१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपाली अर्थतन्त्रमा कोरोना प्रभाव : जोखिमको व्याख्या बढी पनि नगरौं कम पनि नगरौं

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले अहिले जोखिमलाई अधिक मूल्यांकन या अवमूल्यन दूवै गर्ने  अवस्थामा नरहेको बताएका छन्। नेपाल रिपव्लिक मिडियाले नेपाली अर्थतन्त्रमा कोरोना प्रभाव विषयमा आयोजना गरेको राउन्ड टेवलमा बोल्दै उनले जोखिमलाई अधिमूल्यन वा ओभरस्टीमेट गरियो भने  भयाभव अवस्था सिर्जना हुने बताए। 'जसले गर्दा हाम्रो विद्यमान  संस्थागत प्रवन्ध खलबल्लिने डर हुन्छ। यसले आपूर्ति प्रणाली र  आवागमन प्रणालीको साथसाथै सम्पूर्ण जनजीवनलाई समेत असर पार्ने हुन्छ', उनले भने,  'अतिकति अन्डरस्टीमेट गरेपनि जोखिम छिमेकीमुलकमा देखिएकाले पनि त्यो गर्न सक्ने अवस्थामा छैनौं।' उनले महामारी विश्वमा फैलिएकाले पनि समस्या कायमै रहेको बताए। जति जोखिम छ त्यति मात्रै ब्याख्या गर्न आग्रह गरे 'जोखिमको व्याख्या  बढी पनि नगरौं कम पनि नगरौं' उनले भने,  'हामी सोझै रुपमा प्रभावित नभएपनि हाम्रो अन्तरआवद्धता र छिमेकी मुलुकको कारणले पनि यहाँ प्रभाव पार्ने देखिन्छ।'

अन्तराष्ट्रिय स्तर र हाम्रो छिमेकी मुलुकमा कोरोना भाइरसको कारणले व्यापार, लगानी श्रम, पर्यटन र  पूँजीप्रवाहमा कुनै न कुनै ढंगले असर पारिरहेको बताउँदै उनले प्रत्यक्ष असर  हेर्ने एउटा पाटो छ,  त्यस्तै गरी अप्रत्यक्ष असर हेर्ने अर्को पाटो भएको बताए। आजको मितिसम्म अर्थात फागुन मसान्तसम्मको अवधिलाई हेर्दा व्यापारको हाम्रो स्थिति भने अघिल्ला ६ महिनामा,  सात महिनामा जे थियो अहिले पनि त्यही भएको बताए। 'औषत हाम्रो व्यापार ८ प्रतिशत, पाँच प्रतिशत र तीन प्रतिशतले घट्दै आइरहेको थियो। आयात प्रतिस्थापन तथा अन्य कतिपय वस्तुको आयातमा निरुत्साहित गरेकाले पनि आयात घटेको हो', उनले भने। फागुन महिनामा  आयात  दुइ वा तीन प्रतिशतले  व्यापार घटेको बताए। निर्यात चाही करिव २३ प्रतिशतले घटेको उनले बताए। त्यसको स्वाभाविक असर आयातित बस्तुमा लाग्ने भन्सार, मूल्यवृद्धि कर, र वस्तुमा परेको उनको भनाई छ। 'जसको कारणले आयातबाट आउने राजश्व  घटेको छ। समग्रमा ३० प्रतिशतभन्दा धेरै आन्तरिक करको घटेको छ', मन्त्री खतिवडाले भने।

उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले संकटलाई कसैले पैसा कमाउने अवसरको रुपमा लिन नहुने बताए। सरकारले लगानीकर्ताहरुको बारेमा सोच्नुपर्ने बताए। लोन रिसेड्युलिङ गर्न चाहन्छ भने त्यसमा राष्ट्र बै‌कले सहयोग गर्नुपर्ने उनले बताए। भिजिट नेपाल २०२० लाई हेरेर व्यवसायीहरुले लगानी बढाएका थिए अहिले त्यो लगानी जोखिममा परेको उनले बताए।

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले कमाई भएको अवस्थामा मात्र ब्याज तिर्न सकिने बताउँदै यसबारे सरकारलाई सोच्न आग्रह गरे।

सांसद विमला पौडेल राईले कोरोनाको शंका लागेमा कहाँ जाने भनेर आम नागरिकले थाहा पाउने र त्यहाँ जान सक्नेगरी सरकारले व्यवस्था मिलाउनु पर्ने बताइन्। सार्क मुलुकहरुले कोरोनाविरुद्ध सामूहिकरुपमा गरेको पहल सकारात्मक भएको उनले बताइन्।

पूर्वअर्थ सचिव रामेश्वर खनालले कोरोनाबारे सरकारले अहिलेसम्म कुनै पनि कडा कदम लिएको नदेखिएको बताए। अर्थतन्त्रमा विगतका आर्थिक संकटले मिडिया क्षेत्र प्रभावित नभएको बताउँदै उनले यसपाली भने मिडिया क्षेत्र पनि प्रभावित भएको बताए। 'अहिले मिडिया क्षेत्रको ठूलो आम्दानी भनेको नै विज्ञापन हो', उनले भने,  'त्यो पनि प्रभावित भएको छ। अहिल मिडिया मात्रै होइन्। सम्पूर्ण क्षेत्र नै प्रभावित हुने अवस्था सिर्जना भएको छ। अब सरकारले कस्तो खालको आर्थिक नीति समायोजन गर्छ।त्यो हेर्ने बेला भएको छ।'

अर्थशास्त्री विश्व पौडेलले करमा धेरै जोड नदिइ अप्ठ्यारो परेका क्षेत्र पहिल्याएर सरकारले काम गर्न सुझाव दिए। मूल्य नियन्त्रणमा सरकारले ध्यान दिन पर्ने उनले बताए। मूल्य नियन्त्रण नहुँदा सिधा सर्वसाधारणलाई असर गर्ने उनले प्रष्ट्याए। यो अवस्थामा व्यवसायीको व्याजदरबारे सोच्न पर्ने बताए।

प्रकाशित: ३ चैत्र २०७६ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App