१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्रिवेणी नगरपालिका साक्षर नगर घोषणा

साक्षर घोषणा प्रतिवद्धता पत्र पढेर सुनाउदै नगर प्रमुख रामसिंह रावल । तस्बिर : कृष्ण/नागरिक

बाजुरा- त्रिवेणी नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ। नगरमा बस्ने ९७.६ प्रतिशत जनता साक्षर भएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको हो। नगर प्रमुख रामसिंह रावलले प्रतिवद्धता पत्र वाचन गरि नगरलाई औपचारिक रुपमा साक्षर घोषणा गरेका हुन्।

त्रिवेणी सरकारले अघि सारेको साक्षर वर्ष २०७६ लाई सफल पार्न समय सीमाभित्रै नगरपालिकालाई साक्षर घोषणा गरिएको हो। सरकारले चैत्रभित्र सबै जिल्ला घोषणा गरिसक्न भनेको छ। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भए घोषणा गर्न मिल्ने प्रावधान छ।

कुल २१ हजार ७ सय ४ जना जनसंख्या मध्ये १५ देखि ६० वर्ष उमेर समूहमा १२ हजार ९ सय २९ जना रहेका छन्। ती मध्ये १ हजार २ सय २० जना निरक्षर रहेकोमा साक्षर कक्षा सञ्चालन गरि ८ सय ६६ जना साक्षर बनिसकेका छन्। आवश्यक मापदण्ड पूरा भएपछि सिँगो नगरपालिकालाई नै साक्षर घोषणा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र साउँदले बताएका छन्। नगरपालिकामा अब ३ सय ५४ जना मात्र निरक्षर रहेकोले तत्काल थप कक्षा सञ्चालन गरेर साक्षर बनाउने अधिकृत साउँदको भनाई छ।

साक्षर नगरका बासीन्दा भएकोमा नगर प्रमुख रामसिंह रावलले खुसी लागेको बताएका छन्। सरकारले तय गरेका मापदण्ड पूरा गर्न मात्र नभई साक्षर, सभ्य र शिक्षित नागरिक बसोबास गर्ने नगरपालिकाका नागरिक बन्ने अभियानको सफल सुरुवात गरिएको रावलको भनाई छ।

त्रिवेणी साक्षर घोषणा हुनेमा जिल्लाका नौ वटा मध्ये चौथो स्थानीय तह हो। यसअघि खप्तड छेडेदह गाउँपालिका, गौमुल गाउँपालिका र बडिमालिका नगरपालिका घोषणा भईसकेका छन्। चैत्रभित्र जिल्लालाई नै घोषणा गर्ने गरि अभियान सञ्चालन गरिएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख एवं साक्षर जिल्ला घोषणा समन्वय समिति सदस्य सचिव गोपालदत्त जोशीले बताएका छन्।

त्रिवेणी नगरपालिकाले समय सीमाभित्रै साक्षर नगर घोषणा गरेर बाचा पूरा गर्ने नगरका रुपमा स्थापित भएको भन्दै जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकायाले बताएका छन्। कार्यक्रमका प्रमुख अतिथि एवं साक्षर जिल्ला घोषणा समन्वय समिति संयोजक समेत रहेका रोकायाले त्रिवेणीले आफ्नो पहिचान बढाएको र प्रतिवद्धता पूरा गरेकोमा त्रिवेणीलाई धन्यवाद दिँदै बाँकी स्थानीय तहलाई तत्काल घोषणा गर्न आग्रह गरेका छन्।

नगरको पहिचान उचो पार्न र साक्षर नगरबासीको पहिचन बनाउन सफल भएकोमा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले धन्यवादसहित सामाजिक रुपान्तरणका अभियानलाई निरन्तरता दिन सुझाव दिएका छन्।

साक्षर नगर घोषणाले शैक्षिक जागरणको अभियानको सुरुवात गर्न सहज भएको बताउँदै नगर उपप्रमुख राधिका सुनारले शिक्षित नगरपालिका घोषणा नभएसम्म अभियानलाई निरन्तरता दिने बचन दिएकी छन्। नगर प्रमुख रामसिंह रावलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख रतन अयडीले गरेका हुन्।

३ नम्बर वडाका अध्यक्ष मिन भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षक महासंघका केन्द्रीय सदस्य कर्णबहादुर थापा, पीसविन कार्यक्रम प्रबन्धक जुद्ध रावल र रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीले अभियानलाई निरन्तरता दिनमा सहयोग गर्ने बताएका छन्।

जिल्लाको कोल्टी क्षेत्रका चारवटै र बुढीगंगा नगरपालिका घोषणा हुन बाँकी छन्। बुढीगंगाले फागुन मसान्तभित्र घोषणा गर्ने प्रतिवद्धता जनाए पनि बचन पूरा गर्न सकेको छैन। स्थानीय तहले ढिलाइ गर्दा जिल्ला घोषणा कार्यक्रम पनि अन्यौल देखिएको छ।

 

प्रकाशित: ५ चैत्र २०७६ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App