१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लिपजिग पहिलो पटक क्वार्टरफाइनलमा

लिपजगका खेलाडीको गोल प्रयास नियन्त्रणमा लिदै टोटेनह्यामका ह्युगो लोरिस। तस्बिर:एएफपी

बर्लिन – बुन्डेसलिगा क्लब आरबी लिपजिगसँग अन्तिम १६ दोस्रो लेगमा ३–० ले स्तब्ध हुँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन असफल भएसँगै टोटेनह्यामका मिडफिल्डर डिले अलीले खेलाडीको मानसिकतामाथि प्रश्न उठाएका छन्।

पहिलो लेगमा १–० ले निराश भएको टोटेनह्याम समग्रमा ४–० को हारका साथ अन्तिम ८ मा स्थान बनाउन असफल भएको हो। सुरुआती २१ मिनेटभित्रै कप्तान मार्सेल साबिट्जरको दुई गोल र वैकल्पिक खेलाडी इमिल फोसबर्गले अन्तिम समयमा गरेको गोलमा लिपजिग सहज जितका साथ पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको हो। ‘हामीले निकै कमजोर प्रदर्शन गर्‍यौं। यो नतिजाले हाम्रो मानसिकता नै कमजोर रहेको प्रस्ट्याउँछ,’ अलीले भने, ‘हामीले परिपक्व प्रदर्शन गर्न आवश्यक छ। हामीले आज जुन गल्ती गर्‍यौं, यो नतिजा त्यसकै सजाय हो।’

युरोपका धेरैजस्ता प्रतियोगिता कोराना भाइरसका कारण बन्द रंगशालामा खेल खेलाइएपछि यस खेलमा भने दर्शकलाई मैदान प्रवेशमा कुनै रोक लगाइएको थिएन। टोटेनह्याम चोटका कारण ह्यारी केन, सन ह्युङ मिन र स्टेभिन बर्जविजनजस्ता स्टार खेलाडीबिना नै पूर्वी जर्मनीको भ्रमणमा निस्किएको थियो। खेलको पहिलो हाफमै गोलकिपर ह्युगो लोरिसले गरेको गम्भीर गल्तीमा दुई गोल खाएपछि भने टोटेनह्यामका लागि पुनरागमनका साथ अघिल्लो चरण प्रवेश सम्भावना न्यून थियो। खेलको १०औं मिनेटमा लिपजिगका साबिट्जरले गरेको कडा प्रहार टोटेनह्यामका गोलकिपर ह्युगो लोरिसले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा बलले जाली चुमेको थियो।

टोटेनह्याम चोटका कारण ह्यारी केन, सन ह्युङ मिन र स्टेभिन बर्जविजनजस्ता स्टार खेलाडीबिना नै पूर्वी जर्मनीको भ्रमणमा निस्किएको थियो।

त्यसको ११ मिनेटपछि नै साबिट्जरले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै लिपजिगको अग्रता दोब्बर पारेका थिए। यस पटक उनले एन्जेलिनोको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए। खेल सकिन ३ मिनेट बाँकी रहँदा फोसबर्गले लिपजिगको अग्रता ३–० मा पुर्‍याएका थिए। टोटेनह्यामले सबै खाले प्रतियोगिता गरी पछिल्लो ६ खेलमा कुनेै पनि खेलमा जितको नतिजा ल्याउन सकेको छैन। ‘हामीले राम्रो प्रदर्शन गर्न सकेनौं, स्वाभाविक लयभन्दा निकै तलको प्रदर्शन रह्यो,’ टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले भने, ‘आजका लागि हाम्रो दिन खराब रह्यो। कसैले पनि बहाना बनााउँदै जिम्मेबारीबाट भाग्ने छुट छैन।’

टोटेनह्यामले गत सिजन पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा सेमिफाइनल पहिलो लेगमा ३–० ले पछि परे पनि दोस्रो लेगमा लुकास मौराको ह्याट्रिक मद्दतमा उत्कृष्ट पुनरागमन गरेको थियो। तर यस पटक भने टोलीले जादुमयी प्रदर्शन गर्न सकेन। ‘यो क्लबको इतिहासमा गौरव गर्ने क्षण हो, मेरा लागि र मेरो युवा टोलीका लागि पनि,’ लिपजिगका ३२ वर्षे प्रशिक्षक नागेल्सम्यानले भने, ‘हामी अघिल्लो चरण प्रवेशका लागि सक्षम टोली हाैँ। हामी राम्रो टोली थियाैँ। हामी क्लिन सिटका साथ अन्तिम ८ मा प्रवेश गर्न सफल भयौं, त्यसैले उत्साही छौं।’ इङ्लिस प्रिमियर लिगमा समेत यस सिजन टोटेनह्यामको प्रदर्शन उल्लेख्य छैन। टोलीको शीर्ष ४ मा बस्दै अर्कोे सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनासमेत कमजोर बन्दै गएको छ। आठौं स्थानमा रहेको टोटेनह्याम शीर्ष ४ भन्दा ७ अंकले पछि छ।

‘हामीलाई थाहा छ, यो सिजन हाम्रा लागि राम्रो भएको छैन भनेर, तर हामीले हारका पछाडि आफ्नै खराब लयलाई लुकाउनु हुँदैन,’ अलीले भने, ‘हामी पछिल्ला खेलका नतिजाले आत्तिरहेका छाैँ।’ च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत बुधबारै भएको दोस्रो लेगको खेलमा भ्यालेन्सियामाथि ४–३ को जितका साथ एट्लान्टा पनि पहिलो पटक क्वार्टरफाइनल प्रवेश गरेको छ। पहिलो लेगमा ४–१ को जित हात पारेको एट्लान्टाले समग्रमा ८–४ को राबाफिलो जितका साथ अन्तिम ८ मा स्थान बनाएको हो। एट्लान्टाको सहज जितमा जोसेफ लिसिकले एक्लैले ४ गोल गर्दा भ्यालेन्सियाका केभिन गामेरियोले २ र फारेन टोरेसले १ गोल गरेका थिए।

प्रकाशित: २९ फाल्गुन २०७६ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App