१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पातलिँदै प्रतिनिधिसभा बैठक

काठमाडौं – कोरोना (कोभिड–१९) भाइरसका कारण प्रतिनिधिसभाको बैठक पछिल्लो समयमा पातलिएको छ। सांसदले कोरोना भाइरसका कारण संसद् बैठक स्थगित गर्नुपर्ने माग दोहो-याएपछि सभामुखले बैठक पातलो बनाउँदै लगेका छन्। ६ दिनपछि बिहीबार बसेको प्रतिनिधिसभा बैठक चैत ७ गतेसम्मका लागि स्थगित गरिएको छ।

बिहीबारको बैठकमा पनि कांग्रेस सांसदहरु भीमसेनदास प्रधान र भरतकुमार साहले कोरोना भाइरसका कारण संसद् बैठक स्थगित गर्न माग गरेका थिए। प्रमुख प्रतिपक्षी कांग्रेसकी सचेतक पुष्पा भुसालले कोरोनाकै कारण संसद् बैठक पातलो बनेको बताइन्। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले कोरोनाप्रतिको सावधानीस्वरुप संसद् बैठक चैत ७ गतेसम्म स्थगित भएको बताए। सांसदले बैठक केही दिन पर सार्न माग गरेपछि बैठक स्थगित भएको उनले जानकारी दिए।

विगतको अभ्यास हेर्ने हो संसद्को हिउँदे अधिवेशन अन्त्य हुने अवस्थामा पुगेको छ। गत वर्ष चैत १० गते हिउँदे अधिवेशन अन्त्य भएको थियो। वैशाख १६ गते बर्खे अधिवेशन बोलाइएको थियो। विधेयक अधिवेशन भनिने हिउँदे अधिवेशनमा यसपटक विधेयक पारित गर्ने कार्य न्यून देखिएको छ। गत पुस ४ गते सुरु भएको संसद् अधिवेशनले अहिलेसम्म दुईवटा विधेयक पारित गरेको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ लाई संशोधन गर्न बनेको विधेयक र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएका छन्। अन्य ३५ विधेयक संसद्मा विचाराधीन छन्। प्रतिनिधिसभामा २१ र राष्ट्रियसभामा १४ विधेयक विचाराधीन छन्। जारी अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक १९ पटक बसेको छ। चारवटा बैठक सूचना जारी गरेर स्थगित भए भने तीनवटा बैठक अवरुद्ध भए। राष्ट्रियसभाको बैठक २२ पटक बसेको छ।

प्रकाशित: ३० फाल्गुन २०७६ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App