१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घाइते पूर्वसभासद्लाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो

कुटपिटबाट घाइते भएका पूर्वसभासद अर्जुन राई हेलीकोप्टरबाट काठमाडौं जाने तयारी गर्दै। तस्बिर: दमन राई

खोटाङ– शरीरमा चोट र निलडाम लागेको र रक्ताम्मे अवस्थामा प्रहरीले उद्दार गरी जिल्ला अस्पताल दिक्तेलमा उपचार गराइएका पूर्वसभासद अर्जुन राईलाई थप उपचारका लागि सोमबार दिउँसो हेलीकोप्टरबाट काठमाडौं पठाइएको छ। टाउको, नाकलगायतका स्थानको सिटिस्क्यान लगायतका उपचारका लागि उनलाई काठमाडौं पठाइएको हो। उनको नाक, बायाँ हातको पाखुरालगायतका स्थानमा चोट लागेको छ।

कुटपिटबाट शरीर र टाउँका बिभिन्न ठाउँमा नीलडाम लागेको छ। बास बसेको होटलमा आक्रमणपछि उम्किएर गुहार माग्दै अर्को होटलमा पुग्दासमेत उनीमाथि आक्रमण भएको थियो। आक्रणकै दौरान भागेर नजिकैको मकैबारीमा पुगेका उनलाई आक्रमणकारीले मकैबारी नै कुटपिट गरेका थिए। कुटपिट नरोकिएपछि पूर्वसभासद् राईले आफू ‘मरेको’ अभिनय गरेर ज्यान जोगाएको बताएका छन्।
 
राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका राई दिक्तेल नगरपालिका–१५ लफ्याङ निबासी हुन्। राईमाथि रातको ८ः३० बजेतिर आक्रमण भएको थियो।

यसैबिच, खोटाङका सबै राजनीतिक दलले पूर्व सभाषद अर्जुन राईमाथि भएको आक्रमणको निन्दा गरेका छन्। दिक्तेल नगरपालिका र नुनथला गाविसको सिमानामा पर्ने हुर्लुङमा बास बसेका पूर्वसभासद राईमाथि शनिबार नुनथला–८ का २२ वर्षीय तेञ्जिङ शेर्पा र उदयपुरको कटारी–८ का २४ वर्षीय रमेश अछामीलगायत १२ जनाभन्दा बढी व्यक्तिको समूहले आक्रण गरेको थियो।

सांघातिक आक्रमणको सबै राजनैतिक दलले संयुक्त रुपमा भत्र्सना गरेका छन्। सोमबार प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाउँदै जिल्लामा क्रियाशील ९ दलका नेताको टोलीले दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न ध्यानाकर्षण गराएका छन्।

कतिपय घटनाका दोषीलाई उन्मुक्ति दिनका लागि प्रहरी र प्रशासनलाई दवाब दिने गरेका दलले पूर्वसभासद राईमाथि भएको सांघातिक आक्रमणको भने एक ठाउँमा उभिएर बिरोध जनाएका हुन्।

अन्तिम चरणमा पुगेको मेवा खोला हाईड्रोपावरको फलामे पोल ढुवानीका लागि बुईपा जानेक्रममा पूर्वसभासद राई हुर्लुङस्थित शेर्पा होटलमा बास बसेकै ठाउँमा निर्घात कुटिएका हुन्। सोही होटलमा मादक पदार्थ सेवन गरेर बसिरहेका शेर्पा र अछामीलगायतको समुहले राईलाई खेदीखेदी कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न शेर्पा र अछामीलाई प्रहरीले पक्राउ गरेर आईतबार १५ दिने म्याद थप गरेर सार्वजनिक मुद्धा चलाइएको डिएसपी बिद्यानन्द माझीले बताए। शेर्पा हुर्लुङ काउण्टरमा र अछामी चालक रहेको खुलेको छ।

हुल बाँधिएर कुटपिट गर्ने अन्यको पहिचान गरेर कानूनी कारबाही गर्नुपर्ने राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राईले बताए। उनीहरुले शान्ति सुरक्षाका लागि हुर्लुङमा अस्थायी प्रहरी पोष्ट राख्न वा गस्तीको व्यवस्था मिलाउन भनेका छन्। जवाफमा प्रजिअ कार्कीले अनुसन्धानपछि दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए।

 

 

प्रकाशित: २० असार २०७३ ०९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App