१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोल्पामा फैलिएको रुघाखोकी र ज्वरो कोरोना नभएको पुष्टि

करेलीकाँडा गाउँका स्थानीय उपचारपछि सामान्य अवस्थामा फर्किए । उपचारमा संलग्न जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमाल ।

डोल्पा- कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आतंकित बनिरहेको बेला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने विकट गाउँ करेलीकाँडामा फैलिएको रुवाखोकी र ज्वरोको प्रकोप कोरोना भाइरस नभएको पाइएको छ। डोल्पाको करेलीकाँडामा फैलिएको रुघाखोकी र ज्वरो कोरोना भाइरस नभएर इन्फल्युन्जा ए भएको ल्याब परिक्षणबाट खुलेको जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले बताए।

रोगको नमूना परीक्षणको लागि प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्रबहादुर थापा र ल्याव टेक्निसयिन कमलकुमार थापासहितको विशेषज्ञ टोली हेलिकप्टर मार्फत फागुन २१ गते  प्रभावित क्षेत्रमा पुगेर विरामीहरुको खकार, र्‍याल, दिशा पिसाव लगायत रगतको नमूना संकलन गरेर ल्याव परीक्षणको लागि काठमाडौस्थित टेकु अस्पतालमा लगिएको थियो। शनिबार साँझ टेकु अस्पतालले डोल्पाको करेलीकाँडा गाउँमा भएका विरामीको रगत, खकार, र्‍याल परीक्षण गर्दा कोरोना भाइरस नेगेटिभ पाइएको रिपोट आफूलाई प्राप्त भएको जिल्ला अस्पतालका डाक्टर सिजन रावले जानकारी दिए।

फागुनको पहिलो हप्ता फैलिएको रुघाखोकी र ज्वरोले एकै गाउँका ८० भन्दा बढी मानिस ओछ्यानमै थला परेपछि विश्वभर फैलिएको कोरोना भाइरस त होइन भन्ने आशंकाले करेलीकाँडा गाउँ मात्र नभई जिल्लाभर सनसनीको अवस्था सृजना भएको थियो। पचास घरधुरी रहेको करेलीकाँडा गाउँमा झण्डै ४५ घरका ८० जना परिवार रुवाखोकी र ज्वरोले ओछ्यानमै थला परेका थिए। रुघाखोकी र ज्वरोले एकै गाउँका मानिस एकै पटक घरैपिच्छे थलापरेपछि र विश्वभर फैलिएको कोरोना भाइरसका लक्षण र करेलीकाँडा गाउँका मानिसमा देखिएको लक्षण मिल्दोजुल्दो भएको समाचार आएपछि करेलीकाँडा गाउँ चर्चामा आएको थियो।

करेलीकाँडामा फैलिएको रोग मौसमी इन्फल्युन्जा ए भएको र  झण्डै एकै सातासम्म जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमाल र त्रिपुराकोट स्वस्थ्य इन्चार्ज शेरबहादुर कठायतकोे निगरानीमा उपचार गरिएपछि विरामीको अवस्था सामान्य भएर चिकित्सकको टोली पनि जिल्ला तर्फ फर्किएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ।
 

प्रकाशित: २४ फाल्गुन २०७६ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App