१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोनाविरुद्ध मोदीले गरेको प्रस्ताव सार्क नेतृत्वद्वारा स्वागत

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एकजुट भएर सशक्त रणनीति बनाउन सार्क देशका उच्च नेतृत्वलाई गरेको प्रस्ताव सार्क नेताहरुले स्वागत गरेका छन्। मोदीले शुक्रबार ट्वीट गर्दै कोरोनाविरुद्ध सार्कका सदस्य राष्ट्रहरु एक भएर लड्न प्रस्ताव गरेका थिए।

उनले गरेको प्रस्तावमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोली, श्रीलंकाका राष्ट्रपति गोतवया राजापक्षे र भुटाका प्रधानमन्त्री लोते छिरिङले ट्विट गर्दै कोरोनाविरुद्ध सार्कदेशहरु एक भएर लड्नु पर्ने बताएका छन्। उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव सकारात्मक भएको बताउँदै एक भएर अघि बढ्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्, 'हामी उहाँको विचारको स्वागत गर्छौं। सार्क नेतृत्वले कोरोना भाइरसबारे सशक्त रणनीति बनाउन आवश्यक छ। हामी सार्क सदस्य राष्ट्रहरु एक वद्ध भएर यो क्षेत्रका नागरिकको सुरक्षाका लागि काम गर्न तयार छौं।'

यस्तै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीले र श्रीलंकाका राष्ट्रपति गोतवया राजापक्षेले पनि मोदीको प्रस्तावको स्वागत गर्दै मिलेर अघि बढ्न तयार रहेको बताएका छन्।

भुटानका प्रधानमन्त्री लोते छिरिङले यस क्षत्रेका नेतृत्व एका साथ अघि बढ्नु पर्ने बताएका छन्। उनले भिडियो कन्फरेन्सको प्रतिरक्षा गरिरहेको ट्वीट गरेका छन्।

मोदीले सार्क सदस्य राष्ट्रहरुले भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन सक्ने ट्विटमा उल्लेख गरेका छन्। उनले ट्विटमा दक्षिण एसिया क्षेत्रले कोरोना भाइरसको महामारीसँग जुध्न हरसम्भव उपाय अपनाउनुपर्ने बताएका छन्।

सार्क राष्ट्रमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन्। अहिले नेपाल सार्कको अध्यक्ष राष्ट्र हो।

 

प्रकाशित: ३० फाल्गुन २०७६ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App