१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हत्या गरिएको अवस्थामा दम्पतीको शव

इलाम- फाकफोकथुम गाउँपालिकाको एक दम्पती हत्या गरिएको अवस्थामा मृत भेटिएका छन्। फाकफोकथुम–५, लुम्देको कैंजले भन्ने स्थानका अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी त्यही उमेरकी रीता खपांगीको शव बुधबार दिउँसो घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लतपतिएको नांगो खुकुरी भुइँमा छ। पत्नी रीता धनबहादुरको नजिकै उत्तानो अवस्थामा लडिरहेको पाएको नेपाल प्रहरीका सई भूपेन्द्र ढुंगानाले बताए। ‘भुइँ रगताम्य छ, नजिकै घाँस काट्न जान ठिक्क पारेजस्तो अवस्थामा हँसिया र नाम्लो पनि देखिन्छ,’ सई ढुंगानाले भने, ‘दिउँसो १ बजेतिर प्रहरीमा खबर आएपछि हामी बुधबार साँझ घटनास्थल पुगेका छौं। घटना रहस्यमय देखिन्छ।’

जिल्ला प्रहरी कार्यालयबाट डिएसपी हेमन्त भण्डारी क्षेत्री नेतृत्वको टोली घटना अनुसन्धानका लागि पुगेको छ। ‘घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था छैन,’ सई ढुंगानाले भने, ‘अनुसन्धान भइरहेको छ।’ धनबहादुरकी आमा घटना भएका बेला घरमा नभएको र उनीहरूका १३–१४ वर्षे १ छोरा, ८–९ वर्षकी १ छोरी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २८ फाल्गुन २०७६ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App