२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन वर्षमा बनेन १.५ किमि सडक

काठमाडौं- विश्वसम्पदामा सूचीकृत बौद्धनाथ र पशुपतिनाथलाई सीधा जोड्ने बौद्ध–गौरीघाटको १.५ किलोमिटर सडक तीन वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन। प्रसिद्ध पर्यटक तथा धार्मिक सम्पदा जोड्ने सडक वषर्ौंदेखि निर्माण सम्पन्न नहुँदा पर्यटक र स्थानीयले सास्ती खेप्दै आएका छन्।

मापदण्डअनुसार विस्तार गरी सडकलाई फुटपाथसहित ११ मिटर चौडाइ बनाउन काम थालिएको ३४ महिना पुगिसकेको छ। ०७० चैत २३ मा एक वर्षभित्र निर्माण सक्ने गरी काम थालिएको थियो। निर्माण जिम्मा लिएको रौताहा/साप जेभी कम्पनीको ढिलासुस्तीका कारण सडक निर्माण सम्पन्न नभएको स्थानीय बताउँछन्। निर्माणका लागि भन्दै सडक भत्काएर असरल्ल छाडिँदा बौद्धनाथ–पशुपतिनाथ आवतजावत गर्ने पर्यटक तथा स्थानीयले सास्ती खेप्नुपरेको स्थानीय कुन्दन शाक्यले बताए।

‘विदेशी पर्यटकलाई यो सडकले खुबै सास्ती दिएको छ,’ शाक्यले भने, ‘वर्षमा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर हिँड्न बाध्य छन्।’ सडक लामो समयसम्म नबन्दा नेपालबारे गलत सन्देश गइरहेको उनको भनाइ छ।

डिभिजन सडक कार्यालय काठमाडौं– १ का अनुसार सडक विस्तारका क्रममा बौद्ध गेटअगाडि मुख्य सडकबाट भित्र छिर्ने ठाउँको दायाँपट्टिको भवन नभत्कँदा र तत्कालीन उपराष्ट्रपति परमानन्द झाको घरको पर्खाल नभत्किँदा काममा अवरोध सिर्जना भएको थियो। त्यसपछि अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले ढल मिसाउन अनुमति नदिँदा अड्किन पुगेको थियो। अहिले यी सबै बाधा हटे पनि सडक निर्माण सम्पन्न हुन सकेको छैन। तत्कालीन डिभिजन कार्यालय प्रमुख उमेश झाले गत वैशाखभित्रै कालोपत्र गरिसक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका थिए। निर्माण कम्पनी भने अवरोध, भूकम्प र नाकाबन्दीको बहाना बनाएर ढिलासुस्ती गरिरहेको छ।

‘हामीले काम गरिरहेकै हौँ,’ कम्पनीका प्रमुख केदार बुढाथोकीले भने, ‘कहिले स्थानीयको विरोध आउँछ, कहिले ढल मिसाउन नपाउँदा काम रोकिन्छ। केही समय भूकम्प र नाकाबन्दीले पनि असर गरेर ढिला भयो।’

उनले पछिल्लो समय भने सबै बाधा हटिसकेको र काम धमाधम गरिरहेकाले चाँडै नै निर्माण हुने दाबी गरे। ‘अहिले काम धमाधम गरिरहेका छौँ,’ उनले भने, ‘फागुनसम्म कालोपत्रे गरेर सडक निर्माण सम्पन्न गरिसक्नेछौँ।’

यता डिभिजन प्रमुख धमेन्द्र झाले पनि पछिल्लो समय कम्पनीले तीव्र रूपमै काम गरिरहेकाले केही महिनामै निर्माण सम्पन्न हुने दाबी गरे। कम्पनीलाई चाँडो काम सकाउन आफूले समेत निर्देशन दिएको झाले बताए।

करिब ६ करोड रुपैयाँ लगानीमा निर्माणाधीन सडक सम्पन्नपछि एक धार्मिकस्थल आएका पर्यटकलाई अर्को धार्मिक स्थलमा पुग्न सहज हुनेछ। यसले दुवै स्थानमा पर्यटक समेत बढ्ने अनुमान स्थानीयको छ।

०३५/३६ सालतिर सामान्य बाटो रहेको र यहाँबाट पर्यटक हिँडेरै दृश्यावलोकन गर्दै दुवै धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्दै आएको स्थानीयले बताए।

प्रकाशित: २४ पुस २०७३ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App