१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रहरी कारवाहीविरुद्ध तरण दलको बन्द

नेपालगन्ज— सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बाँकेले गरेको बन्दका कारण नेपालगन्जको जनजीवन प्रभावित भएको छ। आफ्ना नेता, कार्यकर्तालाई पक्राउ गरी अनुसन्धानका नाममा प्रहरीले अनावश्यक रुपमा दुःख दिएको भन्दै तरुण दलले आइतबारबाट अनिश्चितकालिन बाँके बन्द आह्वान गरेको हो।

युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकी (गोरे) माथी खुकुरी प्रहारको घटनामा अनुसन्धानका लागि भन्दै ईलाका प्रहरी कार्यालय कोहलपुरले तरुण दल बाँके क्षेत्र नम्वर १ का सभापति दिग्विजय जंग राणालाई शनिबार पक्राउ गरेका थियो। यसअघि सोही घटनाको विषयमा सोधपुछका लागि भन्दै कोहलपुर प्रहरीले राणालाई पक्राउ गरी छाडेको थियो। खुकुरी प्रहारका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले काठमाडौंमा शुक्रबार पक्राउ गरिसकेको छ।

घटनामा असंलग्न व्यक्तिलाई पक्राउ गरी अनावश्यक रुपमा प्रहरीले दुःख दिएको र निर्दोश व्यक्तिलाई छाडिदिन पटक–पटक गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै बन्द आह्वान गरिएको तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र शाहले बताए।

बन्दका कारण बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा, राँझा क्षेत्रको जनजीवन मिश्रित रुपले प्रभावित भएको प्रहरीले जनाएको छ । तरुण दलले शिक्षण संस्था र तिनका सवारी साधन सञ्चालनमा भने रोक लगाएको छैन। बन्दका कारण सर्वसाधारणले सास्ती पाएका छन्।

सत्ता साझेदार कांग्रेसले गृहमन्त्रालय सम्हालिरहेका बेला उसकै भातृसंगठनले बन्द आह्वान गरेको हो।

प्रकाशित: २४ पुस २०७३ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App