१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘विसु’मा अत्याधिक जोखिम !

डोटी- नयाँ वर्ष नजिकिएको छ। नयाँ वर्षमा सुदूरपश्चिमेलीको मौलिक पर्व ‘विसु’मनाउन भारतमा रहेका नेपाली कामदार ठूलो संख्यामा घर फर्कन्छन्। यसले सुदूरपश्चिम प्रदेशको जनस्तरमा चिन्ता चुलिदै गएको छ।

‘नेपालीहरु काम गर्ने प्रायः भारतका सहरहरुमा कोरोना भाइरस देखिएको छ,’ होटल तथा पर्यटन व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपकबहादुर खड्का भन्छन्,‘विसु मनाउन दिनहुँ हज्जारौँको संख्यामा नेपाली आउछन्। यस्तोमा कोरोना नआउला भनेर ढुक्क हुने अवस्था छैन।’

भारतमा बुधबारसम्मको तथ्याङ्क अनुसार एक सय ६० जनाभन्दा बढीमा कोरोना भेटिएको छ। भने तीन जनाको मृत्यु भइसकेको छ। नेपालीहरु काम गर्ने दिल्ली, महाराष्ट्र, उत्तराखण्ड, कर्नाटक, गोवा, पन्जाब, हिमाचल लगायतमा यति बेला कोरोनाका संक्रमित भेटिएका छन्। त्यहाँका स्वास्थ्यकर्मीहरुले भारतमा अझै व्यापक मात्रामा कोरोना फैलन सक्ने सम्भावना समेत देखाएका छन्। यस्तोमा स्वदेश फर्कने नेपालीहरुमा संक्रमण हुन सक्ने सम्भावना पनि उत्तिकै बढी हुने स्वास्थ्यकर्मीहरु बताउँछन्।

पछिल्ला केही दिनयता सरकारले सुदूरपश्चिमका मुख्य नाकाबाहेक अन्य नाका बन्द गरेको छ। मुख्य नाकामा ‘स्क्रिनिङ’ गरेर जोखिम घटाउने प्रयत्न गरिएको छ। तर त्यसले मात्रै सम्पूर्ण जोखिम न्यूनीकरण गर्न नसकिने मलासी बताए। उनले भने,‘कोरोनाको ‘ईक्यूभेशन पिरियड’(संक्रमण देखिने समय) कुनै मान्छेमा दुई दिन कुनैमा १४ सम्म नि हुन्छ। यस्तो अवस्थामा स्क्रिनिङ गर्दा नभेटिएर पछि भेटिन सक्छ।’

‘यो एकदमै छिटो संक्रमण हुने भाइरस हो, त्यसैले यसको उपचारमा संलग्न स्वास्थ्यकर्मी एकदमै सुरक्षित रहनुपर्छ,’ शिखर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिष शाह भन्छन्,‘यसका लागि चाहिने लुगा कुनैपनि स्वास्थ्यकर्मी र संस्थासंग छैन।’ यही कारण नै स्वास्थ्यकर्मीहरु बढी त्रसित रहेको उनले बताए।

कोरोना भाइरस संक्रमणको जोखिमको सामना गर्न सुदूरपश्चिममा ‘अन्य प्रदेशको तुलनामा राम्रो’ तयारी भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर दिपायलका निर्देशक डा.गुणराज अवस्थीले बताए। ‘उच्च जोखिमको अवस्थालाई मध्यनजर गर्दै हामीले अन्य प्रदेशको तुलनामा उत्कृष्ट तयारी गरेका छौ,’ उनले भने,‘त्यसैले चिन्ता मान्नु पर्दैन।’

स्वास्थ्यकर्मी, औषधि, उपकरण, उपचार स्थान सबैको उत्कृष्ट तयारी भएको उनले बताए। ‘के ? कहाँ ? अहिले नभनौ ! तर, उत्कृष्ट तयारी गरेका छौ,’ उनले भने। सबैले व्यक्तिगत सरसफाईमा ध्यान दिए कोरोनाको जोखिम घटेर जाने उनले बताए। उनले भने, ‘सबै नमस्कार गरौँ। व्यक्तिगत सरसफाईमा ध्यान दिऔँ, कोरोनाको जोखिम घट्छ।’

विसुमा घर आएकाको स्वास्थ्य परीक्षण
शिखर नगरपालिकाले भारतबाट विसु मनाउन घर आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण थालनी गरेको छ। बिहीबारबाट घरमैगएर स्वास्थ्य परीक्षण सुरु गरेको शिखर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए। ‘भारतबाट आउनेहरुमा हामीले कोरोना संक्रमण हुन सक्ने सम्भावनालाई लिएर स्वास्थ्य परीक्षण थालेका छौ,’ उनले भने,‘त्यसैले घरमै गई बोलाएर स्वास्थ्य परीक्षण गरी लगत राख्ने निर्णय गरेका छौ।’

यसबाहेक कोरोना भाइरस(कोभिड–१९)का विषयमा सचेतना फैलाउन नगर क्षेत्रका सबै घरमा आवश्यक सूचना सामग्रीसहित स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासहितको टोली परिचालन गरिएको उनले बताए।

प्रकाशित: ६ चैत्र २०७६ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App