१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई वर्षपछि प्रदेशको राजधानी टुंगो लाग्दै, नामाकरणको विषयमा दलहरू विभाजित

लहान - दुई महिनापछि बसेको प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी र नाम टुंग्याउन प्रक्रिया सुरु भएको छ। प्रदेशसभा गठन भएको दुई वर्षपछि प्रदेशको स्थायी राजधानी टुंगो लाग्दैछ भने नामांकनको झमेला अझै टुंगिने छाँट देखिदैन्।

स्थायी राजधानीको सवालमा दलीय सहमति कायम भइसकेको हुँदा संवैधानिक प्रक्रिया पूरा गर्न मात्रै मतदान गर्न लागिएको प्रदेशसभा सदस्य नरेश यादवले जानकारी दिए। तर, नामांकनको विषयमा अझै दलहरू विभाजित रहेकाले प्रक्रिया थप लम्बिन सक्ने उनले बताए।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको नामांकन तथा राजधानीसम्बन्धी अध्ययन विशेष समिति सदस्य परमेश्वर साहले दुवै विषयमा गोप्य मतदान प्रक्रियाबाट निर्णय लिन प्रस्ताव पेस गरेपछि प्रक्रिया सुरु भएको छ। सोही प्रस्तावअनुसार गर्ने गरी शनिबार दिउँसो १ बजे प्रदेशसभाको अर्को बैठक बोलाइएको छ।  शनिबारै मतदानको तयारी गरिएको छ।

प्रदेशसभा सचिवालयमा प्रदेशको राजधानीका लागि पाँच तथा नामकरणको विषयमा चारवटा प्रस्ताव दर्ता भएको थियो। एउटै विषयमा फरक–फरक प्रस्ताव आएपछि छलफलको माध्यमबाट निष्कर्षमा पुग्न सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय समिति गठन भएको थियो। पटक पटक गरी ११ पटक बसेको  समितिको बैठकबाट राजधानीको विषयमा दलीय सहमति कायम गर्यो। स्थायी राजधानी जनकपुरधाममा सहमती कायम भएको सभामुख सरोज यादवले बताए। नामांकनको विषयमा दलीय सहमती कायम हुन सकेको छैन्। सबै दल आ–आफ्नै अडानमा अडिग भइदिएपछि निष्कर्षमा पुग्न नसकेको प्रदेशसभा सदस्य नरेश यादवले बताए।

नामको सन्दर्भमा सत्तापक्षका दुवै दलले संयुक्त रूपमा मधेसको नाम अघि सारेको छ भने नेकपाले जानकी तथा कांग्रेसले मिथिला–भोजपुरा प्रदेश हुनुपर्ने प्रस्ताव गरेको छ। कांग्रेसको अर्को एक पक्षले मध्य मधेस प्रस्ताव गरेको छ। यस आधारमा दलहरू नै विभाजित हुँदा नामको टुंगो लगाउने प्रक्रिया लम्बिन सक्ने सांसदहरुको अनुमान छ। प्रदेशको स्थायी राजधानी र नामांकन टुंग्याउन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यहरूको दुईतिहाइ संख्याले अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: १ चैत्र २०७६ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App