१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

शान्ति सेनामा नेपालको चौथो स्थान

काठमाडाैं – संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनाका लागि फौज पठाउने मुलुकमा नेपालले चौथो स्थान कायम गरेको छ। यसअघि नेपाल पाचौं स्थानमा थियो। शान्ति सेना पठाउने विश्वका एक सय २२ सैनिक तथा प्रहरी पठाउने मुलुकमध्ये नेपाल गत जनवरी १ देखि चौथो मुलुकमा उक्लन सफल भएको हो।

हाल संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि विभिन्न १२ द्वन्द्वग्रस्त मुलुकमा तैनाथ भएका नेपाली कन्टिन्जेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृत खटिने गरेका छन्। हाल यो संख्या पाँच हजार ६ सय ५८ रहेको छ। शान्ति स्थापना कार्यका लागि हाल नेपाली सेनाका पाँच हजार ९६ जना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट पाँच सय ६२ फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकमा तैनाथ छन्।

सन् १९५८ मा पहिलोपटक लेबनानमा (युएनओजीआइएल) मा पाँचजना सैनिक पर्यवेक्षक सहभागी भएका थिए। हालसम्म एक लाख २९ हजार आठ सय ९९ सैनिकले शान्ति मिसनमा सहभागिता जनाइसकेका छन्। त्यसमध्ये नेपाली सेनाका एक हजार चार सय एकजना महिला शान्ति सैनिकले सहभागिता जनाइसकेका छन् भने हाल एक सय ८१ महिला सैनिक विभिन्न मिसनमा कार्यरत रहेको नेपाली सेनाले जनाएको छ। शान्ति मिसनमा खेलेको महत्वपूर्ण भूमिकाका कारण नेपाली शान्ति सेनालाई चौथो स्थान प्राप्त भएको हो।

केही दिनअघि मात्र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसन डिसइन्गेजमेन्ट अब्जर्बर फोर्स (युएनडिओएफ) को कमान्डरमा नियुक्त गरेका थिए।

प्रकाशित: २४ फाल्गुन २०७६ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App