१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कोरोनाको सामना टेस्ट क्रिकेट जसरी : तेन्दुलकर

नयाँ दिल्ली – भारतीय क्रिकेटर सचिन तेन्दुलकरले महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई टेस्ट क्रिकेटसँग तुलना गर्दै धैर्य र टिम भावनाबाट सामना गर्न आग्रह गरेका छन्।

‘अहिले विश्व कोभिड –१९ को महामारीसँग जुधिरहेको छ। पुरानो खेलमा जस्तो पाठ अपनाएका थियौं, सोही पाठन हामीले यो महामारीको सामना गर्न अवलम्बन गर्ने समय आएको छ,’ लेजेन्ड क्रिकेटर तेन्दुलकरले भारतीय सञ्चारमाध्यममा भनेका छन्। विश्व चर्चित ब्याट्सम्यानले समग्र सबैको प्रयासबाट मात्र महामारी नियन्त्रणमा हुने भन्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्। तेन्दुलकरले पाँच दिनको क्रिकेट खेल टेस्टसँग तुलना गर्दै जसरी खेलाडीले टेस्ट खेलमा धैर्य र टिम प्रदर्शनले महत्व राख्छ त्यस्तै अहिलेको अवस्थामा यो महामारी सामना गर्नुपर्ने समय आएको बताएका हुन्।

‘टेस्ट खेलले धैर्यतापूर्वक जसरी ब्याटिङ गर्न सिकाउँछ, अहिलेकोे समय पनि धैर्य र संयमित हुँदै सामना गर्ने समय आएको छ,’ सचिनले लेखेका छन्, ‘पिचको अवस्था नबुझ्ने समयसम्म प्रतिद्वन्द्वी हाबी हुन्छन्। जब पिचको अवस्था थाहा हुन्छ अनि हामी सहजै सामना गर्न सक्षम हुन्छौं।’ हालसम्म भारतले तीन मानिसमा कोरोनाको संक्रमणका कारण ज्यान गएको जनाएको छ भने १ सय ६९ मा संक्रमण देखिएको उल्लेख गरेको छ। यसै कारण अहिले भारतमा त्रासपूर्ण वातावरण बनेको छ। जसका कारण अहिले भारतीय खेलकुद पनि ठप्प छ। चीनको वुहान क्षेत्रबाट फैलिएको  भाइरस कारण विश्वमा अहिले ९ हजारभन्दा बढी मानिसको ज्यान गएको छ।

त्रास बढेसँगै अधिकांश मुलुकले अन्तर्राष्ट्रिय उडानलाई रद्द गरेका छन्। संक्रमण क्षेत्रबाट थप नफैलियोस् भनेर सबै जसो मुलुकले अध्यागमन विभाग, पर्यटन व्यवसायी र सार्वजनिक कार्यक्रमलाई स्थगित गरेका छन्। कतिपय मुलुकमा सावधानीका लागि सरकारले जनतालाई अत्यावश्यकभन्दा अन्य समयमा घरबाहिर ननिस्कन निर्देशन जारी गरेका छन्। ४६ वर्षे भारतीय क्रिकेटर तेन्दुलकरले २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए। २ सय टेस्ट खेलेका तेन्दुलकरले १५ हजार ९ सय २१ रन जोडेका छन्। भारतमा तेन्दुलकरलाई खेलकुदका सफल खेलाडीका रूपमा व्याख्या गरिन्छ। बढ्दो कोरोना भाइरसको महामारीको सामना गर्न तेन्दुलकरले सबैलाई अग्रहसमेत गरेका छन्।

‘टेस्ट खेलले धैर्यतापूर्वक जसरी ब्याटिङ गर्न सिकाउँछ, अहिलेकोे समय पनि धैर्य र संयमित हुँदै सामना गर्ने समय आएको छ।’

‘क्रिकेट होस् या खेलकुद। टिमको मिहिनेतले सफलता हात पार्न सकिन्छ।  एकल प्रयास गौण हुन्छ,’ तेन्दुलकरले थपे, ‘टेस्ट क्रिकेटको पहिलो इनिङ्समा राम्रो गर्न नसके दोस्रो इनिङ्समा कमब्याक गर्न सकिन्छ।’ ‘विभिन्न देश अहिले विभिन्न अवस्थामा छन्। समग्र विश्वको चासो कोरोनासँग कसरी लड्ने भन्नेमा केन्द्रित,’ प्रयास भइरहेको अवस्थालाई सम्बोधन गर्दै तेन्दुलकरले  थपे, ‘सबै देशले आआफ्नो ठाउँबाट रोकथामका लागि प्रयास गर्नुपर्छ। निरन्तर प्रयासपछि हामी अवश्य पनि यसको सामना गर्न सक्छौं। हामीले मनोबल उच्च राख्नुपर्छ।’ चीनबाट फैलिएको भाइरस अहिले युरोपमा केन्द्रित छ। चीनले नियन्त्रणमा आएको दाबी गरे पनि फाटफुट विरामी देखिएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाले समाचार प्रसारण गरेका छन्। अहिले युरोपको इटालीमा  यसको प्रभाव बढी देखिएको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App