१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँमै गर्भ जाँच गर्ने व्यवस्था

स्वास्थ्य चौकी दुर्छिमलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण गर्दै मेयर इवन राई लगायत । तस्बिर : नागरिक

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाको गर्भ जाँचका लागि भिडियो एक्स–रे मेसिनको व्यवस्था गरेको छ। गर्भमा रहेका बच्चाको अवस्था, श्वास–प्रश्वास, मुटुको गती, साथीको अवस्था, पानीको मात्रा लगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्व जानकारी लिनका लागि नगरपालिकाले एक थान पोर्टेबल भिडियो एक्स–रे मेसिनको व्यवस्था गरेको हो। गर्भवती महिलाको गाउँमै गर्भ जाँच गर्ने व्यवस्थाका लागि नगरपालिकाले खरिद गरेर ल्याएको भिडियो एक्स–रे मेसिन स्वास्थ्यचौकी दुर्छिमलाई हस्तान्तरण गरिएको छ।

तालिका बनाएर प्रत्येक महिना नगरपालिकाका ११ वटै वडामा भिडियो एक्स–रे मेसिनसहित तालिम प्राप्त अनमी पुग्ने र वडामै गर्भवती महिलाको गर्भ जाँचको व्यवस्था गर्ने गरी स्वास्थ्य चौकीलाई मेसिन हस्तान्तरण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। स्वास्थ्य चौकीका एक जना अनमीलाई भिडियो एक्स–रे सम्बन्धी २१ दिनको तालिममा पठाएपछि भिडियो एक्स–रे मेसिन खरिद गरेर ल्याइएको हो। गर्भको बच्चाको अवस्थादेखि सम्भावित खतरा भए–नभएको विषयमा थाहा पाउने व्यवस्था भएपछि नगरपालिकाका महिला उत्साहित छन्।

नगरपालिकामा वार्षिक अनुमानित ५५४ जना गर्भवती महिलाको गाउँमै पुगेर गर्भ जाँच गर्ने गरी भिडियो एक्स–रे मेसिनको व्यवस्था गरिएको मेयर राईले बताए। ‘गर्भ जाँचका लागि जिल्ला अस्पताल दिक्तेल वा ओखलढुंगा जानुपर्ने वाध्यता अन्त्या भएको छ,’ मेयर राईले भने, ‘मेसिन भएपछि गर्भको बच्चा उल्टो छ की सुल्टो छ, सपाङ्ग छन् की अपाङ्ग, गाउँकै बर्थिङ सेन्टरमा सुत्केरी गराउन सकिन्छ की सकिन्न भन्ने आधारभुत जानकारी लिन सकिन्छ। गर्भवतीको स्वास्थ्यमा जटिलता देखिए रेफर गर्ने काम पनि हुन्छ।’

ग्रामिण क्षेत्रका गर्भवती महिलाका लागि भिडियो एक्स–रे प्रोग्राम अन्तरगत नगरपालिकाले झोलामा बोकेर हिँड्न मिल्ने यूएसजी नामको भिडियो एक्स–रे मेसिनको व्यवस्था गरेको हो। ३ वर्षअघि वनहर्टले प्रदान गरेको भिडियो एक्स–रे मेसिन डेढ वर्षअघि नै बिग्रेको र तालिम प्राप्त स्वास्थ्यकर्मी पनि सरुवा भएको लामो समयपछि नगरपालिकाले पुनः भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको हो।

यूएसजीका कारण गर्भवती महिला र गर्भको बच्चाको समग्र अवस्थाका विषयमा जानकारी लिन वातावरण बनेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामकुमार भगतले बताए। मेसिनको सहायताले नर्मलरुपमा सुत्केरी हुने–नहुने विषय समेत पहिल्यै थाहा पाउन सकिने भएकाले खतरामा परेका गर्भवतीलाई तत्काल रेफर गर्न सहज भएको दाबी गरिएको छ।

 

प्रकाशित: १ चैत्र २०७६ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App