१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना रोक्न नाकामा सतर्कता

विराटनगर – कोरोना संक्रमण रोक्न प्रदेश १ सरकारले भारतसँग सिमाना जोडिएका नाकामा सतर्कता अपनाउने भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी भारतसँग सिमाना जोडिएका चारवटा नाकामा उच्चसतर्कता अपनाउने निर्णय गरिएको जनाएको हो।
प्रदेश सरकारले कोरोनाका लागि प्रदेश १ का निर्देशक डाक्टर चन्द्रदेव मेहताको संयोजकत्वमा विशेषज्ञ डाक्टरहरूसहितको टिमसमेत गठन गरेको छ। उक्त टिमको बैठकले कोरोना नियन्त्रणका लागि विभिन्न निर्णयहरू गरेको टिमका संयोजक मेहताले जानकारी दिए। मेहताका अनुसार भारतसँग सिमाना जोडिएका मोरङको विराटनगर, झापाको भद्रपुर तथा काँकडभिट्टा र इलामको पशुपतिनगरमा विशेष सतर्कता अपनाउने निर्णय गरिएको छ। यस्तै, प्रदेशका ६ वटा अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ, जसमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अञ्चल अस्पताल, मेची अञ्चल अस्प्ताल, बि एन्ड सी अस्पताल, नेवेल मेडिकल र विराट मेडिकल कलेजमा गरी २८ वटा आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरिएको छ।

विराटनगरको कोसी अञ्चल अस्पतालमा आपतकालीन स्वास्थ्य व्यवस्थापन केन्द्रको पनि व्यवस्था गरिएको छ। यस्तै कोरोनाको विषयमा सूचना र तथ्यांक व्यवस्थित गर्न संयन्त्र बनाउने निर्णय पनि मन्त्रालयले गरेको छ। विराटनगर नाकामा विराटनगर महानगरपालिकाले हात धुनका लागि साबुनपानीको व्यवस्था गर्ने, सिमानामा संयुक्त स्वास्थ्य टोली परिचालन गर्ने, सिमानामा दुई देशीय आवागमन व्यवस्थित पार्न संघीय सरकारसँग समन्वय गर्ने, जनचेतनाका कार्यक्रम प्रदेशभर सञ्चालन गर्नेलगायत निर्णय विज्ञाहरूसहितको टिमले गरेको छ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले पूर्णजोखिमको अवस्था आइनसकेको भए पनि प्रदेश १ मा सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘धेरै मानिस जम्मा हुने किसिमका कार्यक्रम आयोजना नगर्ने, रुघा–खोकी लाग्दा भिडभाड हुने ठाउँमा नजाने उच्चज्वरो आए तत्काल अस्पताल जानेलगायत नियन्त्रणका उपाय अपाउन सबैलाई आग्रह गर्दछौं,’ घिमिरेले भने। कोरोनाको औषधि नभएका कारण संक्रमणबाट बच्न आवश्यक रहेको डाक्टर सुरेश मेहताले बताए। मेहताले मासु, अण्डा राम्ररी पकाएर खाने, खाना खानुअघि हात राम्ररी धुने, विदेशबाट आएका व्यक्तिसँग विशेष सतर्क रहने, सकेसम्म हात नमिलाउनेलगायत उपाए अपनाए संक्रमणबाट बच्न सकिने बताए। चीनतर्फको नाका चीन सरकारले बन्द गरेको र भारतका विभिन्न स्थानमा कोरोना फैलिएका कारण प्रदेश सरकारले भारततर्फका नाकामा उच्चसतर्कता अपनाउने तयारी थालेको हो।

प्रकाशित: २२ फाल्गुन २०७६ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App