१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फागुन अन्तिममा हिमपातः डोल्पाकाे जनजीवन कष्टकर

डोल्पा - कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा तेस्रो पटक  हिमपात भएको छ। शुक्रवार दिउसोबाट परेको अविरल बर्षाका कारण शुक्रवार राति डोल्पामा भारी हिमपात भएको हो। डोल्पामा यो वर्षको पहिलो पटक मंसिरको अन्तिम सातामा हल्का हिमपात भएको थियो।

पुसको महिनामा समेत हिउँ नजमेर नाङ्गा र सुख्खा भएर उजाड देखिएकाबेला फागुनको अन्तिम साता हिउँ परेकोे हिउँलाई डोल्पालीहरु शुभ लक्षणको रुपमा लिने गर्छन्। यो महिनामा परेको हिउँले हिउँदमा लगाएको जेठासे बाली गहुँ,जहुँ ,उवा र तरकारीबालीमा आलु र लसुनको उत्पादनमा बृद्दि हुने भएकोले डोल्पाली कृषकहरुको लागि हिउँ शुभ हुने गरेको हो।

यसै गरि उत्तरी तिब्बत नाकासंग जोडिएका उपल्लो डोल्पाका डोल्पोबुद्व, छार्काताङसोङ्ग, शे फोक्सुण्डो र काइके गाउँपालिकाका बस्तीहरुमा  २ देखि ४ फुट सम्म हिउँ जमेको छ। भारि हिमपात भएपछि उपल्लो डोल्पाकोे जनजीवन कस्टकर बनेको छ। बाग्लो हिमपात भएपछि उपल्लो डोल्पाको प्रमुख ब्यवसाय चौरी भेडाबाख्राहरुलाई चरिचरनमा समस्या परेको छ। शुक्रवार राति परेको हिमापातले मध्य डोल्पाका ठूलीभेरी नगरपालिकाको माझफाल, जुफाल, दुनैका तिप्ला, थाला रह लगायत त्रिपुरासुन्दरी नगरपालिकाको सुउँ, रंग,पहाडा, लिकु चुँउ, दापु तल्लो डोल्पाका जगदुला र मुडकेचुला गाउँपालिकाका बस्तीहरु समेत सेताम्य बनेका छन्। हिमपातले डोल्पाका बस्ती र डाँडाकाँडा हिँउले सेताम्य भएका छन्।

डोल्पाका गाउँबस्ती र हिमसिखरहरु समेत फागुनमा परेको भारी हिमपातले बर्खो भित्र लुकेको बेहुली झै  सिँगो डोल्पा हिउँको बर्खोमा लुकेको छ। मावनबस्ती र डाडाँकाडाहरु हिँउले भरिभराउ भएपछि डोल्पा हिँउको सेतो घुम्टोमा बेहुलीझै सिँगारिएको छ। खेतबारीमा लगाइएको गहुँ,जौँ,उवा लगाएतका बालीनालिका साथै आलु र लसुन फागुनमा परेको हिमपातले उत्पादनमा बृद्दि  उम्रिसकेको अन्नबालीहरु बढ्ने मोतिपुरका अमरसिं कठायतले बताए।

उच्च हिमाली बस्तीमा हिउँ परेपनि सदरमुकाम दुनैबजार र त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोट र खदाङ्गमा हिउँ जमेको छैन। हिमपातले अत्यधिक चिसो बढेपछि डोल्पाको जनजीवन कस्टकर बनेको छ।नेपाल नागरिक उड्डयान कार्यालय जुफालका प्रमुख बालकुमार सिंले धावनमार्गमा थोरै हिउँ जमेको बताए। उनले भने अहिले विमानस्थलको भिजिविलिटी पाँच सय मिटर मात्र छ।उडान हुनको लागि पाँचहजार भिजिविलिटी खुल्नु पर्छ।पुन मौसम नविग्रे र हल्का घाम लागे उडान हुन्छ।तर चारैतीर कालोबादल र हुस्सुले छोपेकाले पुन वर्षा हुने सम्भावना पनि उत्तिकै रहेको उनले बताए।

हिमपातले छिमेकी जिल्लाको सीमा नाका बन्द        
डोल्पा र जुम्लाको सीमा नाका पर्ने डोल्पाको जगदुला गाउँपालिकाको मौरे भरभरे र मुडकेचुलाको भालु लेकमा भारि हिउँ जमेपछि दुई जिल्ला बीचको आवतजावत बन्द भएको छ। आवतजावत बन्द भएपछि जुम्ला र डोल्पाको पैदल मार्गबाट आदानप्रदान गरिने हुलाक डाँक सेवा समेत बन्द भएको जिल्ला हुलाक कार्यालय डोल्पाका प्रमुख जयशंकर धितालले बताए।

प्रकाशित: २४ फाल्गुन २०७६ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App