१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक आउने पक्का भएपछि रंगवासी दंग

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा ग्रामीण सामुदायिक पूर्वधार विकास कार्यक्रमअन्तर्गत निर्माणाधीन बाटो। तस्बिर: विष्णुप्रसाद/नागरिक

डोल्पा – त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँका स्थानीयको वर्षौंदेखिको गाउँमा मोटरबाटो पु-याउने सपना पूरा हुने भएको छ। ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रमको सहयोगमा सेपीधारादेखि रंग गाउँसम्म एक किलोमिटर मोटरबाटो निर्माण कार्य सुरु भइसकेको छ। उक्त सडक निर्माणका लागि ११ लाख रुपैयाँ छुट्ट्याइएको छ।

आव २०७५/७६ मा ३५ लाख ७५ हजारको लागतमा ठाटीखोलादेखि सेपीधारासम्मको एक किलोमिटर आठ सय मिटर मोटरबाटो निर्माण गरिसकेको ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रमले आव २०७६/७७ मा सेपीधारादेखि रंगगाउँसम्मको मोटरबाटो निर्माण गर्न थालेको हो। मोटरबाटो निर्माणले रंगगाउँका बासिन्दालाई त्रिपुरासुन्दरीको केन्द्र कोटबजारमा आवतजावत गर्न सहज हुने भएको छ। स्थानीय विमला बुढाले सडक नहुँदा जोखिम मोलेर भीरको बाटो आवतजावत गर्दा समस्या भोग्दै आए पनि अब सहज हुने बेला आएको भन्दै खुसी व्यक्त गरिन्। ‘मोटरबाटो बनेपछि गाउँमा उत्पादित स्याउ, ओखर, तरकारीलगायत खाद्य वस्तु कोटबजारसम्म लगेर बिक्रीवितरण गर्न सहज हुने भएको छ,’ उनले भनिन्।

अर्का स्थानीय बलराम बोहराले आफूहरूका लागि ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम सहयोगी बनेर आएको बताए। ‘मोटरबाटो निर्माण मात्र होइन, फलफूल खेती विकास तथा संरक्षणका लागि घेराबार र सिँचाइजस्ता कार्यक्रम प्रभावकारी बनाउन पनि उक्त कार्यक्रम प्रभावकारी बनेको छ,’ उनले भने। स्थानीय युवा दत्त बुढाले गाउँमा भित्रिएका र भित्रँदै गरेका विकास कार्यक्रम पारदर्शिता नबनिरहेका बेला सामुदायिक पूर्वाधार विकास कार्यक्रमले सञ्चालन गरेका कार्यक्रम स्थानीयको हितमा रहेको उल्लेख गर्दै रंग गाउँका बासिन्दाको जीवनस्तर माथि उठाउन त्यो सहयोगी रहेको बताए।

उक्त कार्यक्रमका संयोजक तथा इन्जिनियर मुनेश्वर ठाकुुरले कार्यक्रम सञ्चालन गर्नुअगाडि स्थानीयसँग बसेर उद्देश्य, सञ्चालन अवधि, विनियोजित बजेट, स्थानीयको सहभागिता र प्रतिबद्धतासम्बन्धी सामूहिक छलफलसमेत गरिने भएकाले पनि योजना सञ्चालन प्रभावकारी तथा बजेट पारदर्शी रहको बताए। कार्यक्रमले स्थानीयका लागि फलफूल खेती प्रोत्साहन घेराबार तथा सिँचाइका लागि विभिन्न कृषक समूहलाई ६ लाख बराबरको सहयोग उपलब्ध गराएको पनि संयोजक ठाकुरले जनाए।

प्रकाशित: २३ फाल्गुन २०७६ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App