१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक सातामा तीन दुर्घटना : दुईको मृत्यु, १४ गम्भीर

गोरखा– फागुन २१ गते गोरखाको आरूघाट गाउँपालिका–१ मान्बुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने धार्चे गाउँपालिका उपाध्यक्ष सहित सात जना गम्भीर घाइते भए । धार्चे गाउँपालिका वडा नं.६ का वडा सचिव किरण भण्डारीको घटनास्थलमै ज्यान गयो । अन्य घाइते भएकालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौँ लगियो । अहिले पनि उनीहरूको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै फागुन २३ गते  सिरानचोक गाउँपालिका–८ जौवारी धन्सार भन्ने ठाउँमा  ट्याक्टर दुर्घटना हुँदा दाङका यज्ञबहादुर भण्डारीको  घटनास्थलमै मुत्यु भने दुई जनाको  गम्भीर घाइते भए । घाइते भएकाको हालसम्म उपचार भइरहेको छ । फागुन २७ गते मंगलबार बिहान बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलाबाट जिप खस्दा १३ जना घाइते भए । पाँच जनाको अवस्था गम्भीर छ । गम्भिर घाइतेलाई हेलिकप्टबारट उपचारका लागि काठमाण्डौँ लैजानुपर्ने अवस्था नै आयो ।

एक साताको बिचमा भएका यी दुर्घटनामा दुई जनाले ज्यान गुमाए भने १४ जना गम्भीर घाइते भए । यी सबै दुर्घटना ग्रामीण  कच्ची सडकमा भएका छन् । मान्बु दुर्घटना भर्खरै खनिएको नयाँ सडकमा भएको हो । करिब एक सय ५० मिटर तल जीप खसेको थियो ।

दोहोरो सवारी चल्न नमिल्ने साघुँरो सडक भएकोले  जिप खसेको थियो । भिरमा जीप खस्दा लामो समयसम्म घाइतेको उद्धारमा समेत समस्या भएको थियो । धार्चे गाउँपालिकाका उपाध्यक्षसहित जनप्रतिनिधिको टोली अपाङ्गता परिचय पत्र, जेष्ठ नागरिक परिचय पत्र वितरणका लागि वडा नं.६ काशिगाउँ गएका थिए ।

ग्रामीण भेगमा ट्राफिक प्रहरीको आँखा नपुग्ने, चेकजाँचमा कडाई नगर्दा क्षमता भन्दा धेरै यात्रा बोक्ने, धेरै पुराना सवारी साधन चलाउने क्रम पनि बढेको छ । गाउँगाउँमा आफूखुसी खनिएका, नयाँ खुलेका सडक दुर्घटनाको निम्ताएको हो ।

मंगलबार सौरपानीमा भएको जीप दुर्घटनामा क्षमता भन्दा धेरै यात्रु सवार थिए । सडक ट्रयाक राम्रो नहुँदा नियमित सदरमुकाम सम्म त्यहाँबाट यात्रुबाहक बस चल्ने अवस्था छैन । गाउँबाट सर्वसाधारण जीप चढेर महँगो भाडामा जोखिमको यात्रा गर्न बाध्य छन् । प्रहरीको आँखा छलेर जिप धनी र चालकले खचाखच यात्रु ओसार्ने गर्छन । क्षमता भन्दा धेरै यात्रु र साँघुरो कच्ची सडक, घुम्ती, ग्रेडिङ मापदण्ड बिना खनिएका सडक दुर्घटनाको कारण भएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । जैवारी ट्याक्टर दुर्घटना पनि कच्ची सडकमा लापरबाहीका कारण भएको ट्राफिक प्रहरीको भनाई छ ।

ट्राफिक प्रमुख सुकबहादुर बिकले कच्ची सडकको कारण दुर्घटना बढेको बताउँछन् । ‘सडकको जोखिम, पुराना सवारी साधन, सवारीको अवस्थाले दुर्घटना भएको देखिन्छ’ उनले भने । अहिले ग्रामिण भेगमा २० वर्ष पुराना सवारी साधन पनि चल्ने गरेको छ । निजी प्रयोजनका लागि भन्दै रातो नम्बर प्लेटका तर धेरै पुराना सवारी साधनलाई यात्रु ओसार्न प्रयोग गरिएको छ ।

‘हामी समूह बनाएर गाउँगाउँमा चेकजाँच सुरु गछौँ’ गोरखाका ट्राफिक प्रहरी प्रमुख बिकले भने ‘यात्रुहरूले पनि पुरानो गाडी रिर्जभ गरेर हिड्ने, जोखिमको सडकमा क्षमता भन्दा धेरै चढ्न भएन ।’ गोरखामा यातायात सञ्चालन गर्दै आएको दरौँदी यातायात सेवा प्रालिका अन्जनबाबु खत्रीले सबै ठाउँमा यात्रुबाहक बस आउजाउ गर्ने सहज सडक नहुँदा पठाउन नसकिएको बताए । ‘अहिले जताततै कृषि सडकको नाममा ट्याक खुलेको छ, तर स्तरीय छैन, एउटा सडकले अर्को सडकमा क्षति पुगेको छ’ उनले भने ।

छिटो यात्रा गर्ने भन्दै जोखिम मोलेर क्षमता भन्दा धेरै यात्रु चढ्दा दुर्घटना हुने गरेको बताउँदै यात्रुहरू पनि सचेत रहनुपर्ने सुझाब ब्यवसायीको छ ।एक हप्तामा तीनवटा दुर्घटना ग्रामिण सडकमा भएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले विपद् बव्यवस्थापन समितिको बैठक डाकेर सडक दुर्घटना न्यूनिकणको विषयमा छलफल गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उक्त विषयमा छलफल गर्न स्थानीय तहका प्रमुखहरुसहित बिहीबार बैठक बोलाइएको बताए ।

 

प्रकाशित: २७ फाल्गुन २०७६ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App