१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

८० हजार बिरामी निकाे भए

चीनको वुहानस्थित लिसेन्सान अस्पतालमा कोरोना भाइरस संक्रमणको उपचारपछि निको भएर घर फर्किँदै बिरामी। तस्बिर : गेट्टी इमेज।

बेइजिङ – कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ८० हजारभन्दा बढी बिरामी निको भएर घर फर्किएका छन्। वर्ल्डओमिटर डट इन्फोका अनुसार विश्वभर एक लाख ८८ हजार तीन सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८० हजार आठ सय ५४ जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। कोरोनाबाट सबैभन्दा बढी चीनमा ८० हजार आठ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६८ हजार सात सय नौ बिरामी ‘रिकभर्ड’ भएका छन्।

मर्नेको संख्या साढे सात हजार पुग्यो
कोरोना संक्रमणबाट मंगलबार साँझसम्म सात हजार चार सय ९९ पुगेको छ। कोरोना संक्रमणबाट मंगलबार तीन सय ५२ जनाको मृत्यु भएको छ। यस्तै, एक लाख ८८ हजार तीन सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ८० हजार आठ सय ५४ जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। कोरोनाको मुख्यभूमि चीनमा ज्यान गुमाउने र नयाँ संक्रमित हुनेको संख्या सातायता घटिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। वल्र्डओमिटर डट कमका अनुसार चीनमा मंगलबार २१ जना नयाँ संक्रमित भेटिएका छन् भने १३ जनाको ज्यान गएको छ।

चीनपछि कोरोनाबाट प्रभावित इटालीमा अहिलेसम्म दुई हजार एक सय ५८ जनाको ज्यान गइसकेको छ। यस्तै, इरानमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ सय ८८ पुगेको छ। मंगलबार त्यहाँ एक सय ३५ ले ज्यान गुमाएका थिए। कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्याका आधारमा स्पेन चौथो स्थानमा छ। त्यहाँ कूल मर्नेको संख्या ४९९ पुगेको छ। वल्र्डओमिटर डट कमका अनुसार त्यहाँ मंगलबार एक सय ५७ जनाको ज्यान गएको छ।  कोरोना संक्रमणबाट नेदरल्यान्डमा मंगलबार १९ जनाको ज्यान गएको छ।

फ्रान्सद्वारा ४५ अर्ब युरो सहयोगको घोषणा
फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले कोरोना भाइरसको कारण व्यापार घाटाको सहायतास्वरुप  ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता प्याकेज मंगलबार घोषणा गरेका छन्। कोरोना भाइरस संक्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्न उक्त प्याकेज घोषणा गरिएको बताइएको छ।
यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरूप सो रकम खर्च गरिने माइरेले बताएका छन्। गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरमा देखिएको कोरोना भाइरस विश्वका १६२ देश तथा क्षेत्रमा फैलिइसकेको छ।

प्रकाशित: ५ चैत्र २०७६ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App