन कमाण्डर थिए। युद्धकालिन अवस्थामा कुशल लडाकूका रुपमा चिनिएका विक निडर र सबैसँगै मिल्ने स्वभावमा व्यक्ति रहेको पूर्व माओवादीका नेताहरुको भनाई छ। विक हाल जिल्लाको सबैभन्दा माथिल्लो तहका कार्यालय कमिटीमा थिए। अध्यक्ष र सचिवसहित ७ सदस्यमध्ये विक एक हुन्।

प्रकाशित: ७ चैत्र २०७६ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App