१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चोभारको सुक्खा बन्दरगाह भदौमा तयार हुने

काठमाडाैँ - चोभारमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको काठमाडौं सुक्खा बन्दरगाह आगामी भदौभित्रै तयार हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले लामो समयदेखि अलपत्र परेको हिमाल सिमेन्ट कारखानाको जग्गा उपयोग गर्दै सुक्खा बन्दरगाह निर्माण गर्न लागेको हो। समितिका अनुसार अहिले बन्दरगाह निर्माण कार्य ४५ प्रतिशत सकिएको छ।

मन्त्रालयका सहसचिव तथा समितिका कार्यकारी निर्देशक नवराज ढकालले अहिलेसम्म सुक्खा बन्दरगाह निर्माण कार्य ४५ प्रतिशत सम्पन्न भइसकेको बताए। ‘केही समय स्थानीयको अवरोधले काम गति लिन पाएन,’ उनले भने, ‘स्थानीयसँग सहकार्य गरेर अघि बढेसँगै अहिले बन्दरगाह निर्माणले गति लिएको छ।’ कार्यकारी निर्देशक ढकालले आगामी ६ महिनभित्रै बन्दरगाह तयार हुने दाबी गरे। ‘काम द्रुत गतिमा भइरहेको छ,’ उनले भने, ‘अबको ६ महिनाभित्रै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिरहेका छौं।’ समितिका अनुसार बन्दरगाहको मुख्य संरचना भवन, आवासगृह, प्रशासकीय भवन लगायत निर्माण कार्य भइरहेको छ। भवनसँगै जोडिएको पर्खाल निर्माण भइरहेको छ।

सरकारले काठमाडौंको भृकृटीमण्डपमा रहेको प्रदर्शनी केन्द्र साँघुरो भएको भन्दै आर्थिक वर्ष ०७०/७१ को बजेट वक्तव्यमा हिमाल सिमेन्ट कारखानाको जग्गामा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउने घोषणा गरेको थियो। सुक्खा बन्दरगाहको कामलाई दुई खण्डमा छुट्ट्याएर ठेक्का सम्झौता भएको थियो। बन्दरगाह निर्माणको ठेक्का साक्षी–आशिष जेभीले एक अर्ब ४४ करोडमा पाएको थियो। अर्काे खण्डको ठेक्का लुम्बिनी/कोशस/न्यौपाने जेभीले २२ करोड रूपैयाँमा पाएको थियो। नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक युवक डंगोलले ६ महिनासम्म स्थानीयबासीले अवरोध गर्दा तोकिएको समयभित्रै बन्दरगाह निर्माण हुन नसकेको बताए। ‘स्थानीयबासीको अवरोधले ६ महिनाजति बन्दरगाह निर्माण कार्य प्रभावित भएको थियो,’ उनले भने, ‘गत जनवरीमा आयोजनाले ठेकेदार कम्पनीलाई थप ६ महिना म्याद थप गर्ने निर्णय भएको छ।’ उनका अनुसार एक महिनाभित्रै बन्दरगाहको प्रगति ६० प्रतिशत पुग्नेछ।

बन्दरगाहमा आन्तरिक र बाह्य टर्मिनल हुनेछन्। आन्तरिक टर्मिनलबाट देशभरबाट काठमाडौं उपत्यका आउने र उपत्यकाबाहिर जाने माल–सामान लोड अनलोड र भण्डारण समेत गर्न मिल्ने व्यवस्था गरिनेछ। बाह्य टर्मिनलमा भने भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामानलाई नेपालका सीमा क्षेत्रका भैरहवा, वीरगन्ज तथा रसुवागढी नाकाबाट सोझै ल्याइनेछ। यो बन्दरगाह सञ्चालनमा आएपछि नाकामा कन्टेनर खोलेर फेरि लोड–अनलोड गर्ने झन्झट हट्नेछ। त्यस क्रममा हुने खर्च जोगिने समितिले जनाएको छ। भारतको कोलकाता, विशाखापट्टनम र चीनको केरुङ, सिगात्सेबाट राजधानीका लागि ल्याइने सामान सोझै चोभार ल्याएर भण्डारण गर्न सकिनेछ। यो सुक्खा बन्दरगाहमा काठमाडौं–तराई द्रुतमार्ग समेत जोडिने भएकाले सामान ल्याउँदा
हुने झमेला अन्त्य हुने विश्वास गरिएको छ।

बन्दरगाहमा ६ सय २५ वटा ट्रक पार्किङ गर्न मिल्नेछ। सुक्खा बन्दरगाहको निर्माण सुरु भएपछि मात्रै प्रदर्शनीस्थल निर्माणको बाटो खुल्ने अपेक्षा गरिएको छ। आठ सय १६ रोपनी जग्गामध्ये झन्डै दुई सय रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह र बाँकी जग्गामा प्रदर्शनीस्थल निर्माण गर्ने सरकारको योजना छ। सरकारले विश्व बैंकबाट डेढ अर्ब ऋण लिएर दुई सय रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह बनाउन लागेको हो। २०७५ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाहको शिलान्यास गरेका थिए। शिलान्याससँगै स्थानीयले केही समय मुआब्जा र अन्य माग राख्दै आन्दोलन गरे। समितिका निर्देशक डंगोलले स्थानीयबासीको माग पूरा गरेसँगै आयोजनाको काममा कुनै अवरोध नआएको बताए। ‘हामीले स्थानीयबासीका जायज माग सम्बोधन गरेसँगै आन्दोलनको कार्यक्रम फिर्ता भयो,’ उनले भने, ‘अधिकांश भवनको संरचना तयार भइसकेकाले पनि तोकिएको समयभित्रै निर्माण सम्पन्न हुनेछ।’ बन्दरगाहको डिपिआर फुलब्राइट कन्सल्टेन्सीले तयार पारेको थियो।

प्रकाशित: २८ फाल्गुन २०७६ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App