१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धमाधम कार्यक्रम स्थगित

काठमाडौं – सरकारले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सभा समारोह, गोष्ठीलगायतका सार्वजनिक कार्यक्रमहरू स्थगित गर्न थालेको छ। धेरै मानिस जम्मा हुने ठूला कार्यक्रम गर्दा जोखिम बढने भन्दै सरकारले अत्यावश्यक बाहेकका सबै कार्यक्रमहरू नगर्ने भएको हो।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले गत आइतबार कुनै पनि सभा सम्मेलनलगायतका कार्यक्रमहरू नगर्ने निर्णय गरेको थियो।

सरकारको निर्णय लगत्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मार्च ८ मा मनाइने ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका साताव्यापी कार्यक्रम स्थगित गरेको छ। मन्त्रालयले देशभरका संघ, संस्थाहरूलाई दिवस स्थगन भएको जनाएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३० गते सञ्चालन गर्ने भनेको कोइका अवार्ड जानकारी सम्बन्धि गोष्ठी पनि स्थगन गरेको छ। प्रदेश ५ सरकारले कोरोना भाइरसका कारण आगामी बैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित गरेको जानकारी दिएको छ।

कोरोना संक्रमणको जोखिमकै कारण उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रमहरू स्थगित गरेका छन्। उनले आगामी दिनमा हुने सार्वजनिक कार्यक्रममा समेत उपस्थित हुन नसक्ने भन्दै निम्ता स्विकार नगर्न सचिवालयलाई निर्देशन दिएका छन्।

शिक्षा मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै विद्यालयको सभा, समारोह, वार्षिकत्सोवलगायतका कार्यक्रमहरू नगर्न आग्रह गरेको छ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र कुनै पनि ठूला तथा धेरै मान्छे जम्मा हुने कार्यक्रमहरू सञ्चालन नगर्ने भएको छ। कोरोना जोखिमकै कारण शिक्षा मन्त्रालयले विदेश पढन जाने विद्यार्थीलाई दिने ‘नो अव्जेक्सन लेटर’ दिने काम तत्काललाई स्थगित गरेको छ भने श्रम मन्त्रालयले कोरोना प्रभावित देशहरूमा श्रम स्विकृती दिन बन्द गरेको जनाएको। गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नागरिकको हितका लागि जोखिम बढन नदिन सरकारले यस्तो निर्णय गरेको बताइ। उक्त निर्णयलाई सबै नागरिक तथा सार्वजनिक निकायले पालना गर्ने उनले बताए।

प्रकाशित: २२ फाल्गुन २०७६ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App