१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दुर्गाप्रसाद श्रेष्ठलाई अन्तर्राष्ट्रिय पुरस्कार दिइने

काठमाडौं – नइ प्रकाशनले दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाख रुपैयाँसहित नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। मंगलबार नइ प्रकाशनले प्रेस विज्ञप्तिमार्फत भारतको बनारसमा बसेर नेपाली साहित्यमा सक्रिय भएबापत उनलाई अन्तर्राष्ट्रिय पुरस्कार दिइने जानकारी गराएको थियो।

‘सात दशकदेखि नेपाली साहित्यमा समर्पित भएर कथा, कविता र उपन्यासलगायत लेखनका साथै अनुवादकका रूपमा समेत ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गरिने भएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यो पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ।’ उनका हिन्दी भाषामा समेत कृति प्रकाशित छन्।

विसं. १९९३ देखि प्रकाशनमा आएको ‘उदय’ मासिकलाई निरन्तर चार दशकदेखि उनले नेतृत्व गरिरहेका छन्। सो पत्रिकामा ईश्वर बरालले लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए। उनले विसं. २०२० सालमा प्रदर्शन भएको नेपाली चलचित्र ‘आमा’ को पटकथा र संवाद लेखेका थिए। हिरासिंह खत्रीद्वारा निर्देशित ‘आमा’ फिल्ममा उनले सहायक निर्देशकको जिम्मेवारी पाएका थिए।

शताब्दी पुरुष सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा आगामी व‌ैशाख २९ मा कार्यक्रमको आयोजना गरेर उनीसहित २६ जना व्यक्तिहरूलाई पुरस्कारहरू प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App