१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दुई सय ३५ आईसीयू वेड थपिने

काठमाडौं– सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै संयमित हुन सबैलाई अपिल गरेको छ। राष्ट्रिय सभाको आईतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भईरहेका प्रयास बारे जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भयभीत र आतंकित नबन्न सबैलाई आग्रह गरेका हुन्।

अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट एक जना पनि संक्रमित भएको नपाईएको जानकारी गराउदै उनले  संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको स्पष्ट पारे।

मन्त्री ढकालका अनुसार, अहिलेसम्म नेपालमा चार सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छ।  २०२० जनवरी ९ तारिकमा नेपाल आएका विद्यार्थीले १३ तारिकमा परीक्षण गराउदा पोजेटिभ देखिएपनि दश  दिन हस्पिटल बसाईपछि पुनः परीक्षणमा नेगेटिभ देखिएको थियो।

उनले कोरोना संक्रमणलाई मुलुकमा प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाईएको र एक अर्कामा हात मिलाउने, गला मिलाउने भन्दा पनि निश्चित दुरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुने लगायतका काम गर्न सर्वसाधरणलाई अपिल आग्रह।  

संभावित जोखिमलाई मध्यनजर गरि सरकारले उपत्यकाभित्र र बाहिर गरी दुई सय ३५ वटा आईसीयु वेड थप्ने तयारी गरेको उनले  स्पष्ट पारे। हाल काठमाडौंमा एक सय ७० वेडको आईसियु सञ्चालनमा छन्। उपत्यकाभित्र एक सय २० र बाहिर एक सय १५ वटा गरेर दुई सय ३५ वटा आईसीयुको व्यवस्था तत्काल गर्ने काममा भईरहेको उनले स्पष्ट पारे। त्यसैगरी एक सय ५५ वटा आईसोलेटेड बेडको व्यवस्था गरेपनि संक्रमण फैलिएको अवस्थामा तीनवटा अस्पतालमा केन्द्रीत भई तीनै अस्पतालबाट कोरोना संक्रमणको मात्रै सेवा दिने गरि आवश्यक व्यवस्था मिलाउने गरि आवश्यक औषधि र औजारहरूको जोहो गर्ने तयारीमा सरकार लागेको जनाए।

उनले सिडिओ र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन गरिएको र अस्पतालमा काम गर्ने जनशक्ति र त्यससंग सम्बन्धीत व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका भय आतंकलाई हटाउनका लागि सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको बताए।

चीन बाहेकका मुलुकमा कोरोना संक्रमण फैलिदै जाँदा नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आवश्यक सावधानी र सर्तकता अपनाउनका लागि सरकारले नाकास्थलमा स्वास्थ्यविन्दु स्थापना गर्नुको साथै हवाई नाका हुदै आउने तेश्रो मुलुकका नागरिक र नेपाली नागरिकले १४ दिन क्वारेन्टायनमा बस्न भनिएको प्रष्ट पारे।
विदेशबाट अत्यावश्यक नेपाल आउनुपर्यो भने एकसाताको खकार जाँचको रिपोर्ट हेरेर कोरोना संक्रमण नभएको प्रमाणित भएपछि मात्रै नेपाल प्रवेश गर्न दिने, विदेशी नागरिकको हकमा आफै क्वारेनटाइनमा बस्नुपर्ने र नेपालीहरुको हकमा होम क्वारेन्टाईनमा बस्ने व्यवस्था गरिएको समेत बताए।

समाजका विभिन्न निकायका स्वयंम सेवकहरुलाई समेत संगठीत गरेर कोरोना संक्रमण हुन नदिने ढंगले सरकारले काम गर्ने उनले स्पष्ट पारे। सरकारका कतिपय आन्तरिक तयारी बाहिर नआएकाले समाजमा भय, त्रास फैलने किसिमको वातावरण पनि भएको भन्दै उनले सरकारले आवश्यक तयारी र व्यवस्थापन गरिरहेकाले भयभीत नहुन आग्रह गरे।   

कुटनीतिक सम्बन्धभन्दा बाहेकका भिषाहरू बैशाख १८ गते सम्मका लागि स्थगित गरिएको, विदेश पढ्न जाने पुराना विद्यार्थीलाई रोक नलगाईए पनि नयाँ र श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको जानकारी दिए।

मन्त्री ढकालले हाल नेपालका एक सय २९ नाकामध्ये ४३ वटा नाकामा स्वास्थ्यविन्दु स्थापना गरिएको, छिमेकी राष्ट्रसंग जोडिएका १ सय २८ वटा स्थानीय तहलाई २१ बुँदे निर्देशन जारी गरि आवश्यक सावधानी अपनाउन भनिएको बताए।

कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको चैत ५ गतेभित्र परीक्षा सकिने र त्यसपछि स्वतः एक महिना स्कुल बन्द रहने भएकाले कोरोना महामारीको २÷४ दिनको स्थिति हेरेर एसइई परीक्षा तालिका बारे निर्णय गरिने उनले जानकारी दिए।

उनले फागुन १८ गतेको मन्त्रीपरिषद् बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा अधिकार सम्पन्न कोरोना रोग रोकथाम समन्वय समिति गठन गरको र यसले रोगसंग सम्बन्धीत सम्पूर्ण काम गर्ने व्यवस्था गरिएको बताए। मन्त्री ढकालले एकीकृत योजना बनाउनका लागि समन्वय समितिले आईतबार ७ वटै प्रदेशका मुख्य मन्त्री र सामाजिक विकास मन्त्रीसहितको बैठकको आयोजना गरेको जानकारी दिए। सूचना एकिकृत ढंगले सम्प्रेषणको व्यवस्था मिलाइएको, मुख्य सचिवको नेतृत्वको टिमको दैनिक बैठक बस्ने र नेपालसंगै विश्वभरको कोरोना संक्रमणको अवस्था समेटेर बुटेलिन निकाल्ने काम भईरहेको उनले स्पष्ट पारे।

मन्त्री ढकालले उमेर समूह अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको अनुपात पनि जानकारी गराए। कोरोना संक्रमण भएका मध्ये ९२ प्रतिशत सामान्य र ८ प्रतिशत विरामी जोखिम अवस्थामा रहेको देखिएको उनले उल्लेख गरे।

प्रकाशित: २ चैत्र २०७६ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App