१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एक रहेको सन्देश दिँदै कांग्रेसको तेस्रो धार

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो नेतृत्वमा रहेको पार्टीको तेस्रो धार एकताबद्ध रहेको सन्देश दिएका छन्। सभापति शेरबहादुर देउवाले केही विभागका संयोजक र केन्द्रीय तथा आमन्त्रित सदस्य मनोनित गरेसँगै सिटौला नेतृत्वको तेस्रो धार छिन्नभिन्न भएको सन्देश प्रवाह भइरहेका बेला सोमबार राजधानीको बत्तिसपुतलीमा निकटको भेला गरेर एकताको सन्देश दिएका हुन्।

पूर्वमहामन्त्री सिटौला सभापति देउवासँग नजिकिएको र केन्द्रीय सदस्यद्वय गगनकुमार थापा र प्रदीप पौडेल संस्थापन इतर समूहसँग निकटता बढाएको चर्चा पार्टीभित्र चलिरहेका बेला उनले भेला नै गरेर आफ्नो समूह एकताबद्ध रहेको दाबी गरेका हुन्। पार्टी सभापति देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितले पार्टी कार्यालय छाडेर घरघरमा गुटभेला गरेको भन्दै उनीहरूको आलोचना गरेका सिटौला आफैंले भने पाटी प्यालेसमा कार्यक्रम गर्दै महाधिवेशनमा केन्द्रित हुन निकटहरूलाई निर्देशन दिए।

१४औं महाधिवेशनको कार्यतालिका अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण प्रक्रिया सुरु भएको भन्दै सिटौलाले संघीय, समावेशी र संख्या बढ्ने गरी संरचना निर्माण लाग्न पनि आग्रह गरे। विधानविपरीत हुने कुनै पनि निर्णय आफूहरूका लागि मान्य नहुने धारणा राख्दै सिटौलाले भने, ‘तोकिएको समयमै महाधिवेशन गराउन सभापति र महामन्त्रीलाई सबै प्रकारको सहयोग गर्न तयार छौं। कुनै पनि बहानामा महाधिवेशन सार्ने कुरा हामीलाई मान्य हुँदैन।’

संस्थापन इतर समूहका नेतालाई गोलबद्ध बनाउन केन्द्रीय सदस्य थापासहितका नेताहरू सक्रिय रहे पनि उनले सिटौला नेतृत्वमा रहेको विचार समूहलाई अघि सारेर १४औं महाधिवेशनमा जाने धारणा राखेका थिए। ‘हामी अलमलिएका छैनौं,’ निकटलाई आश्वस्त पार्दै थापाले भनेका थिए, ‘महाधिवेशनका लागि हाम्रो शक्ति समुच्च रूपमा प्रयोग गर्छौ।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि आफूहरू छुट्टै समूह भएको र सबैले विधान स्वीकार गरेर अगाडि बढ्नुपर्ने धारणा राखे। थापा र पौडेल संस्थापन इतरतिर र शिव हुमागाइँ, उमाकान्त चौधरी, भिमसेनदास प्रधानसहितका संस्थापनसँग नजिकिएको कांग्रेसमा चर्चा छ। निकट नेताहरू दुईतिर विभाजित भएपछि सिटौला समूहको अस्तित्व संकटमा पर्न लागेको विश्लेषणपछि निकटको भेला राखेको एक नेताले जानकारी दिए। ‘तेस्रो धार एकताबद्ध छ। देउवा वा रामचन्द्र पौडेलसँग समाहित भएको छैन भन्ने सन्देश दिनु नै कार्यक्रमको मूल उद्देश्य हो,’ सहभागी एक नेताले भने। यसअघि पनि सिटौला समूहमा विचलन आएको सन्देश प्रवाह भएपछि कार्यक्रम नै राखेर आफुहरूको छुट्टै गुट कायम रहेको सन्देश उक्त समूहले दिएको थियो।

प्रकाशित: ४ चैत्र २०७६ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App