१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय एस बैंकका संस्थापक राना पक्राउ

मुम्बई – भारतको समस्याग्रस्त घोषणा गरिएको ‘एस बैंक’का संस्थापक राना कपुरलाई आइतबार सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका छन्। भारतमा निजी क्षेत्रको चौथो ठूलो एस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ।

भारतको केन्द्रीय बैंकले आकस्मिकरूपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारूभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो। पछिल्ला दिनहरूमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि संकट आएको थियो।

भारतको वित्तीय अपराधसम्बन्धी जाँच एजेन्सीका अधिकारीहरूले आइतबार बिहान ३ बजे बैंकका संस्थापक रानालाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका थिए। जाँच एजेन्सीका अनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेपछि पक्राउ गरिएको हो। यस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टि गरेको छ।

अधिकारीहरूले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेको थियो। भारतीय रिजर्भ बैंकले यस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रूपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकमा निराशा छाएको छ। मानिसहरू यस बैंकका एटिएम र शाखाहरुमा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए।

रिजर्भ बैंकको उद्धार योजनाबमोजिम भारतीय स्टेट बैंक (एसबिआई)ले समस्याग्रस्त ‘एस बैंक’को ४९ प्रतिशत शेयर खरिद गर्न दुई अर्ब ४५ करोड भारतीय रूपैयाँ लगानी गर्ने जनाएको छ। एसबिआईका अध्यक्ष रजनिश कुमारले एस बैंकमा लगानी गर्न २३ लगानीकर्ताले अभिरुचि देखाइसकेको पनि जानकारी दिए।

एस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पूँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाई छ। बैंकका एक हजारभन्दा बढी शाखा र एक हजार आठ सयभन्दा बढी एटिएम छन्।

प्रकाशित: २६ फाल्गुन २०७६ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App