१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कुईने पुलको काम तिब्र, हालसम्म ६० प्रतिशत निर्माण सम्पन्न

निर्माणाधिन पुल। तस्विर योगेश रावल/नागरिक

टीकापुर - कर्णाली नदीको कुईनेमा गत वर्षदेखि निर्माण सुरु भएको पुलको काम तिब्र गतिमा भैरहेको छ। ‘मल्टी स्पान आर्क’ डिजाइनमा निर्माण भैरहेको पुलको काम करिव ६० प्रतिशत सम्पन्न भैसकेको निर्माण कम्पनी अनक/लुम्बिनी जेभीले जनाएको छ।

कम्पनीका प्रतिनिधि रविन चौधरीले पुल निर्माणको काम थप भएको म्याद अर्थात् २०७८ असार मसान्त भित्र सम्पन्न हुने बताए। पुलको पश्चिमतर्फको ‘राइट एबाउटमेन्ट’ निर्माण भैरहेको छ। यो आगामी २/३ महिना भित्र निर्माण भैसक्ने चौधरीले बताए। पुलको पूर्वतर्फको ‘राइट एबाउटमेन्ट’ र दुईवटा पिल्लर निर्माण भैसकेका छन। उनले एक महिना भित्र पुलको पूर्वतर्फको भागमा ढलानको काम सम्पन्न हुने जानकारी दिए। ‘यही गतिमा काम भयो भने हामी निर्धारित समयमा सक्छौं’ उनले भने–‘अहिले पुल निर्माणको काममा कुनै अवरोध छैन।’

यो पुल निर्माणको काम ढिलो गरी सुरु भएको हो। २०७२ मा ठेक्का सम्झौता भए पनि २०७५ को अन्त्यतिर मात्रै पुल निर्माणको काम सुरु भएको थियो। सुरुमा ठेक्का सम्झौता हुँदा पुल निर्माणको काम २०७६ असार मसान्त भित्र सक्नुपर्ने थियो। तर पुलको डिजाइन निर्माणमा झण्डै दुई वर्ष बितेपछि पुल निर्माणको काम समयमा सुरु हुन नसकेको निर्माण पक्षको भनाई छ।

डिजाइन निर्माणमा ढिलाई भएपछि पुल निर्माणको म्याद २०७८ असार मसान्तसम्म थप गरिएको हो। करिव ३५ करोड लागतमा निर्माण हुने यो पुल नयाँ प्रविधि अन्र्तगत निर्माण भैरहेको निर्माण पक्षले जानकारी दिएको छ। नेपालमा दुईवटा पिल्लरमा अडिएको ‘मल्टी स्पान आर्क’ पुल यो नै पहिलो भएको चौधरीले बताए।

यो पुल निर्माणको कामलाई निकै महत्वका साथ हेरिएको छ। पुल निर्माणसँगै पूर्वपश्चिम राजमार्ग कर्णाली राजमार्गसँग छोटो दूरीमा जोडिने छ। पूर्वपश्चिम राजमार्ग कैलालीको चिसापानीबाट कुईने, सुर्खेतको बाबियाचौर हुँदै बड्डिचौरमा पुगेर कर्णाली राजमार्गसँग जोडिनेछ। यो साविक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले दशकौंअघि पैदल यात्रा गरेको परम्परागत बाटो हो।

यो पुल निर्माणसँगै साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछाम लगायतका जिल्लाका बासिन्दाले छोटो दूरीको यात्रा गर्न पाउने भएका छन। उनीहरु हाल तराई झर्दा सुर्खेत–कोहलपुर–चिसापानी वा डोटी–डडेल्धुरा–अत्तरीयाको घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्।

यो पुल निर्माण पछि सुर्खेतको बड्डीचौरहुँदै –कोहलपुर–चिसापानीसम्मको करिव २ सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा खुम्चिनेछ। जुन पूर्वपश्चिम राजमार्गको कैलालीको चिसापानीबाट कुइनेहुँदै सुर्खेतको बड्डीचौरसम्म हो।
‘घुमाउरो बाटो हिड्नु पर्ने वाध्यता अन्त्य हुनेछ’ स्थानीय लक्ष्मण थापाले भने–‘पहाडी जिल्लाका बासिन्दालाई निकै राहत हुने देखिन्छ।’

सुर्खेतको पश्चिमी क्षेत्रका बासिन्दा किनमेल गर्न कैलालीको चिसापानी लगायतका बजार पुग्नुपर्ने वाध्यता छ। उनीहरुलाई सदरमुकाम बिरेन्द्रनगर भन्दा कैलालीको चिसापानी भौगोलिक रुपमा नजिक छ। नदीमा पुल नभएका उनीहरुलाई ओहोरदोहोरमा निकै समस्या हुने गरेको छ। पुल बनेपछि उनीहरु सहजै कैलालीको चिसापानी लगायतका ठाउँमा पुग्न सक्ने मोहन्याल गाउँपालिका–७ कुईनेका धर्मेन्द्र माझीले बताए।

कैलालीतर्फ चिसापानीदेखी कुइनेसम्मको ११ किलोमिटर सडकको स्तरोन्नती भैरहेको छ। साँघुरो सडकलाई फराकिलो बनाउने काम भैरहेको छ। उता सुर्खेततर्फ कुइनेदेखि बड्डीचौरसम्मको १९ किलोमिटर सडकमा साना सवारी साधन समेत सहजै चल्ने गरेका छन्। भेरी नदीमा पुल निर्माण सम्पन्न भएपछि अटोरिक्सा समेत बड्डीचौरहुँदै कुइनेसम्म पुग्न थालेका छन। भेरी नदीमा निर्माण भएको पुल २०७५ असोज महिनादेखी सञ्चालनमा आएको हो।

यो पुलले कर्णाली प्रदेशलाई छिमेकी मुलुक भारतसँगको छोटो नाकाका रुपमा जोड्नेछ। साविक सुदूर तथा मध्यपश्चिमका अधिकांश बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन्। उनीहरु भारतका विभिन्न शहरमा जानका लागि बाँके, कैलाली र कञ्चनपुर जिल्लाका सीमा नाका प्रयोग गर्छन्। जुन सीमा नाकासम्म पुग्न उनीहरुले धेरै समय खर्चिनु पर्छ। यो पुल बनेसँगै उनीहरु केही घण्टाको यात्रामा सीमा नाकामा पुग्ने देखिन्छ।

रोजगारीका लागि भारत जाने मात्रै हैन पहाडी जिल्लामा खाद्यान्न, औषधि, लत्ताकपडा लगायतका सामाग्री तराईबाटै ढुवानी हुन्छ। अहिले बाँकेको कोहलपुर र कैलालीको अत्तरीयाबाट पहाडी जिल्लातर्फ सामाग्री ढुवानी भैरहेको छ। पुल निर्माण पछि यो सडक पहाडी जिल्लामा सामाग्री ढुवानीको छोटो विकल्प बन्नसक्ने देखिन्छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App