४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मृत्यु हुनेको संख्या ९ पुग्यो, ७ जना सिकिस्त, मदिरा बेच्ने ७ पक्राउ

जनकपुरधाम- होलीको अवसरमा विषाक्त मदिरा सेवनबाट धनुषामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। क्षिरेश्वरनाथ नगरपालिका–१ र २ रमदैयास्थित विषाक्त घरेलु मदिरा सेवनबाट ९ जनाको मृत्यु भएको छ भने ७ जना सिकिस्त विरामी परेका छन्।

शुक्रबार राति र शनिबार सिकिस्त विरामी परेका थप ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो। वर्ष ४७ का शत्रुधन मण्डल र वर्ष ५५ का मसराम यादवको जनकपुरस्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने वर्ष २५ का इन्द्रजित महराको धरानस्थित विपी कोइराला मेमोरियल हस्पिटलमा मृत्यु भएको हो।

यसअघि गत बिहीबार ३५ वर्षका ब्रहमदेव यादव, ४० वर्षका रामबिलास मण्डल, ६५ वर्षका गुदरी महरा र शुक्रबार ३६ वर्षका रामनारायण महरा, जनकपुरधाम उपमाहानगरपालिका देवपुरा रुपैठा घर भई ससुराली गएका वर्ष ३० को राजु महरा र ४७ वर्षका शत्रुधन मण्डल र श्रीदेव यादवको मृत्यु भएको थियो।

यस्तै, मदिरा सेवनबाट सिकिस्त परेका ६ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। वडा नं. १ रमदैया बस्ने ३७ वर्षिय रामईश्वर महरा, वडा नं. २ का २३ वर्षिय प्रदिप सदा, ५० वर्षिय भरत मण्डल, ४४ वर्षिय मनिर नदाफ, २२ वर्षिय भरत सदा, र ५० वर्षिय सिताराम यादवको उपचार भइरहेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए।

यस्तै अन्य कुनै कारण मृत्यु भए पनि घरेलु मदिरा सेवन गरेर मृत्यु भएको विभिन्न सञ्चार माध्यममा सामाचारहरु आईरहेकाले त्यस्तो सामाचारहरु पछाडी नलागन समेत प्रहरीले आग्रह गरेको छ।

सात जना नियन्त्रण्मा
विषाक्त घरेलु मदिराबाट ९ जनाको मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा घरेलु मदिरा बेचविखन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा बेचविखन गरेको आरोपमा प्रहरीले महोतरी भंगहा नगरपालिका–३ सखरी टोल बस्ने ४७ वर्षिय जगतनारायण मण्डल, धनुषाको लक्ष्मिनिया गाउँपालिका–६ बगेवा बस्ने २४ वर्षिय नविन यादव, क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने ४५ वर्षिया छठियादेवी मण्डल(तारापट्टी बाली) र ४१ वर्षिय जयकुमार यादवलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी नायव उपरिक्षक कार्कीले बताए।

यस्तै जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने ३५ वर्षिया सितलदेबी यादव, लक्ष्मिनिया गाउँपालिका–६ बगेवा बस्ने ५० वर्षिय घुरन यादव, र रमदैया बस्ने वर्ष ४८ का रामनन्दन साहलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक कार्कीले जनाए।
     

 

प्रकाशित: १ चैत्र २०७६ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App