१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई नाबालकको मृत्यु, दर्जनौ विरामी

बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकामा देखिएको अज्ञात रोगको संक्रमणबाट दुई जना नाबालकको ज्यान गएको छ। गाउँपालिका २ नम्बर वडा पुडेनीका चतुरे थापाका ४ महिनाको छोरा खम्वीरसिंह थापा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विककी ५ महिनाकी छोरी डम्मकला बिकको मृत्यु भएको स्थानीय आनन्द बुढाले बताएका छन्।

बुढाका अनुसार थापाको ३ दिन अगाडि र विकको ५ दिन अगाडि मृत्यु भएको हो। गाउँमा दर्जनौ व्यक्तिहरु विरामी परेको बताइएको छ। ज्वरो आउने, खोकी लाग्ने र हात खुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मिना बुढाका छोरा समेत रहेका आनन्द बुढाले बताएका छन्।

फयालगाउँमा मात्र २२ जना बढी विरामी थला परेको बुढाले जानकारी दिएका छन्। सानादेखि ठूलासम्म सबैलाई संक्रमण देखिएको र निश्चित उमेर समूहका नभएको बताइएको छ। एकाएक सिंगो साविक साप्पाटा गाविस हालको स्वामिकात्र्तिक १ र २ नम्बर वडा अज्ञात रोगको संक्रमण देखिएको स्थानीय समेत रहेका शिक्षक जनेश भण्डारीले बताएका छन्।

यता स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने प्रभावित स्थानमा टोली खटिसकेको बताएका छन्। पन्तका अनुसार विक आमाले डोकामा कपडाले बेरेर काममा गएर फर्किदा मृत अवस्था भेटिएको र थापाको रुघाखोकी देखिएपछि स्वास्थ्य इकाइ केन्द्रमा उपचार गराएर निको नभएपछि स्थानीय मेडिकलबाट औषधि ल्याएर खुवाए पनि मृत्यु भएको बताएका छन्।

फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, चुवाना, छुदरी, सुपेना, लौडीसहितका गाउँमा एकसाथ संक्रमण फैलिएको छ। गएको दुई महिना पहिले मात्र सो क्षेत्रमा भाइरल ज्वरोको संक्रमण देखिएको थियो। गाउँमा विरामीको संख्या धेरै रहेको खबर प्राप्तपछि गाउँपालिकासँगको सहकार्यमा टोली गइसकेकोले शुक्रबारसम्म रिपोट आउने पन्तको भनाई छ।

रुघाखोकीकै जस्तो लक्षण देखिए पनि स्वास्थ्य परीक्षणपछि मात्र थाहा हुने १ नम्बर वडाका अध्यक्ष जनकबहादुर रोकायाले बताएका छन्। ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएकोले रुघाखोकीकै जस्तो लक्षण देखिएको रोकायाको भनाई छ।

विश्वलाई त्रासमा राखेको कोरोना भाइरसकै जस्तो नमुना लक्षण देखिएको भन्दै स्थानीय त्रसित बनेको बताइएको छ। गाउँपालिकाले प्रभावित ठाउँमा स्वास्थ्यकर्मीको टोली पठाइसकेको बताएको छ। अहेब विर्ज विकसहितको टोली पुगीसकेको खबर प्राप्त भएको छ।

गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले २ जनाको ज्यान गएको र केही विरामी परेको जानकारी पाए लगत्तै स्वास्थ्यकर्मी पठाएर संक्रमण बारे जानकारी लिने कार्य सुरु गरिएको बताएका छन्। गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र अढाइ घण्टाको पैदल दुरीमा पर्छ। प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले पनि संक्रमण फैलिएको खबर प्राप्त भएको बताएका छन्।

प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले स्वास्थ्यकर्मी प्रभावित भनिएको गाउँतिर पठाईसकेको बताएका छन्। प्रकोप फैलिएपछि विरामी नभएकाहरु पनि त्रसित बनेका छन्। साप्पाटा मार्तडीबाट दुई दिनको पैदल दुरीमा छ। भने पीलुचौरसम्म जिप सेवा सञ्चालन भएकोले तीन घण्टाको पैदलपछि पुगिन्छ।   

 

प्रकाशित: ६ चैत्र २०७६ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App