१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

साहित्यकार अभिनन्दित

काठमाडौं – प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गरेको छ। शुक्रबार प्रलेसले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले साहित्यकार आनन्ददेव भट्टलाई धातुमा कुँदिएको अत्रि प्रदान गरेका थिए।

‘नयाँ पुस्ताले स्रष्टाहरूको योगदानको कदर गर्ने परम्परालाई निरन्तरता दिएर आयोजना गरेको कार्यक्रममार्फत साहित्यकार आनन्ददेव भट्टलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने। कार्यक्रममा साहित्यकार भट्टलाई मोदनाथ प्रश्रित र बैरागी काइँलाले दोसल्ला र नेपाली टोपी प्रदान गरेका थिए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्कृति विभागका सदस्य तथा जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले प्रलेस र अन्य संस्थाले प्रगतिवादी स्रष्टालाई सम्मान गरेकोमा आभार प्रकट गरेका थिए।

प्रलेसका अध्यक्ष जिवेन्द्रदेव गिरीका अनुसार साहित्यकार भट्टले साहित्य, शिक्षा र राजनीतिका क्षेत्रमा र देशको सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेकाले अभिनन्दन गरिएको बताए। ‘उनले देशको सामाजिक रुपान्तरणका लागि गरेका कामको जति प्रशंसा गरेपनि कम हुन्छ। विश्वविद्यालयमा उनका अनुयायीहरु धेरै हुनुहुन्छ। उनी नेपालको बामपन्थी आन्दोलनमा र प्रगतिवादी साहित्यका माध्यमबाट समाज रुपान्तरणमा लागेका थिए’, उनले भने।

कार्यक्रममा प्रलेसको नेतृत्वमा विभिन्न ८४ संस्थाले साहित्यकार भट्टलाई अभिनन्दन गरेका थिए। उनका कविता, कथा, समालोचना र खण्डकाव्य लगायतका २५ वटा कृति प्रकाशन भइसकेका छन्। हाल उनी विस्मृतिको रोग (अल्जाइमर) बाट पीडित छन्।

प्रकाशित: २५ फाल्गुन २०७६ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App