१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

३५ विदेशी नागरिक विमानस्थलबाटै फिर्ता

काठमाडौं – अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको छ। कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आइतबारदेखि लागू हुनेगरी अनअराइभल भिसा रद्द गरेको थियो भने भिसा लिएर आउनेका हकमा पनि सात दिनभित्रको मेडिकल परीक्षण रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको थियो। त्यसको पालना नगर्ने विदेशी नागरिकलाई फिर्ता पठाइएको अध्यागमन विभागअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निर्देशक राजेश पन्थीले जानकारी दिए। ‘अनअराइभल भिसा बन्द गरिएको र विदेशबाट आउँदा मेडिकल रिपोर्ट देखाउनुपर्ने व्यवस्था भएको र त्यसको बेवास्ता गरी सोमबारसम्म नेपाल आएका ३५ जनालाई अध्यागमनबाटै फिर्ता पठाइएको छ,’ पन्थीले भने, ‘जसमध्ये मेडिकल रिपोर्टबिनै आएका धेरै फिर्ता भएका छन् भने केही भिसा नलिई आउनेलाई फिर्ता गरिएको छ।’

विमानस्थल अध्यागमनका अनुसार परिवर्तित अध्यागमन नियम पालना नगरेका कारण फिर्ता हुने नागरिकहरूमा फ्रान्सका ६ जना, चीनका पाँचजना, बेलायतका पाँचजना, जापानका चारजना, नेदरल्यान्डस्का तीनजना, इटलीका दुईजना, इजरायलका दुईजना, चेक रिपब्लिकका दुईजना छन्। त्यसैगरी हङकङका एकजना, अमेरिकी एकजना, मेक्सिकोका एकजना, अफगानस्तानका एकजना, अस्टे«लियाका एकजना र मलेसियाका एकजना छन्। विभाग स्रोतका अनुसार फिर्ता हुनेमा केही विदेशी पासपोर्ट लिएका गैरआवासीय नेपालीसमेत छन्। पछिल्लो नियमअनुसार विदेशी पासपोर्ट वाहक गैरआवासीय नेपालीले पनि सात दिनभित्रको स्वाब रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपालको कूटनीतिक नियोगबाटै भिसा लिनुपर्ने व्यवस्था छ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण सरकारले नेपाल भित्रिने हवाई र स्थल नाकाहरूमा कडाइ गर्दै आएको छ। जसअनुसार सरकारले आइतबारदेखि विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिइँदै आएको अनअराइभल भिसासमेत बन्द गरेको हो। सरकारले कोरोना जोखिमकै कारण विदेशमा रहेका नेपालीहरुलाई समेत अत्यावश्यक काममा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ भने विदेशमा रहेका गैरआवासीय नेपालीले नेपाल आउनैपर्ने भए सम्बन्धित देशमा रहेको नेपालको कूटनीतिक नियोग, मिसनमा सम्पर्क गर्ने र सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्र बुझाउन अनिवार्य गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयअनुसार अध्यागमन विभागले आइतबारदेखि नेपाल प्रवेश गरेका विदेशी पर्यटकका हकमा पदयात्रा अनुमतिपत्र, नेपाल आउने विदेशीलाई अनअराइभल भिसा बन्द गरेको छ। यसैगरी १४ मार्चपछि नेपाल आउने सम्पूर्ण विदेशी नागरिक सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र गैरआवासीय नेपाली नागरिकसहितका नेपालीले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ।

अध्यागमन कार्यालयका निर्देशक पन्थीले कोरोना भाइरसका कारण अध्यागमन नियम परिवर्तन भएसँगै नेपाल आउने विदेशीको संख्यामा निकै कमी आएको बताए। ‘कोरोना जोखिमका कारण नेपाल आउने विदेशी नागरिकलाई कडाइ गरिएसँगै विमानस्थल निकै सुनसानजस्तै छ,’ उनले भने।

प्रकाशित: ४ चैत्र २०७६ ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App