१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘जहाँ हेर्‍याे त्यहीँ भ्रष्टाचार’

काठमाडौं – एउटा मान्छे तराजु लिएर उभिरहको छ। उसको टाउकोमा लामखुट्टेले आक्रमणको प्रयास गरिरहेको छ। अघिल्तिर औषधि र फलफूलहरू छरपष्ट छन्। ती औषधि र फलफूललाई पनि लामखुट्टेले घेरिरहेका छन्। बायाँतर्फ चिटिक्क परेको मन्दिर छ। त्यसको ठीक माथि लामखुट्टेलाई विनाश गर्ने धूप बलिरहेको छ। चित्रकार सुजनविर बज्रचार्यको यो चित्र हेर्दा लाग्छ, नेपालको नियम कानुन पनि बलियो बनाउने हो भने वर्षौदेखिको समस्याको रूपमा रहेको भ्रष्टचार र घुसपैठको अन्त्य गर्न सकिन्छ। जसरी चित्रमा लुकीलुकी मान्छेको रगत चुस्ने लामखुट्टेको अन्त्य बल्दै गरेको धूपले गरेको छ।

उनले सडक निर्माण, अस्पताल र औषधिमा भइरहेको भ्रष्टाचारलाई हामीले दैनिक जीवनमा देखिने सामग्रीमार्फत प्रस्तुत गरेका छन्। ‘यहाँ जता हे-यो त्यहीँ भ्रष्टाचार छ, लामखुट्टेले रगत चुसेजस्तै भ्रष्टाचारीहरूले देशलाई नै चुसिरहेका छन्,’ चित्रकार बज्रचार्यले भने, ‘कानुन भएर मात्रै भ्रष्टाचार न्यूनिकरण हुँदैन, व्यवहारमा कार्यान्वयन हुनुपर्छ। त्यसकारण सामाजमा व्याप्त भ्रष्टाचारको अन्त्यको माग मेरो चित्रले गरेको छ।’

अर्का चित्रकार विवेक लामाको चित्रमा एउटा राष्ट्र निर्माणमा लागेको व्यक्तिलाई समेटेर राजनीतिक क्षेत्रमा हुने भ्रष्टाचारलाई व्यंग्य गरिएको छ। राजनीति देशको जरा भएकाले राजनीति राम्रो भए मात्रै भ्रष्टाचार नहुने विषयको उठान उनको चित्रमार्फत देखिन्छ। उनले एउटै बारीमा समान रूपले फलेका विभिन्न तरकारीलाई पनि चित्रमा समेटेका छन्। तरकारीमा देखिएको समानता जस्तै राजनीति र अन्य क्षेत्रमा समानता भएमात्रै भ्रष्टाचार अन्त्य हुने उनको भनाइ छ।

ज्ञानका लागि किताब र कलम, परम्परागत सामग्रीमा ठेकी, मादल र आयुर्वेदिक भाडासँगै औषधि, कृषिका लागि कुटोकोदालो तथा फलफूलहरू, कलाको लागि ब्रस र रंगलगायतका सामग्रीलाई एउटै चित्रमा समाहित गरेकी छन् चित्रकार कमला खड्काले।

ती साम्रगीमार्फत श्रम गरेर विकास गरेपनि देशमा व्याप्त रूपमा रहेको भ्रष्टाचारले विकासलाई भत्काइरहेको अवस्था प्रस्तुत गर्न उनले मुसालाई बिम्बका रूपमा प्रयोग गरेको बताइन्। मुसाले जसरी सामान काटेर क्षतिगर्छ त्यसैगरी भ्रष्टाचारीले विकासका काममा क्षति गर्ने गरेको चित्रमार्फत देखाउने प्रयास गरिएको खड्का बताउँछिन्।

चित्रकार सुमन थापाले आफूसँग उच्च शिक्षाको प्रमाणपत्र भएपनि देशमा रोजगारी नपाएर विदेश जानुपरेको अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्। शैक्षिक योग्यता भए पनि रोजगार नपाइने नेपालको अवस्थालाई उनले चित्रमार्फत प्रस्तुत गरेको देखिन्छ।

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा मंगलबारदेखि सञ्चालन भएको ‘भ्रष्टाचार विरोधी’ शीर्षकको दुई दिने सयुंक्त कला प्रदर्शनीमा ५२ जना विद्यार्थी चित्रकारको कलालाई समेटिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा भएको प्रतियोगितामा सहभागी विद्यार्थी चित्रकारको कलालाई प्रदर्शनीमा राखिएको प्रदर्शनी क्युरेटर जस्मिन राजभण्डारीले जानकारी दिइन्।

प्रदर्शनीमा सबै विद्यार्थी चित्रकारले भ्रष्टाचारलाई विभिन्न माध्यमार्फत प्रस्तुत गरेका छन्। प्रतियोगितामा सहभागी मध्येबाट छनोट भएका १२ जना चित्रकारलाई पुरस्कृत गरिएको थियो। छानिएका चित्रहरुलाई समेटेर एक/एक वटा क्यालेण्डर बनाइने र उनीहरूको कार्यालयसम्म पु-याइने उनको भनाइ छ। ‘भूकम्पपछिको पुनर्निर्माणका काममा, शिक्षाका क्षेत्रमा, विकास निर्माणका काम, औषधिमालगायतका क्षेत्रमा हुने भ्रष्टाचारलाई विद्यार्थीले चित्रको विषय बनाएका थिए।

प्रकाशित: २९ फाल्गुन २०७६ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App