१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

ठगी उजुरीविरुद्ध अनमोलको खण्डन

काठमाडौं – अभिनेता अनमोल केसीले आफूमाथि लागेको ठगी आरोपविरुद्ध खण्डन गरेका छन्। दुई साता महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध पाँच लाख रूपैयाँ ठगी गरेको अभियोगमा उजुरी परेको थियो। ‘धुपौरे’ फिल्मका निर्माताद्वय जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले उनीविरुद्ध ठगीको उजुरी दिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै उनले आफूमाथि लागेको ठगी आरोपबारे खण्डन गरेका छन्।

‘ए मेरो हजुर ४ फिल्म सुटिङको सिलसिलमा काठमाडौं बाहिर भएको बेलामा पाँच लाख रुपैयाँ ठगीको आरोप लागेको खबर सुनेर म स्तब्ध भएको छु। करिव चार महिनाअघि धुपौरे फिल्ममा आवद्ध भएको थिएँ। फिल्ममा आवद्ध भएलगत्तै निर्माताद्वयले पाँच लाख रुपैयाँ रकम अग्रिम भुक्तानी गरेका थिए,’ उनले लेखेका छन्, ‘फिल्ममा आवद्ध हुँदा मेरो विवेकले भ्याएसम्म स्क्रिप्टलाई प्राथमिकता दिने गरेको छु। फिल्ममा आवद्ध हुनुअघिको वान लाइन र स्क्रिप्ट फरक भएको महसुस गरेको थिएँ। फिल्म युनिटलाई स्क्रिप्टमा थप काम गर्न आग्रह गरेको थिएँ।’

फिल्म युनिटले स्क्रिप्टमा ध्यान नदिएर सुटिङमा जान हत्तार गरेको उनले उल्लेख गरेका छन्। ‘स्क्रिप्टमा ध्यान दिन आग्रह गर्दा फिल्म युनिटले सुटिङमा जान हत्तारिएको महसुस गरें। मेरो र फिल्म युनिटको मत बाझिएको कारण मैले अग्रिम भुक्तानी रकम फिर्ता लाग्न आग्रह गरेको थिएँ। निर्माताद्वयले उल्टो ममाथि ठगीको आरोप लगाएको खबर सुनेर म स्तब्ध भएको छु,’ उनले लेखेका छन्, ‘नेपाली फिल्म क्षेत्र सानो भएकाले धेरै कुरा विश्वासको आधारमा हुने भएकाले वान लाइनको भरमा फिल्ममा आवद्ध भएको थिएँ। फिल्म सुटिङको सिलसिलामा बाहिर भएको मौका पारेर मेरो चरित्रहत्या गर्ने प्रयासले मलाई दुखित बनाएको छ। फिल्म युनिटसँग लिएको अग्रिम भुक्तानी रकम जुनसुकै समयमा फिर्ता गर्न म तयार छु।’

फिलिम्स नेपाल र जयन श्रेष्ठ इन्टरटेटमेन्टबाट निर्माण हुने भनिएको ‘धुपौरे’ फिल्ममा अभिनय गर्ने सहमति गरेर अभिनेता केसीले पाँच लाख रूपैयाँ अग्रिम भुक्तानी लिएका थिए। अभिनेता केसीले एक्कासी फिल्ममा अभिनय नगर्ने जनाएपनि उनले निर्मातासँग अग्रिम भुक्तानी लिएको रकम फिर्ता नगरेपछि दुई साताअघि परिसरमा उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी गराएका थिए। युट्युवर प्रनेश गौतम,‍ भिटेन र आस्था राउतविरुद्ध कडा व्यवहारमा उत्रिएका प्रहरीले अभिनेता केसीविरुद्धको उजुरीमा भने नरम देखिएको प्रतिक्रिया सामाजिक सञ्जालमा आएका थिए।

अभिनेता केसीले निर्माताद्वय श्रेष्ठ र खड्गीसँग गत असोजको पहिलो साता साम्तेन भुटियाको ‘धुपौरे’ फिल्ममा अभिनय गरेबापत ४० लाख रूपैयाँ पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए। सो सम्झौताअनुसार निर्माताद्वयले अभिनेता केसीलाई पाँच लाख रूपैयाँ अग्रिम भुक्तानी दिएका थिए। फिल्म अभिनय नगर्ने भएपछि उनले अग्रिम भुक्तानी रकम फिर्ता नगरेर ठगी गरेको उजुरीमा उल्लेख गरिएको थियो। त्यस्तै फिल्मको निम्ति भनेर अभिनय र फिटनेसको प्रशिक्षणको लागि थप साढे दुई लाख रूपैयाँसहित अन्य कलाकार तथा प्राविधिकहरूलाई ३० लाख रूपैयाँ दिन लगाएर उनी सम्पर्कबिहिन भएको उजुरीमा उल्लेख गरिएको थियो।

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App