१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

तीन जना डाक्टर धरौटीमा रिहा, एक जेल चलान

इटहरी–नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा मेडिकल पेशा अँगाल्दै आएको अभियोगमा डाक्टरलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएकोमा तीन जना धरौटीमा छुटेका छन्। एक जना धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा पेशा अँगाल्दै आएको डाक्टरलाई प्रहरीले सरकारी वकिलमार्फत उनीहरु कार्यरत रहेकै जिल्लामा मुद्दा चलाएकामध्ये मोरङबाट तीन जना आइतबार धरौटीमा छुटेका हुन्। सुनसरीमा एक जना अदालतले माग गरेबमोजिमको धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन्।

चिकित्सक कार्यरत रहेका संस्था र अवधिका आधारमा आर्जन गरेको आय बराबरीको ठगी गरेको भन्दै बिगो बमोजिमको माग दाबी गरे अनुसार जिल्ला अदालत मोरङबाट डाक्टर लिली सिंह, अब्दुल कलाम र सन्जयकुमार दास धरौटी बुझाएर छुटेका हुन्।

जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालका अनुसार आइतबार भएको निर्णय अनुसार सिंहले ३५ लाख, कलामले १३ लाख र दासले २३ लाख ९० अहजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। धरौटीमा छुटेका यी तीनै जना निजी क्लिनिकमा कार्यरत छन् ।

यसैगरी, परिवार नियोजन कार्यालय इटहरी सुनसरीका प्रमुख डाक्टर मनिष अर्याललाई ३२ लाख २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का पठाइएको  छ। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले अर्याललाई धरौटी माग गरेकोमा बुझाउन नसकेपछि कारागार चलान गरिएको हो।

अर्यालले भारतबाट आइएस्सी पास गरेको प्रमाणपत्र पेस गरि पाकिस्तानबाट एमबिबिएस गरेको र मेडिकल काउन्सिलबाट चिकित्सकको प्रमाणपत्र निकालेका छन्। उनले आइएस्सीमा कुल ६८८ अंक प्राप्त गरेको प्रमाणपत्र पेस गरेर एमबिबिएस अध्ययन गरेपनि प्रहरीले अनुसन्धान गर्दा बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिलले भने अर्यालले आइएस्सीमा ५८७ अंक मात्र ल्याएको लेखेर पठाएको  छ।

सुनसरी जिल्ला अदालतका श्रेष्तेदार इन्द्रकमल प्रधानका अनुसार अर्यालले विराटनगरको घरजग्गा धरौटी राख्न माग गरे अनुसार मुल्यांकन गर्नका लागि जिल्ला अदालत मोरङ र मालपोत कार्यालयलाई पत्रचार गरिएको छ। उनका अनुसार घरजग्गा मुल्यांकन गरि धरौटी राख्न केही दिन समय लाग्नेछ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पछिल्लो समय नक्कली प्रमाणपत्रको आधारमा मेडिकल पेशा अँगाल्दै आएका देशभरका डाक्टरलाई पक्राउ गरी कारबाही थालेको छ।

 

प्रकाशित: २० असार २०७३ १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App