१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुन पसलमा वित्तीय कारोबार रोकिएन

धरान - सुनचाँदी पसलहरुमा गैरकानुनीरुपमा हुने आर्थिक एवं वित्तीय कारोबार अझै रोकिएको छैन। सर्वसाधारणले बढी ब्याज पाउने लोभमा सुन पसलमा गैरकानुनी कारोबार गरिरहेका छन्। पछिल्लो समय धरान–३, कैलाश पथस्थित न्यू जयन्ती स्टोरका सञ्चालक महिना दिनदेखि बेपत्ता भएसँगै सुनचाँदी पसलमा भइरहेको गैरकानुनी कारोबार सतहमा आएको हो।

सुनचाँदी व्यसायी संघले पटक पटक गैरकानुनी वित्तीय कारोबार नगर्न सर्कुलर जारी गरे पनि व्यवसायीले अटेर गर्दै आएका छन्। यसरी गरिने कारोबार सर्वसाधारणका लागि अत्यन्तै जोखिमपूर्ण भएको पनि धरानको पछिल्लो घटनाले देखाएको छ। ‘वित्तीय कारोबार बैंकमा गर्नुपर्छ भनेर सरकारले पनि भनेको छ, तर जनताहरु बैंकमा धेरै झञ्झट हुन्छ भनेर छिटोमिठो तरिकाले यसरी कारोबार गर्छन्। तर, यसरी गर्न नहुने हो,’ धरान वडा नं ३ का अध्यक्ष आशकुमार श्रेष्ठले भने, ‘यो त गैरकानुनी हो। यसरी कारोबार गर्दा पैसा डुब्ने डर छ भनेर यसअघिका घटनाले पनि देखायो। जनता आफैं सचेत हुनुपर्छ।’

धरानमा यसअघि पनि सुनचाँदी पसलबाट वित्तीय कारोबार भएर नागरिकको करोडौं रुपैयाँ डुबेको दुईवटा घटना सार्वजनिक भइसकेको छ। धरानकै हलेसी गहना गृहमा सिआइबीले छापा मारेको थियो भने शिखर सगरमाथा ज्वेलर्सका सञ्चालकले सहकारीको पैसासमेत डुबाएर फरार भएका थिए। अहिले कैलाश पथस्थित न्यू जयन्ती स्टोरका सञ्चालक योवन खड्गी एक महिनादेखि कहाँ छन् भन्ने पत्तो छैन। धरानका अन्य थुप्रै नाम चलेका सुन व्यवसायीले पनि गैरकानुनीरुपमा लेनदेन गरिरहेका छन्। जयन्ती स्टोरमा मानिसले कम्तीमा १५ प्रतिशत ब्याज पाउने लोभमा करोडौं रुपैया राख्न दिएका छन्। खड्गीले पैसा जम्मा गर्नेहरुलाई कागजमा लेखेर प्रमाणकारुपमा दिने गरेका थिए। प्रारम्भिक तथ्यांकअनुसार कम्तीमा सात करोड रुपैयाँ खड्गीले लिएको पाइएको छ।

गैरकानुनी र जोखिमपूर्ण भएकोले सुन पसलमा कारोबार नगर्न जनप्रतिनिधि, प्रहरी प्रशासनको आग्रह
 

सुनचाँदी व्यवसायी संघ सुनसरीका अध्यक्ष किसन मास्केका अनुसार हलेसी गहना घटना भएलगत्तै संघले आफ्ना सदस्य व्यवसायीलाई वित्तीय कारोबार नगर्न सर्कुलर जारी गरिएको थियो। तर पनि पैसा लिएर ब्याज दिने गरेको पछिल्लो घटनाले पनि देखाएको उनले बताए। ‘मानिसहरु पनि ब्याजको लोभमा सुन पसलमा नै पैसा राख्न पुग्छन्, केही व्यवसायीले पनि यो गैरकानुनी हो भन्ने थाह पाएर पनि गरिरहेको भन्ने यो घटनाले देखायो,’ अध्यक्ष मास्केले भने, ‘पैसाको लेनदेन जोखिममा हुन्छ। एक–दुई व्यवसायीले गर्दा इमान्दार व्यवसायीलाई पनि असर परिरहेको छ।’ उनले सुन पसलले आफ्ना विशेष ग्राहकको सुन धितो राखिदिनुपर्ने बाध्यता रहेको पनि बताए। ‘आफैंले बेचेको सुन धितो राखिदिनुपर्ने बाध्यता छ, यो व्यवहारिकता पनि हो। तर ब्याज दिएर पैसा राख्नैपर्ने बाध्यता हुँदैन,’ मास्केले भने।

सुनचाँदी पसलमा पैसा जम्मा गर्ने र बढी ब्याज लैजाने काम गैरकानुनी कारोबार भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए। यस्तो कारोबार भइरहेको सूचना वा जानकारी आएमा आवश्यक कारबाही हुने पनि डिएसपी न्यौपानको भनाइ छ। ‘बैंक, वित्तीय संस्थामा मात्र कारोबार गर्न पाइन्छ। ब्याजको लोभमा सुन पसलमा कारोबार गैरकानुनी हो,’ डिएसपी न्यौपानेले भने, ‘यसरी ब्याजको लोभमा दिएको पैसा सुरक्षित हुँदैन, जोखिम हुन्छ, त्यसैले यस्तो कारोबार नगरेकै राम्रो हुन्छ।‘ उनले न्यू जयन्ती स्टोरमा वित्तीय कारोबार भएको रितपूर्वक जाहेरी दरखास्त दिएको आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाउने पनि बताए। सञ्चालक खड्गीकी श्रीमति गिता र केही ग्राहकले प्रहरीमा खोजतलासको निवेदन भने दिएका छन्।

प्रकाशित: २ चैत्र २०७६ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App