१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदीय विशेष समिति बैठक सात महिनामा २ पटक

काठमाडौं – सर्लाही घटनाको कारण अवरुद्ध संसद् खुलाउन गत साउन २१ गते गठन भएको संसदीय विशेष समितिको बैठक सात महिनामा २ पटक बसेको छ। सर्लाही घटनाको संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस र प्रतिपक्षी राजपाले संसद् अवरोध गरेपछि गठन भएको संसदीय विशेष समितिले सात महिना वित्दा पनि प्रतिवेदन बुझाउन सकेको छैन। नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङ् संयोजक रहेको सात सदस्यीय विशेष समितिले अहिलेसम्म दुईपटक बैठक बसेको समिति सदस्य पुष्पा भुषालले बताइन्। उनले भनिन्, ‘समितिको बैठक दुईपटक बसेको छ, पछिल्लो बैठक संसदीय अभ्यास भएका मुलुकमा यसमा के कस्तो अभ्यास छ यसबारे अध्ययन गर्ने भनेर बैठक सकिएको थियो। तर, त्यसपछि बैठक बसेको छैन।’ ‘साउनमा गठन भएको समिति फागुनमा आइपुग्दा पनि प्रतिवेदन नदिएपछि यो समितिले काम गर्न नसकेको देखिएको छ’ कांग्रेसका एक सांसदले भने।

सत्तापक्ष र प्रतिपक्षसँगै राखेर तत्कालीन सभामुख कृष्णबहादुर महराले साउन २१ गते बिहान बैठक बोलाएर विशेष समिति गठन गर्ने सहमति गरेका थिए। संसदीय छानविन समितिको ठाउँमा विशेष समिति गठन गर्ने सहमति भएको थियो। ‘यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन’ भन्दै प्रतिनिधिसभाको नियमावली २०७५ को नियम १७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गर्ने विषयमा सहमति भएको थियो। विशेष समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल, कांग्रेसका मिनेन्द्र रिजाल, नेकपाका बिन्दा पाण्डे, समाजवादी पार्टीका उमाशंकर अरगरिया र राजपाका लक्ष्मणलाल कर्ण सदस्य रहेका छन्। यो समितिले काम सुरु गरेको ३० दिनभित्र प्रतिवेदन दिनकालागि सभामुखले समय निर्धारण गरेका थिए। प्रतिपक्षीले असार २४ देखि संसद् अवरुद्ध गरेको थियो। बैठक अवरुद्ध हुने भएपछि दुईपटक सूचना जारी गरेर बैठक स्थगित भएको थियो भने ४ पटक सभामुख अगाडिको ‘बेल’ घेराउ भएको थियो।

सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका विप्लव समूहका इन्चार्ज कुमार पौडेल र अमित यादवको कुवामा परेर मृत्यु भएको विषयमा आन्दोलनमा रहेका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय सरोजनारायण सिंहको मृत्यु भएपछि प्रतिपक्षीले संसदीय छानबिन समिति गठन गर्ने माग गरेका थिए।

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App