१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खाली रंगशालामा सिरी ‘ए’

मिलान – विश्वभर फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) का कारण खाली रंगशालामा खेलाइएको इटालियन सिरी ‘ए’ को खेलमा आइतबार इन्टर मिलानलाई २–० ले हराउँदै युभेन्ट्स पुनः शीर्ष स्थानमा फर्किएको छ। यसअघि आइतबारै इटालीका खेलकुदमन्त्री भेसेन्जो स्पाडाफोराले लिगसहित सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएका थिए। उनको सो निर्देशनपछि एसपिएएल र पार्माबिचको खेलसमेत प्रभावित बनेको थियो। मैदानमा अभ्यास गरिरहेका सबै खेलाडी ड्रेसिङ रुममा फर्किएका थिए। अन्ततः निर्धारित समयभन्दा ७५ मिनेट ढिलो गरी एसपिएएल र पार्माबिचको खेल सुरु भएको थियो।

युभेन्ट्स र इन्टरबीचको खेल भने दर्शकबिनाको मैदानमा खेलाइएको थियो। ‘मलाई थाहा छैन, बन्द रंगशालामा दुई घण्टाको खेलमा रमाउने कि संक्रमणको डरका कारण घरमै थुनिएका मानिसप्रति समर्थन गर्ने,’ युभेन्ट्सका प्रशिक्षक माउरिसियो सारीले भने, ‘यो सही थियो वा गलत त्यो पनि थाहा छैन।’ ‘यो निकै महत्वपूर्ण जित हो तर लिगका १२ खेल बाँकी छन् ,त्यसैले अहिले ढुक्क हुने अवस्था छैन। लामो यात्रा बाँकी छ,’ सारीले थपे।

५५औं मिनेटमा एरोन रामसेले बललाई पोस्टको दिशा दिँदै युभेन्ट्सलाई खेलमा अघि बढाएका थिए। गत वर्ष मात्र आर्सनलबाट युभेन्ट्समा भित्रिएका रामसेले जारी सिजन टोलीका लागि गरेको यो चौथो गोल हो। त्यसको ९ मिनेटपछि पाबलो डिबालाले युभेन्ट्सको अग्रता दोब्बर पारेका थिए। खेल सकिन १० मिनेट बाँकी हुँदा ड्यानियल पाडेलीले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि इन्टरले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो।

यस जितपछि २६ खेलमा ६३ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा फर्किएको हो। समान खेलमा ६२ अंकका साथ लाजियो दोस्रो स्थानमा छ । ५४,४८ र ४५ अंकका साथ इन्टर मिलान, एट्लान्टा र एएस रोमा क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। इटालीमा कोरोनाका कारण ३ सय ५० भन्दा बढी मानिसको मृत्यु भएसँगै सिजनका बाँकी खेल निर्बाध रूपमा सञ्चालन हुनेमा दुबिधा बढेको छ।

‘अहिलेको अवस्थामा फुटबल गतिविधि रोक्नु नै उत्तम विकल्प हुनेछ,’ इटालियन फुटबल संघका अध्यक्ष डामियानो टोमासीले ट्विट् गरेका छन्, ‘हामीलाई समर्थन गर्ने र फुटबललाई माया गर्ने समर्थक कोही अस्पतालको छन् त कोही घरमै थुनिएका छन्।

खेलकुद मन्त्री स्पाडाफोराले खेलपछि पुनः विज्ञप्ति जारी गर्दै तत्काल यसलाई बन्र्द गर्न आग्रह गरेका थिए। ‘इटालियन फुटबल संघले तत्कालबाटै लागू हुने गरी सिरी ‘ए’ रोक्नुपर्छ,’ स्पाडाफोराले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस जितपछि २६ खेलमा ६३ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा फर्किएको हो। समान खेलमा ६२ अंकका साथ लाजियो दोस्रो स्थानमा छ ।

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App