१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रुघाखोकी र ज्वरो प्रभावित करेलीकाँडाका बासिन्दा सामान्य हुँदै

डोल्पा - डोल्पाको करेलीकाँडाका बासिन्दाको अवस्था उपचारपछि सामान्य हुँदै गएको छ। त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडा गाउँमा फागुनको पहिलो साताबाट फैलिएको मौसमी रुघाखोकी र ज्वरोले एकै गाउँका ८० जना बिरामी परेका थिए। ५७ घरधुरी रहेको करेलीकाँडामा झण्डै ४५ घरका बालबालिका युवा र बृद्दबृद्दा गरी ८० जनाको हाराहारीमा बिरामी परेका हुन्।

करेलीकाँडाका बासिन्दामा देखिएको रुघाखोकी ज्वरो टाउको दुख्ने पखाला लाग्ने र रिङ्गटा लाग्ने लक्षण र विश्वभर फैलिएको कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो भएपछि कतै कोरोनाको भाइरस त होइन भन्ने आशंकाले करेलीकाँडा मात्र नभई जिल्लाभर सनसनीको अवस्था सृजना भएको थियो। रुघाखोकी र ज्वरोले गाउँ नै थला परेको समाचार सार्वजनिक भएपछि रोग प्रभावित क्षेत्रमा फागुन १९ गतेबाट त्रिपुराकोट स्वास्थ्य चौकीका इन्चार्ज अहेव शेरबहादुर कठायतको नेतृत्वमा प्राथमिक उपचार शुरु गरिएको थियो।

प्रयाप्त औषधी र विशेषज्ञ चिकित्सकको अभावमा उपचारमा ढिलाई भएपछि बुधबार मात्र रोग प्रभावित क्षेत्रका सबै बिरामीहरुको खकार र्याल दिसा पिसाव लगायत रगतको नमूना संकलनका लागि प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्रबहादुर थापा, ल्याब टेक्निसयिन कमलकुमार थापा र जिल्ला अस्पताल दुनैका डाक्टर मेलिना हमाल सहितको चिकित्सकको टोली आवश्यक ओषधी सहित सेनाको हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा पुगेको थियो।

जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर सिजन रावलले मिडियामा भनिए जस्तो जटिल अवस्था नभएको र मौसमी रुघाखोकी र ज्वरोले निमोनिया समेत भएको पाइएकाले बिशेष उपचार पछि विरामीको अवस्था सामान्य हुदै गएको बताए।उनले भने सामान्य बिरामीलाई गाउँमा आवश्यक ओषधी उपचार भइरहेको र निमोनिया देखिएका विरामीलाई स्वास्थ्य केन्द्रमा रिफर गरिएको छ।

जिल्लाका डाक्टर मेलिना हमालको नेतृत्वमा बिरामीहरुको उपचार जारी रहेको र विरामीहरुको अवस्था पनि सामान्य हुदै गएपनि मानिसमा सृजित भ्रम हटाउनको लागि र्याल खकार दिशापिसाव र  रगतको नमूना ल्याब परीक्षणका लागि लगिएकोले कुन रोग के कारणले लागेको हो भन्ने परीक्षणपछि मात्र थाहा हुने डाक्टर सिजन रावलले बताए।

बल्ल पुग्यो काठमाण्डाैंमा नमूना
रोग प्रभावित क्षेत्र डोल्पाको करेलीकाँडा गाउँमा सेनाको हेलिकप्टरमार्फत पुगेर  प्रदेश अस्पतालका डाक्टर इन्द्रबहादुर थापा र ल्याब टेक्निसयिन कमलकुमार थापा सहितको टोलीले बिरामीको खकार र्याल दिसा पिसाव लगायत रगतको नमूना संकलन गरेर बुधवार फर्केको थियो।

नमूना संकलन  संकलन गरेर परीक्षणको लागि काठमाण्डौस्थित टेकु अस्पतालमा लगिने र सम्भवत बिहिवार दिउसो सम्ममा रिपोट आइसक्ने चिकित्सकले बताएका थिए।  नमुना संकलन गरेर कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएपनि बुधवार प्रतिकुल मौसमका कारण सुर्खेत काठमाण्डौ उडान हुनसकेपछि विहीवार विहान मात्र काठमाण्डौस्थित टेकु अस्पतालामा नमूना परिक्षणको लागि पुगेको र सम्भवत विहिवार साझ वा शुक्रवार विहान सम्म रिपोट सार्वजनिक हुने डोल्पा जिल्ला अस्पतालका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए।

प्रकाशित: २२ फाल्गुन २०७६ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App