१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रशासनले बिचमै मेला रोकिदिएपछि...

बुटवल- महिला उद्यमीद्वारा बुटवलमा सञ्चालित मेला प्रशसानले बिचमै रोकीदिएपछि आयोजकले क्षतिपूर्तीको माग गरेका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ ले बुटवलमा लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं पर्यटक महोत्सव गरेको थियो। फागुन २१ गतेदेखि सञ्चालित सो मेला चैत २ गतेसम्म चल्ने भनिएको थियो।

प्रदेश र स्थानीय सरकारकै अनुमतीमा सञ्चालन गरीएको मेलालाई जिल्ला प्रशासनले  सोमबारदेखि नचलाउन निर्देशन दिएपछि स्थगित भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ का अध्यक्ष शान्ती शर्माले बताइन्। सरकारले नै मेला सञ्चालनको अनुमती दिएर सुरु गरेपछि बिचमै रोकीदिँदा लाखौको क्षति भएको भन्दै आयोजकले सरकारसँग क्षतिपूर्तिको माग गरेका हुन्।

मेला सचिवालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै महिला उद्यमी समितिका प्रदेश अध्यक्ष शर्माले मेलामा गरिएको लगानीको सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरीन्। ‘कि त सरकारले सुरुमै स्वीकृति नदिनु पथ्र्यो। पाँच दिनअघि मेला गर भन्ने अनि बिचमै रोकीदिँदा आयोजकलाई मात्रै हैन स्टलधनीहरुले पनि ठूलो क्षति व्यर्होनु परेको छ’ शर्माले भनीन्। मेला समापन गर्नको लागि प्रशासनले आधा घण्टाको समय समेत नदिएको गुनासो उनले गरीन्। ‘टाढाबाट आएका स्टलधनीहरुलाई ससम्मान बिदाइ गर्छौ भन्दा पनि प्रमुख जिल्ला अधिकारीले हुँदैन भर्खरै सामान पोको पारेर पठाइदिनुस भन्नु भयो’ अध्यक्ष शर्माले भनीन्।

सरकारका आफ्नै निकायले जिल्लामा मेला महोत्सव तथा औपचारिक जमघटका कार्यक्रम गरीरहदा रोक्ने चेष्टा नगरेको प्रशासनले महिला उद्यमीको मेलालाई औपचारिक समापन गर्न समेत रोक लगाएर अप्रजातान्त्रिक शैली प्रस्तुत गरेको समितिका महासचिव पार्वती अधिकारीले बताइन्। प्रशासनले सोमबार एक्कासी प्रहरी पठाएर टिकट काउन्टर बन्द गर्न लगाएको थियो। मेला सञ्चालनको लागि ८२ लाख बढी रुपैयाँ खर्च भएको र त्यसको क्षतिपूर्ती सरकारले दिनुपर्ने माग आयोजकको छ।

मेला उद्घाटनको एक दिनअघि प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र उद्योग पर्यटनमन्त्रीको उपस्थितीमै मुख्यमन्त्री शंकर पोखरेलले मेला सञ्चालन गर्न अनुमती दिएको आयोजक समितिका अध्यक्ष शर्माले बताइन्। ‘मुख्य मन्त्रीले हामीलाई मेला गर्नुस तर समय अलिकती छोट्याउनुस भन्नु भएको थियो। उद्योग मन्त्रीलाई प्रमुख अतिथिको निम्ता दिएका थियौं। प्रशासन, नगरपालिका र वडा कार्यालयबाट स्वीकृति लिएका हौं’ शर्माले भनीन्। मेला बिचमै रोकीएपछि सहयोगी तथा स्टल धनीहरुसँग समेत कुनै रकम उठाउन नसकेकाले मेलामा भएको खर्चको क्षतिपूर्ती सरकारले दिनुपर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष कन्ह्यैयालाल कसौधनले बताए।

प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले मेला सुरु हुनु दुई दिनअघि बैशाखमा गर्ने भनिएको प्रदेश लगानी सम्मेलन समेत स्थगित गर्दै अन्य मेला महोत्सव नगर्ने नगराउने निर्णय गरेको थियो। मन्त्रीपरिषदको सो निर्णय लगत्तै फागुन २१ गतेदेखि गर्ने भनिएको महोत्सवका आयोजक घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिको टोलीले मुख्यमन्त्री, कानुनमन्त्री र उद्योग तथा पर्यटनमन्त्रीलाई भेटेर मेला गर्ने नगर्ने सम्बन्धमा छलफल गरेको थियो।

तयारीमा लाखौ खर्च भइसकेकाले मेला गर्न दिन या त तयारीमा भएको खर्चको क्षतिपूर्ती उपलब्ध गराउन आयोजकले माग गरेपछि मुख्यमन्त्री शंकर पोखरेलले मेला सञ्चालन गर्न मौखिक अनुमती दिएका थिए। ‘तयारी सबै गरीसक्नु भएको रहेछ। मेला गर्नुस तर समय अलिकती छोट्याउनुस भन्नु भएको हो’ समितिका अध्यक्ष शर्माले भनीन्।

सरकारको निर्देशन लत्याउदै तिलोत्तमामा खाद्य मेला
केन्द्र र प्रदेश दुवै सरकारले ठूला सभा सम्मेलन, मेला महोत्सव नगर्न निर्देशन दिएको भनिएतापनि सरकारका आफ्नै निकायले त्यस्तो निर्देशन लत्याएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले तिलोत्तमाको कोटीहवामा तीन दिने खाद्य मेला गरेका छन्। पशुपति माविको प्राङगणमा स्कुल नै बन्द गरेर फागुन २३ देखि २५ गतेसम्म मेला गरीएको थियो।

केन्द्र सरकारकै निर्देशन लत्तयाउदै प्रतिनिधि सभा सांसद छबिलाल विश्वकर्माले मेलाको उद्घाटन गरेका थिए। विश्वकर्मा नेकपा सांसद हुन्। नगरप्रमुख बाशुदेव घिमिरेले तिलोत्तमामा खाद्य मेला लाग्नु नगरबासीका लागि गौरबको विषय भएको भन्दै मेला सफलता पूर्वक सम्पन्न गरेको बताएका थिए। प्रदेशका बिभिन्न मन्त्रालय तथा मातहतका कार्यालयहरुले पनि सभा सम्मेलन अन्तरक्रिया छलफलका नाममा बिभिन्न कार्यक्रमहरु गरीरहेका छन्। तर आम सर्वसाधारणलाई भने सभा सम्मेलन ठूला जमघटका लागि मनाही गरीएको पाइन्छ।

नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रणले गरेको तिन दिने मेलालाई न प्रशासनले रोक्यो न प्रदेश सरकारले। सो मेला सकिएको भोली पल्ट मात्र महिला उद्यमीको मेलालाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले रोक्न ठाडो निर्देशन दिएका थिए। तिलोत्तमाको खाद्य मेलाकै लागि आफूहरुको मेला पहिले नरोकीएको तर मेला सकिएपछि मात्र रोक्न निर्देशन दिएको भन्दै प्रमुख जिल्ला अधिकारीले राजनीतिक खेल खेलेको आरोप महिला उद्यमीले लगाएका छन्।

प्रकाशित: २७ फाल्गुन २०७६ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App