१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मुआथाईमा नेपालका राजु र बरुण थाइल्याण्डसँग भिड्दै

मुआथाई वल्ड च्याम्पीयनसिपका लागि प्रतिष्पर्धा गर्न थाइल्याण्ड पुगेका राजु राई (दायाँ) र बरुण घले गुरुङ (बायाँ) । तस्बिर : नागरिक

खोटाङ– अन्तर्राष्ट्रिय थाई मार्सल आर्ट्स खेल महोत्सवमा प्रतिस्पर्धाका लागि नेपालका दुई मुआथाई खेलाडी थाईल्याण्ड पुगेका छन्। मार्च ८ देखि मार्च १७ सम्म सञ्चालन हुने पाँचौ अन्तर्राष्ट्रिय थाई मार्सल आर्ट्स खेल महोत्सवका लागि नेपालको प्रतिनिधित्व गर्दै काठमाडौं बुढानिलकण्ठ–५ निवासी राजु राई र खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका बरुण घले गुरुङ थाइल्याण्ड पुगेका हुन्।

मुआथाई च्याम्पीयनसिपका लागि गत मार्च ६ तारिख (फागुन २३ गते) थाइल्याण्ड पुगेका खेलाडी राई र गुरुङले शुक्रबार मार्च ७ देखि मार्च १३ तारिखसम्मको ६ दिने प्रशिक्षण पूरा गरेका छन्। शनिबार मुआथाई वल्र्ड च्याम्पीयनसिपका लागि थाईल्याण्डकै खेलाडीसँग प्रतिस्पर्धा हुने गुरुङले जानकारी दिए। राईले ५७ केजी र गुरुङले ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। नेपाल थाई बक्सिङ एसोसिएसनलाई आएको निमन्त्रणका आधारमा दुई खेलाडी प्रतिस्पर्धामा थाइल्याण्ड पुगेका हुन्।

विगत एक दशकदेखि मुआथाईमा सक्रिय राई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका खेलाडी हुन्। उनी थाइल्याण्डमै भएको अन्तर्राष्ट्रिय थाई मार्सल आर्ट्स खेल महोत्सवको तेश्रो र चौथो संस्करणमा पनि सहभागी बनेका थिए।

यस्तै, सन् २०१५ देखि मुआथाई खेल्न थालेका गुरुङ पनि नेपालका विभिन्न प्रतियोगीतामा आफ्ना प्रतिष्पर्धीलाई छोटो समयमा नकआउट गरेको इतिहास बनाइसकेका खेलाडी हुन्। उनले केही समयअघि भारतको कलकत्तामा आयोजित अन्तराष्ट्रिय प्रो एमेच्युर किक बक्सिङ च्याम्पीयनसिपमा स्वर्ण हात पारेका थिए। यस्तै, नेपालको राष्ट्रिय मुआ थाइ बक्सिङ संघको आयोजनामा भएको प्रथम ३ नम्बर प्रदेश स्तरिय मुआ थाइ च्याम्पीयनसिपमा पनि स्वर्ण पदक जितेका थिए।

थाइल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो। हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ। खेल महोत्सवमा बिभिन्न खेलको उपाधिका लागि ४८ देशका खेलाडीको सहभागिता रहेको बताइएको छ।
 

प्रकाशित: ३० फाल्गुन २०७६ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App